Posted by: gwanche September 11, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
म सानो छँदा पकेट मनी पाउँदिन थें, ममीले नै स्कूलको लागि टिफिन प्याक गरेर पठाइ दिनु हुन्थ्यो, पाँच क्लासमा पढुन्जेलसम्म । त्यतिबेला मलाई चक्लेट खान मन लागे म दादासँग पैंसा माग्थें, कहिलेकाँही आँफै पनि चक्लेट किनेर ल्याइदिनुहुन्थ्यो । एक चोटि चोकमा एकजना खेलौना बेच्ने मान्छे आएको थियो । मलाई एउटा खेलौना असाध्यै मन परेको थियो, दुर्बिन जस्तो तर त्यसमा आँखाले नजीकबाट हेर्‍यो भने फिल्मका हिरो-हिरोइनको फोटो देखिने, पाँच रुपैयाँ रे त्यसको । मसँग पैसा थिएन, दादा पनि घरमा हुनुहुन्थेन्, ममीले त्यो फजूल कुराको लागि पैसा दिने कुरै भएन । हाम्रो घरमा एकजना पाहुना आउनु भएको थियो, मेरो अंकल, बाबाको मामाको छोरा । मैले अंकलले टेबुलमा राख्नु भएको मनी पर्सबाट खुसुक्क पाँच रुपैयाँ निकालेर मलाई मन परेको खेलौना किने । बेलुका दादाले खेलौना देखेर सोध्नु भयो,'कहाँबाट ल्याइस् बाबु यो खेलौना ?', म दादासँग कहिल्यै झुठो बोल्दिन्थे या शायद दादासँग म झुठो बोल्नै सक्दिनथें। दादाले मलाई राम्ररी सम्झाउनु भयो, यस्तो काम गर्नु हुँदैन भनेर र पाँच रुपैयाँ दिएर मलाई नै अंकलको मनी पर्समा राखेर आउ भन्नु भयो । हामी दुबैजना गएर अंकल कोठामा नभएको समयमा अंकलको मनी पर्समा पाँच रुपैयाँ रखेर आएका थियौँ । त्यतिबेला देखि म नसोधिकन कसैको पनि समान अथवा पैसा उठाउँदिन्, मेरो दादाले सिकाउनु भएको शिक्षा । दादा इन्जिनियरिङ्ग पढ्न ईन्डिया जानुभयो, बेङ्ग्लोर्, म स्कूल मैं पढ्थे । पहिलो चोटि दादासँग छुट्टीएको थिएं म, असाध्यै नरमाइलो लाग्यो केही दिन सम्म । बेला-बेलामा फोन गरिरहनुहुन्थ्यो, चिठ्ठी पनि पठाइरहनुहुन्थ्यो, इ मेल थिएन त्यतिबेला । छुट्टीमा दादा घर आउँदा कति धेरै समान लिएर आउनुहुन्थ्यो मेरो लागि, कति रमाइलो गर्थ्यौं त्यतिबेला हामीहरु । काठमाडौंमा भए भरका रेस्टुराँमा जान्थ्यौं, मोटर साइकलमा टाढा-टाढासम्म घुम्न जन्थ्यौं । दादा , दीपा दिदी र म धेरै चोटि आईसक्रीम खान गएका छौं । दादा र दीपा दिदी कतै घुम्न जाँदा धेरैजसो मलाई पनि सँगै लिएर जानु हुन्थ्यो । असाध्यै रमाइलो हुन्थ्यो त्यतिबेला । वास्तवमा मैले पहिलो चोटि बियर पिएको पनि दादासँग नै हो, दादाको एकजना साथीको बर्थडे पार्टिमा । दादाले भन्नु भएको थियो,'स्वाद सबै कुराको लिनुपर्छ तर यसैलाइ आदत बनाउनुहुँदैन' । अहिले पनि म कहिले काँही नपिइ नहुने ठाउँमा मात्रै ड्रीन्क गर्छु । छुट्टीमा घर आउँदखेरी नै हो दादाले मलाई गाडी चलाऊन सिकाउनु भएको पनि। दादाको छुट्टी सकिन-सकिन लाग्दा मलाई असाध्यै नरमाइलो लाग्थ्यो । दादा सँधै मसँगै बसिरहनु भए कति रमाइलो हुन्थ्यो । तर दादाले फर्किनु त पर्थ्यो नै । जानुभन्दा अगाडि दादाले मेरोलागि धेरै-धेरै कमिक्स्, लुगा अनि खेल्ने र खाने सामान किनिदिनु हुन्थ्यो । दादा पढाई सिद्ध्याएर ईन्डियाबाट फर्किनु भयो, म त्यतिबेला दस् क्लासमा पढ्थें । दादा काठमाडौं मै एउटा अफिसमा काम गर्न लाग्नुभयो । मलाई एस.एल.सि.को लागि पढाईमा धेरै मद्दत गर्नुभयो । केही समयपछि मेरो एस.एल.