Posted by: world_map September 8, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
तितौरी, चित्र राम्रो छ। ल, मैले भर्खरै लेखेको मेरो पुरानो कथाहरूको पाँचौं भाग हो यो। यो कथा पढ्नु अघि चौथो भागसम्म पढ्नुहोला धनकुटाको बारेमा, चौतारीको पुराना भागमा छन्। आज म यौटा धमाका गर्दैछु। के होला भनेर सोच्नुभो होला, कुरा के भने म मेरो फोटो टाँस्दैछु चौतारीमा! भर्खरै दिदीले ईमेलमा पठाउनु भएको ताजा फोटो, तर बालककालको! :D प्रतीक्षा गर्नुहोला। काठमाडौंको कोलाहल काठमाडौंको दिनचर्या धनकुटाको भन्दा नितान्त बेग्लै थियो, जताततै मान्छेको भीड, घरैघरको जंगल जस्तो ठाउँमा मेरो बालमन उकुसमुकुस हुन थाल्यो। भूपी शेरचनको कविताको ‘साँघुरो गल्लीमा मेरो चोक छ, यहाँ के छैन सब थोक छ’ भन्ने पंक्ति वास्तविकतामा सलबलाइरहेको हुन्थ्यो। न यहाँ पिङ् थियो, न खेल्ने चौर, न त धनकुटाको जस्तो स्वतन्त्र र उन्मुक्त वातावरण, म धेरै सानो हुनाले एक्लै बाहिर पनि जान पाउँदैनथें। मलाई धनकुटाको साह्रो याद आउँथ्यो, खेत बारीमा उफ्री उफ्री खेलिरहेको, उकाली ओरालीमा हराइरहेको सम्झनाले मनै प्रफुल्लित हुन्थ्यो। म घरको टुप्पोमा रहेको कौसीमा गएर यताउति हेर्थें, जताततै घरै घर देखिन्थे, अझ त्यतिबेला अहिलेको जस्तो बाक्लो बस्ती बसिसकेको थिएन, उपत्यकाका धेरै कुराहरू त्यहाँबाट छर्लङ्गै देखिन्थे, जस्तै एयरपोर्ट, धरहरा, घण्टाघर, स्वयम्भू आदि। एकदिन म उत्तरपश्चिमतिरको डाँडामा खूब ध्यान दिएर हेर्न थालें, मेरा कलिला आँखा त्यतिबेला असाध्यै तेज थिए। मैले डाँडाको टुप्पोमा यौटा सेतो रंगको ग्रामीण घर देखें, खरको छानो भएको। म एक्कासी झसंग भएँ, अनि खुशीले उफ्रिन थालें, हतार हतार तल ओर्लिएर बुबालाई भनें, ‘ ड्याडी! मैले कौसीबाट धनकुटा देखें! हाम्रो घर पनि देखिन्छ!’ बुबाले सोध्नु भयो, ‘कहाँ देख्यौ?’ मैले उत्तरपश्चिमतिर औंल्याएँ। बुबा हाँस्न थाल्नुभयो, म छक्क परें। बुबाले पूर्वतिर देखाउँदै भन्नुभयो, ‘धनकुटा त पूर्वमा पो छ त। फेरी यहाँबाट देख्न पनि सकिंदैन, धेरै टाढा छ।‘ मलाइ अझै विश्वास भएको थिएन, तैपनि चूप लागें। एकदिन बरन्डामा बसेर खेलिरहेको बेला एक्कासी ठूलो आवाज आयो, ‘ड्याङ्, ड्याङ् ड्याङ्……’, म यो के आवाज होला भनी सोचिरहेको थिए। फुपूले भन्नुभो, ‘ल बाह्र बज्यो, टुँडिखेलमा बढाईं भयो।‘ बुबाले लन्डनबाट फर्कँदा हामी तीनैजनालाई एक एक वटा घडी ल्याइदिनुभएको थियो, जेठी दिदीले रातो छानिन्, कान्छि दिदीले गुलाबी, मेरो लागि चैं कालो थियो। म घडि पाएर दंगदास थिएँ, एक एक मिनेटमै घडि हेरेर समय भन्दै हिंड्थें। जेठी दिदी ज्वरो आएर सुतिरहेकि थिइन्, मलाई पनि सर्ने डरले उक्त कोठाभित्र जान दिईएको थिएन, तर म भने बाहिर ढोकैबाट,’ तिम्रो घडिमा कति बज्यो?’ भनी सोध्थें। अनि ,’मेरोमा त ७ बजेर २८ मिनेट गयो’ भन्दै हिड्थें। फेरी पाँच मिनेटपछि त्यहीं गएर त्यही प्रश्न दोहोर्याउथें र आफ्नो घडिको पनि समय भनेर हिंड्थें। यो क्रम धेरै दिनसम्म चलिरह्यो, दिदीको ज्वरो निको नभएसम्म। समय बित्दै जाँदा घडिको सिसामा धूलो जम्न थाल्यो, समय हेर्नै मुस्किल भयो, अब यस्लाई कसरी सफा गर्ने भन्ने चिन्ता लाग्न थाल्यो। मेरो दाई(मामाको छोरा) पनि मेरी जेठी दिदीकै उमेरका थिए, उनी हाम्रो घरमा आएको बेला मैले घडिको सिसा धमिलो हुँदै गएको र सफा गर्ने तरीका सोधें। उनले आफ्नो घडीलाई खोलेर सफा गरेर देखाए। म पनि आफ्नो घडी खोलेर सफा गर्ने निर्णयमा पुगें, तर घडी खोलेको बेला चैं कसैले नदेखोस् भनेर चाहन्थें किनकी आमा बुबाले घडी खोलेर बिगारिस् भनेर गाली गर्नुहुने हो कि भन्ने डर ममा थियो। एकरात मैले अलि साहस बटुलेर घडिको पछाडीको पाटा निकालें, अनि भित्रको मेसिन पनि निकालें, अब सिसा पुछ्नु थियो, के ले पुछुँ भनेर यताउति हेर्दाहेर्दै भर्याङमा कोही हिंडेको आवाज आयो। म झसंग भएँ, अनि हतार हतार घडीको मेसिन भित्र राखेर पछाडीको बिर्को लाएर थिचें, तर राम्ररी बिर्को लागेन, झन् डराई डराई जोरले थिचें। तर घडीमा रहेका दाँतहरू नमिलाई थिचेकाले भाँच्चिए, अब राम्ररी बन्द पनि नहुने भयो। मेरो घडी आधा बिग्रियो। अब गाली खाने डरले म यसको बारेमा चुँक्क बोलिन। तर सिसा भने अलि सफा देखियो, यसैमा खुशी हुने ठाउँ पाएँ। मेरी कान्छी दिदीको घडीको सिसा पनि धमिलियो, मैले उनलाई आफ्नो घडी खोलेर सफा गरेको वृत्तान्त सुनाएँ। तर उनको घडीको बिर्को निकै कडा भैसकेको थियो, जति तान्दा पनि खुलेन। एकदिन घरबाहिरको फलैंचामा उनी घडी खोल्ने प्रयास गर्दै घडीलाई ढुंगामा ‘ट्वाक, ट्वाक’ गरेर हल्का किसिमले ठोक्दै थिइन। बाटोमा हिंड्ने एक बटुवाले भने ‘, ए नानी, किन घडी बिगार्न लागेको? मन नपरे मलाई देउ न!’ हामी एक अर्काको मुख हेरेर हास्यौं।
Read Full Discussion Thread for this article