Posted by: gwanche September 11, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
अहिले म दादाकै कोठामा बसिराखेकोछु, मेरो घरको सबैभन्दा मनपर्ने कोठा । दादाको सुत्ने खाट उस्तै छ, भित्ताभरि र टेबुलमा सजाएर राखेका प्रमाणपत्र मेडल,कप र सिल्डहरु उस्तै छन । कुनामा दादाको गीतार पनि उस्तै छ, मैले पहिलो चोटि बजाउन सिकेको गीतार । दादा र दीपा दिदीको 'इनगेज्मेन्ट'को बेला खिचेको फोटो पनि दादाको 'रिडिङ्ग टेबुल्'मा फ्रेम गरेर राखिएको छ । अरु फोटोहरु पनि उस्तै छन्, धेरै फोटोहरुमा दादा र म सँगै छौं । मनकामनामा खिचेको फोटो, हामी गोदवरी क्याम्पिङ गएको बेलाको, पोखरा, नगरकोट्, धुलिखेलमा खिचेका फोटोहरु र मलाई सबैभन्दा मनपर्ने फोटो, म धेरै सानो हुँदा (शायद ३-४ बर्ष को) दादाले मलाई आफ्नो काखमा बोकिराखेको फोटो । सबै कुराहरु उस्तै छन । मामु उता आफ्नो कोठामा हुनुहुन्छ, एकहोरो एकनास दादाको फोटोलाइ नियालिरहँदै, बाबा तल बैठक कोठामा हुनुहुन्छ, स्तब्ध ,मौन्, प्रतिकृया बिहीन । मैले मेरो बाबा र मामुलाइ यस्तो हालतमा कहिल्यै पनि देखेको थिइन । सधैं हँसी मजाक गरिरहनु पर्ने मेरो बाबा, सधैं ओंठमा मुस्कान भइ रहने मेरो मामु । हामीहरु सधैं रमाइलो गरिरहनुपर्ने, कहिल्यै अरुको कुभलो नचिताउने, आफ्नै संसारमा मग्न प्राणीहरु । बाबा एकदमैं टुटिसक्नुभएकोछ । मामु झन नराम्रो हालतमा हुनुहुन्छ । म कसरी सम्हालुँ मेरो बाबा र मामुलाइ, म आँफै पनि नराम्रो सँग टुटिसकेको छु । एक पल मैं हाम्रो सुन्दर संसार भाताभुङ्ग भइसकेकोछ । दीपा दिदीको हालत कस्तो होला, असाध्यै पीर लागिरहेकोछ । म कति विवस छु, दीपा दिदीलाई ढाढस दिन पनि सक्दिन, म आँफैलाइ सहाराको जरुरत छ अहिले । सधैं दीपा दिदीलाई जिस्किएर 'म तपाईंलाइ भाउजु होईन दिदी नै भन्छु है' भन्थे म । नियतीले आज यो हल्का मजाकलाइ क्रुर वास्तविकता बनाइदिएकोछ । हो, अब दीपा दिदी कहिल्यै मेरो भाउजु बन्नु हुन्न, सधैं मेरो दीपा दिदी मात्रै रहिरहनुहुनेछ । मेरो दादा ओहायोको एउटा सफ्टवेर कम्पनीमा काम गर्नुहुन्थ्यो । एउटा कन्फ्रेन्समा भाग लिन हिजो न्यूयोर्क आउनु भएको रे, हो हिजो सेप्टेम्बर ११ । हुन त मेरो दादाको कन्फ्रेन्स भइरहेको ठाँउ वर्ल्ड ट्रेड सेन्टर भन्दा टाढा नै थियो रे तर ब्रेकमा मेरो दादा एकजना चिनेको नेपाली साथीलाई भेट्न उसले काम गर्ने रेस्टुराँमा जानु भएको रे, वर्ल्ड ट्रेड सेन्टर को १३औं तलामा, दादाको एक जान साथीले फोन गरेर बताउनु भएको । नियतीको अगाडि कसको के लाग्छ र, मेरो दादाले अरु हजारौं निर्दोशहरुले जस्तै आफूले नगरेको गल्तीको लागि बलिदान दिनुभयो । मेरो दादा, सधैं अहिँसाको पक्षपाती, आज आँफै हिँसाको शिकार बन्नुभयो । मेरो दादा, कसैको कुभलो नचिताउने मान्छे, आज आँफै कसैको लहडिपनको शिकार बन्नुभयो । मेरो दादा, सधैं सबैलाइ विश्वास् गर्नुपर्छ भन्ने मान्छे आज आँफै मान्छे-मान्छे बिचको अविश्वासको ज्वालामा पर्नुभयो । मेरो दादा विश्व भाइचारा र मेलमिलापमा विश्वास गर्ने मान्छे आज आँफै मानवीय घृणा र प्रतिसोधको शिकार बन्नुभयो । हो, नियतीले धेरै ठुलो घात गरेको छ हामीहरु माथि तर समयसँगै जीवन त चलीनैरहन्छ र चलिरहनु नै पर्छ । मेरो दादा मानव समाजको लागि केही गर्न सक्ने खुबी भएको मान्छे, आज सम्झनामा मात्रै बाँकी रहनुभयो । म भगवानसँग प्रर्थना गर्छु, मेरो दादा र मेरो दादासँगै विलीन भएका हजरौं जीवनहरुको बलिदान नै आखिरी होस्, मानव समाजको लागि । भोलिको बिहानि भातृतववाद र भाईचाराको नौलो किरण सहित झुल्कियोस् । घृणा, हिँसा, प्रतिसोध्, आतंक कहीं कतै नहोस् । मेरो दादा र मेरो दादाको जस्तै नियती भोगेका सम्पूर्ण ज्ञात अज्ञात आत्माहरु प्रति यही नै सच्चा स्रद्वान्जली हुनेछ । प्रभु हामी सबैलाइ सद्बुद्दी देउ । (९/११ को सम्झनमा)
Read Full Discussion Thread for this article