सि. शुरु हुनुभन्दा केहि महिना अगाडि मात्रै दादा 'फर्दर स्टडि'को लागि अमेरिका जानुभयो । अब म पनि बुझ्ने भइसकेको थिए, मलाई थाहा थियो दादा चाहेर पनि सँधै मसँगै रहन सक्नुहुन्न । म दादाको सफलतामा धेरै-धेरै खुशी भएको थिएँ र दादा जस्तै सफल बन्ने प्रण गरेर राम्ररी एस.एल.सि. को तयारी गर्न थालें । दीपा दिदीले आँसु रोक्न सक्नुभएको थिएन, दादा अमेरिका जाने दिन । मलाई पनि नरमाइलो त धेरै लागेको थियो तर एक थोपा पनि आँसु झर्न दिइन मैले त्यो दिन । दादाले बेला-बेलामा फोन गरिरहनुहुन्थ्यो, (अब त चिठ्ठी होईन) इ मेल पनि नियमित रुपमा पठाउनुहुन्थ्यो । हामीहरु ढिलोसम्म च्याटिङ गरेर पनि बस्थ्यौं । मेरो एस.एल.सि. को रिजल्ट पनि भयो, राम्रो नम्बरले पास भएँ म । दादाको जती नम्बर ल्याउन सकिन मैले तर म सन्तुश्ट थिएँ। मैले कहिले पनि दादालाई जित्न चाहेको थिइन र आज दादाको भन्दा 'एग्रीगेट्'मा चार नम्बर कम ल्याउँदा म धेरै खुशी भएको थिएँ। म सँधै दादाभन्दा एक कदम पछाडि रहन चाहन्थें र अहिले पनि म दादाभन्दा पछाडि नै रहन चाहन्छु। पोहोर साल दसैंमा घर आउनुभएको थियो दादा। त्यतिबेला दादाले मलाई मन परेको मोटर साइकल किनिदिनु भएको थियो, पहिलोपल्ट त्यसैमा चढेर हामी दुबै नगरकोट गएका थियौँ । त्यहिबेला हो दादा र दीपा दिदीको 'इनगेज्मेन्ट' गरिदिएको। कति रमाइलो भएको थियो, बिहेको पार्टी नभए पनि मैले मेरो क्लासका सबै साथीहरुलाइ बोलाएको थिएँ । मैले र दादाले एउटै किसिमको दाउरा सुरुवाल लगाएका थियौं, रङ मात्रै फरक। हामी दुबैले नै पहिलोपल्ट हो दाउरा सुरुवाल लगाएको कुनै समारोहमा। दादाले त स्कूल र कलेजमा पढ्दाखेरी नाटक र 'डान्स'मा भाग लिँदा दाउरा सुरुवाल लगाउनु भएको थियो क्यारे, केही फोटोहरु देखेको थिएँ दादाको अल्बममा । दादा र दीपा दिदी कति सुन्दर देखिनु भएको थियो त्यो दिन्, बेहुला-बेहुली जस्तै, स्वर्गमैं बनेर आएको जोडी जस्तै । हामीले त्यो दिन डान्स पनि खुब गर्यौँ, दादा पनि नाच्नु भयो एकछिन। खासमा भन्ने हो भने मेरो दादा असाध्यै राम्रो नाच्नु हुन्छ। हजुरआमा बित्नु भन्दा पहिला म, दादा अनि हजुरआमा तलको बैठक कोठामा गएर बाबाले थाहा नपाउने गरेर धेरै बेर सम्म नाचेर बस्थ्यौँ । असाध्यै रमाइलो हुन्थ्यो। अब त हजुरआमा बित्नु भएको पनि पाँच-छ बर्ष भइसक्यो। वास्तवमा भन्ने हो भने यदि 'पर्फेक्ट्' भन्ने केही कुरा छ भने मैले थाहा पाएको मध्यै मेरो दादा मात्र त्यो कुरा को सबैभन्दा नजीक हुनुहुन्छ। पढाईमा, अतिरिक्त कृयाकलापमा, बानीब्यहोरामा, हरेक कुरामा अनुकराणिय। मेरो दादाको कोठाभरि दादाले जितेका मेडल,कप र शिल्डहरु भरिएका छन। पहिला पहिला म दादाले जितेका मेडलहरु घाँटिमा झुन्ड्याएर सबैलाइ देखाउँथे। मामु भन्नुहुन्थ्यो 'तिमी पनि दादा जस्तै हुनुपर्छ है बाबु, धेरै धेरै पुरस्कार जित्नुपर्छ'। सबैजना दादालाइ मन पराउँथे तर दादाको सबैभन्दा ठुलो 'फ्यान'चाँही म नै थिएँ । म दादा जस्तै बन्न चाहन्थे। दादाले जस्तै गरेर लुगा लगाउने कोशीश गर्थे, बोल्ने, हिँड्ने, खाने, सबैकुरामा म दादालाइ 'इमिटेट' गर्ने कोशीश गर्थे। मलाई अहिले थाहा भयो त्यो मेरो मिथ्या प्रयास मात्रै थियो, म मेरो दादा जस्तो 'पर्फेक्ट' कहिल्यै पनि बन्न सक्दिन या मलाई त लाग्छ मेरो दादा जस्तो 'पर्फेक्ट'कोही पनि बन्न सक्दैन।
Read Full Discussion Thread for this article