Posted by: Gautam B. September 18, 2006
Gautam B."एक धर्को घाम"
Login in to Rate this Post:     0       ?        
~लघुकथा~ "एक धर्को घाम" “किन? के भयो? छोरीले झगडा गरी कि क्या हो?” छ बज्दा नबज्दै ब्यूँझन्छु म पनि। उनी छोरीलाई फुल्याइरहेकी छिन्। “अघि भर्खर एउटा एम्बुलेन्स गयो अगाडिबाट, त्यसकै आवाजले ब्युँझेकी हो। अलिअलि झर्केकी छे निद्रा बिग्रेकोले, अरु केहि पनि भ’ छैन।” छोरीले दूध खान पनि मानीरहेकी छैन र झर्कँदै-रुँदै गरीरहेकी छे। “काखमा राखेर हल्लाए निदाऊँछे कि---!” म काखमा लिन्छु, तर छोरी मेरो काखमा आएपछि झन झर्किन्छे। र यतिखेरसम्म ऊ पूरै ब्यूंझिसकेकी छे। म छोरीलाई उनको काखमा राख्दिन्छु, तर छोरीले काखमा बस्न अझै मन नगरेपछि उनी उसलाई कार्पेटमा छोडिदिन्छिन्। छोरीको रुवाई बन्द हुन्छ अब। ऊ चार हात-खुट्टा टेकेर अडिन्छे, एकछिन हामीलाई हेर्छे, मुसुक्क हाँस्छे र बामे सर्न थाल्छे। “ल हेर त! कल्ले पत्याऊँछ साढे पाँच महिनाकी मात्रै भई भन्दा---?! ” बामे सरेर कोठा नापीरहेकी छोरीलाई हेरेर उनी मुस्कुराऊँछिन्। “हो त! हिजो फोनमा भन्दा आमाले त पत्याउनु भएन !” “छोरी कता तिमी? यता आऊ!” हामीले आँखा झिम्क्याउन नपाऊँदै छोरी झ्यालनिर पुगिसकिछे। ऊ त्यहाँ केहि समात्न खोज्दै थिई। अचेल बामे सर्नुसंगै उसले भेटेका कुरालाई समात्न र सकेजतिलाई मुखमा लान सिकेकी छे। जतिखेर पनि एकजना पछि नलागी सुखै छैन। झ्यालको पर्दा अलिक होड परेर भर्खर उदाएको घाम छिरेको रहेछ र त्यहाँ एउटा मसिनो उज्यालो धर्को बनेको रहेछ घामको। छोरी त्यै सुनौलो धर्कोलाई समात्न र तान्न खोज्दै थिई। हामी बूढाबूढी मुखामुख गरेर असमञ्जस भरिएको हाँसो साट्छौँ। अरु त के नै गर्न सक्छौँ र ?! धेरै बेर कोशिश गरेर पनि घामको धर्कोलाई तान्न नसकेपछि छोरी झर्किन्छे, अनि हामीतिर हेरेर च्याँठ्ठिएर रुन थाल्छे। “ओहो बाबा, छानु---, नलोऊ---नलोऊ, मेलो बाबा------!” उनी छोरीलाई उठाएर छातीमा लगाऊँछिन् र फुल्याउन थाल्छिन्। छोरी एकैछिनमा फुलिन्छे र उनी फेरि उसलाई तलै राखिदिन्छिन्। छोरी खेल्दाखेल्दै फेरि घामको धर्कोमा पुग्छे तर यस पटक ऊ त्यो धर्कोलाई तान्न खोज्दिन, त्यसलाई नियाल्छे, आफ्ना कोमल हातहरु एकैछिन त्यसमाथि राख्छे अनि त्यसलाई छोडेर कोठाको अरु भागतिर दौडिन्छे। एकछिन खेलेपछि थाक्छे र कार्पेटमै निदाएर आफ्नो टुटेको निद्रा र टुक्रिएको सपनालाई पूरा गर्न थाल्छे। “खै छोरीको विछ्यौना लेऊ त।” म छोरीको विछ्यौना त्यो धर्कोनिर लगेर मिलाऊँछु अनि त्यो सुनौलो घामको धर्कोको एक भाग उसको निधारमा पर्ने गरी छोरीलाई विछ्यौनामा राखिदिन्छु। जीवनका सबै सौन्दर्य र सत्यहरुको प्रतीक बनेर घामको सुनौलो धर्को छोरीको निधारमा चम्किरहन्छ। ------------------------------********************------------------------------
Read Full Discussion Thread for this article