Posted by: Birkhe_Maila September 23, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
समसामयिक बिषयमा लेख्न मलाई गाह्रो लाग्छ। तर कहिलेकाहिँ आफ्नो वरिपरि (देशमा) चलिराखेको अन्यौलमा मनमा आएका प्रश्नहरु राख्न मन लाग्दोरहेछ। प्रश्न - तिमीले बनाएको बस्तिमा, के तिमीले आफैँलाई देख्यौ? काला छायाँहरुको कुरा नगर। सेता मायाहरुको कुरा नगर। तिलस्मी कायाहरुको कुरा पनि नगर। भन मलाई, के तिमीले तिमीलाई नै देख्यौ, अस्ति तिमीले बनाएको तिम्रो नयाँ बस्तिमा? तिम्रो साथ तिमीले गुमाएका थियौ! तिम्रो गाँस तिमीले खसालेका थियौ! मलाई थाहा छ, बस्तिमा सानो घर बनाउने आकांक्षामा, तिमीले तिमी रम्ने झुपडि पनि मेटाएका थियौ!! तिम्रा मडारिएका ईच्छा, र तिम्रा बडारिएका स्वतन्त्रता, सबैलाई कालो सन्दुकमा ताल्चा लगाएर राख्ने, तिम्रै अगुवाहरुलाई तिमी के भन्छौ?? तिम्रो पसिनाको नुनिलो रसमा, आफ्नै भाईको जुठो नबार्ने, ति हगुवाहरुलाई तिमी के भन्छौ?? के तिमीले तिम्रो परिवार भेट्टायौ, यो नयाँ नामको थोत्रो बस्तिमा? घरको रंग फेरेर, धुरि र छाना फेरेर, शुतुरमुर्गले जमीनमा टाउको लुकाए झैँ, गँडेउलाले झिनो माटोमा आफूलाई छोपे झैँ, मौसम संग परिचित, तर बेखबर, दायाँबाट आउने बुटको ‘कुष्ट’ संग बेखबर, बायाँबट आउने जङ्गली ‘क्षय’ संग बेखबर, पँहेला बत्तिसवटा दाँत देखाउँदै, अझै पुरानै ढोकाबाट छिरेर, पुरानै झ्यालबाट, पुरानो टिबिको खकार चपाउँदै, पुरानै व्यभिचारि नजर, बस्तिलाई लगाउने तिम्रा आदर्शपुरुषहरुलाई तिमी के भन्छौ? काला छायाँहरुको कुरा नगर। सेता मायाहरुको कुरा नगर। तिलस्मी कायाहरुको कुरा पनि नगर। भन मलाई, के तिमीले तिम्रो अस्तित्व भेट्टायौ, अस्ति रगतले सिंचेको तिम्रो नयाँ बस्तिमा???
Read Full Discussion Thread for this article