Posted by: Gautam B. September 28, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
"--------" हिऊँद र गर्मीयाम फरक भएपनि यो ठाऊँको शरद भने हाम्रो गाऊँकै जस्तो हुँदो रहेछ। हुनसक्छ दशैं-तिहारको समय भएकोले घर-गाऊँको याद बढी आएर पनि मलाई त्यस्तो लागेको होला। हरेक बिहान घरबाट निस्कँदाको नजाँनिदो चिसो, बिस्तारै आएर जिऊ सुम्सुम्याउने बतास र नरम घामले मलाई गाऊँको यो बेलाको वातावरणतिर तानेर लैजान्छ। बाटाभरि म स्मृतिका गोरेटाहरुमा हिँडिरहन्छु। घरबाट टाढा भएको नवौँ दशैं हो यो। पहिलो परदेश बसाईमा लगातार पाँचवटा दशैंमा घरबाट टाढा भईयो। त्यसपछिका सात वटा दशैं नेपालमै मनाएर, दोश्रो पटकको परदेश बसाईमा यो चौथो दशैं हो। यसपाली घरको-गाऊँको-नेपालको बढी याद आईरहेको छ। थाहा छैन, हरेक पटक यस्तै हुन्थ्यो कि?! अथवा यसपटक छोरी छे र उ आफ्नो जिन्दगीको पहिलो दशैंमा आफन्तहरुको विशाल जमातमा मिसिन पाईन भन्ने कुराले मनमा जन्माएको उदासी पो हो कि मलाई हरबखत तानेर गाऊँतिर लाने? दशैंको सामजिक-सांस्कृतिक अनुहारहरु आफ्नै ठाऊँमा छन्। मेरा लागि यो समयको मादकतानै काफी छ। दिनभरि पहेंलपुर फाँटहरुको तरेली हेर्छु म डाँडाको देवीथान अगाडिबाट। समुद्रको लहर बोकेर यी फाँटहरु कहाँ जान हिँडिरहेछन्? रातमा म सुटुक्क कोठाबाट निस्कन्छु। मेरो बाल्यकालसंग गाँसिएका अम्बा, आरुबखडा र आरुका रुखहरुसंग गफ गर्छु। अनि भिरालो बारीको डिलमा उभिएर तल-माथि नियाल्न थाल्छु। जूनसंग नहार्ने प्रण गरेको छ फाँटले र स्वर्णिम लहर बोकेर दौडिरहेको छ अहिले पनि। जून आफ्नै धूनमा छ, रुखहरुका हाँगाहरु र पातहरुका अन्तरकुन्तरबाट छिरेर उ किरमिरे रुमाल‍बुट्टा भरिरहेछ बारीको पाटोभरि। मेरो बाल्यकाल अब मेरो स्मृतिमात्रै हो। आँगनको डिलको अम्बाको बोट धेरै पहिले लडेको हो। बारीको डिलको बिशाल आरुबखडाको बोट काटियो कि के भयो थाह छैन, तर नेपाल फर्केपछि देखिनँ। आरुको बोट बाँकी थियो, त्यो पनि छैन होला अब। अब नयाँ ठाउँमा नयाँ बिरुवाहरु हुर्केका छन्। नयाँ पुस्ता अम्बा, आरुबखडा र आरुका नयाँ रुखहरुसंगै हुर्किदैं होला। तर आजपनि फाँट दौडिरहेको होला बेफुर्सदी भएर र आजपनि जून छिरेको होला हाँगाबिँगा र पातहरुको अन्तरकुन्तरबाट र बारीको पाटोमा छिर्केमिर्के रुमालबुट्टा बनाईरहेको होला। मेरो गाऊँमा दशैं आयो होला!
Read Full Discussion Thread for this article