Posted by: gwanche September 11, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
मेरो दादा हिजो मात्रै दादाको इ मेल पाएको थिए, न्यू योर्क जाँदै हुनुहुन्छ रे, एउटा कन्फ्रेन्समा भाग लिन । दुई तीन महिना पछि फुर्सद मिलाएर नेपाल आउने रे । दादा - मलाई संसारमा सबैभन्दा बढी माया गर्ने मान्छे मेरो 'रोल मोडेल', मेरो ठुल्दाइ । दीपा दिदिलाई पनि मेल पठाउनुभएको छ रे । दीपा दिदी - मेरो दादाको सबैभन्दा मिल्ने साथी । दीपा दिदीको बाबा र मेरो बाबा क्याम्पसको जमाना देखिको साथीहरु, एउटै टीम बाट भलिबल खेल्नु हुन्थ्यो रे । अहिले उहाँहरुको अफीस छुट्टा-छुट्टै भए पनि शनीबार र बिदाको दिन उहाँहरु धेरै जसो समय सँग-सँगै बिताउनु हुन्छ । हाम्रो एउटा सानो संसार छ, केही नातेदारहरु अनि केही पारीवारिक मित्रहरु । यसपाली दादा घर आउँदा दादा र दीपा दिदीको बिहे गरिदिने रे, इनगेजमेन्ट त पोहोर साल दादा दसैंमा घर आउँदा खेरी नै गरेको हो । अब त दीपा दिदीलाइ पनि भाउजु भन्नु पर्छ मैले तर कसरी भन्ने होला, सानै देखि दिदी भनि राखेको मान्छेलाइ भाउजु ? 'म तपाईंलाइ दिदी नै भन्छु है, भाउजु भन्दिन ' भन्दा दीपा दिदी भन्नु हुन्छ, 'हुँदैन अब त तिमीले मलाई भाउजु नै भन्नु पर्छ' । दादा म भन्दा पाँच बर्ष जेठो, हाम्रो स्कूल पनि फरक फरक थियो । मैले होस् सम्हाले देखि नै मेरो सबैभन्दा नजीक दादा नै हुनुहुन्छ । हाम्रो घरमा धेरै कोठाहरु भए पनि म र दादा एउटै कोठामा सुत्थ्यौं । दादाले मलाई होम-वर्क गर्न मद्दत गर्नु हुन्थ्यो, मलाइ धेरै नयाँ-नयाँ कुराहरु सिकाउनु हुन्थ्यो। मलाइ गितार बजाउन पनि दादाले नै सिकाउनु भएको हो। पहिलो चोटि 'देउराली उकाली चढेर बिजयपुर खोला तरेर........' भन्ने नेपली गीत र 'एक दो तीन.....' भन्ने हिन्दी गीतको नोटेसन हेरेर गितार बजाउन सक्ने हुँदा कति खुसी भएको थिए, छ क्लासमा पढ्थे म, त्यतिबेला। छुट्टीको दिनमा मेरो साथीहरुलाइ घरमा बोलाएर त्यहि गीतहरु बजाएर सुनाउँथे, दादाको गितारमा। पहिलो चोटि गीतार बजाउन सिक्दा औंलाको छाला खोस्रेर असाध्यै दुखेको थियो। तर दादाले 'हरेस खान हुन्न, बिस्तार-बिस्तारै बानी पर्छ' भनेर सम्झाउनु भएको थियो। दादाले मलाइ हरेस खान हुन्न भनेर सिकानु भएको कुरा अहिले पनि मनन गर्छु म। मलाइ साइकल, मोटर साइकल र गाडी चलाउन सिकाउने पनि दादा नै हुन्। हरेक् अर्थमा दादा नै मेरो पहिलो गुरु हुन्। पहिलो पल्ट साइकल चलाउन सिक्दा दादाले पछाडिबाट साइकल समाइदिनुहुन्थ्यो अनि म पाइडल चाल्थे। एकचोटि दादाले साइकल छोडिदिनु भएछ पछाडिबाट, मैले थाहा नपाउने गरेर। धेरै अगाडि सम्म मैले साइकल चलाएर लगेपछि उहाँले 'बाबु पछाडि हेर् त, मैले समाएको छैन, तैले आफैं चलाउन सक्ने भइस्' भन्दा पो हड्बडाएर साइकल समेत बाटो छेउको सिस्नो घारीम लडेको थिए। मलाइ चोट त लागेन तर सिस्नोले पोलेर धेरै बेरसम्म पोलिराखेको थियो। यो घटना सम्झिँदा हामीहरु पछिसम्म पनि धेरै बेरसम्म हाँस्थ्यौं। मैले साइकल चलाउन सक्ने भइ सकेपछि दादा र म टाढा-टाढासम्म साइकलमा सँगै जान्थ्यौं। मोटर साइकल चलाउन सिक्न मलाइ त्यति गार्हो भएन। गाडी चलाउन सिक्दा दादा र म दुइ घन्टा पुलिस चौकीमा बस्नु परेको कुरा सम्झेर पनि हामीहरु धेरै बेरसम्म हाँस्थ्यौं। दादाले मलाइ गाडी चलाउन सिकाउँदा मैले एकचोटि नगरपालिकाको ट्रयाक्टरलाइ पछाडिबाट ठोकाउन पुगेछु अनि त ट्राफिक केस भैहल्यो। दुइ घन्टा पछि बल्ल बाबा आएर हामीहरुलाइ छुटाएर लिएर जानु भयो। कति रमाइलो गर्थ्यौँ हामीहरु त्यति बेला।
Read Full Discussion Thread for this article