Posted by: world_map September 7, 2006
Login in to Rate this Post:
0
?
अब चौतारीको बारेमा पुराना सम्झना केही कोर्नु पर्यो। चौतारीको कुरा गर्दा साझाको कुरा नगरी मलाई सुखै छैन, किनकी साझा नै चौतारीकि जननी हो। पाँच वर्ष जति पहिले यो विरानो देशतिर हानिंदा, नेपालको समाचारहरू पाउने माध्यम धेरै थाहा थिएन। एक दुइवटा न्यूज साइटहरू हेरेर नि चित्तै बुझ्दैनथ्यो। फेरी त्यो बेलामा यहाँ खास नेपालीको संख्या उल्लेख्य थिएन। नेपाली साईटहरू खोज्दा खोज्दै साझा फेला पर्यो, तर कसरी फेला पर्यो भनेर चैं मलाई राम्ररी याद छैन।
कुराकानीमा धेरै नेपालीहरूको गफ सुनेर रमाइलो लाग्थ्यो। त्यो बेला नेपाली युनिकोडको बिकास नभैसकेको अवस्थामा नेपाली पनि अंग्रेजी रोमनमा लेखिन्थ्यो। तर रोमन नेपाली पढ्न मलाई गाह्रो लाग्थ्यो, त्यसैले अंग्रेजी धागो नै बढी पढ्थें। त्यसबेलाका अनुहारहरू अहिले कमै बचेकाछन्, पून्टे दाई, नेपे दाजी, आशु, सितारा, आदी त्यतिबेलाका मैले सम्झेका नामहरू हुन्। पून्टेदाईले आफ्नो बिहेको फोटोमा ‘कवि शिरोमणि’ भनी लेखेर टाँसेको सम्झेर अहिले नि मरी मरी हाँस्न मनलाग्छ। नेपे दाजीको गजलले साझालाई उसैबेलादेखि गुन्जायमान गर्दै आएको हो।
मैले साझामा सक्रिय सहभागिता जनाएको चैं २००५ अप्रिलदेखि मात्र हो, त्यसभन्दा अघि मेरो न्वारन भएको थिएन। एक पल्ट पहिले नै नाम लेखाएको त थिएँ तर उक्त नाम कहिल्यै प्रयोग भएन। भूगोल आफ्नो हब्बी (hobby) भएकोले यौटा भौगोलिक नाम नि जुराइहालें, पछि सिरेले चित्रे नामकरण गरिदिंदा त क्या खुशी लाग्यो।
नेपाली युनिकोडको विकासले साझाको रूप नै परिवर्तन गरिदियो। सहभागिता पनि निकै बढ्न थाल्यो। तर पोहोर चौतारीको जन्म हुँदासम्म नि मलाई नेपाली टाइपिङ् गर्न गाह्रो लाग्थ्यो, गति ढिलो थियो, औंला दुख्थे। पहिलो चौतारी बनेपछि म यसो छिरेको थिएँ, सिरेसँग दोस्ती भैहाल्यो, दादा नि आउनुभो। पछी मैले चौतारी-२ नाम दिएर फोटा क्वीज गर्दा निकै रमाइलो भयो। त्यसपछिका चौतारीहरूमा समयाभावको कारणले लेख्न सकिनँ, मूक दर्शक मात्र भैरहें। दशैं, तिहारमा त झन् पढ्नै भ्याइएन, त्यो बेला धेरै मान्छे नि थिएनन्, सिरे, दादा, भौते, पून्टेदाई, नेपे दाजी, नमे, महिलाहरूमा चैं रूइना र पुष्पपुरी(matrix rose) थिए क्यारे।
एकदिन म फेरी चौतारी छिरें, सिरेले फेरी नानाथरी कुरा गरेर हसायो, अनि अरूले नि स्वागत गरे। त्यसपछी आइरहन मनलाग्यो। मुन्द्रे, डल्ली फुपूसँग नि धेरै गफ भो, अहिले त ती हराएछन्। जिम्माल बूढा र गोतामेज्यूका साहित्यले चौतारी मात्र होइन, साझा नै रंगीचंगी बनाएको थियो। मास्टर्नी दिदीको आगमनपछि चैं चौतारीमा अनुशासन बढ्यो, भाषा पहिलेभन्दा परिष्कृत भयो। अहिले सान्नानी, ठूल्नानी, तितौरी हुँदा त झन् रमाइलो हुँदैछ, महिलाको सहभागिता बढेको हुनाले।
नेपाली भाषा र जनजिब्रोलाई माया गर्ने र कथा, कविता, हाँसो ठट्टा गरेर मित्रता बढाउन चाहनेको लागि चौतारी ईश्वरको वरदान हो। चौतारी अझै नि फलोस् फुलोस, यसलाई हाम्ले अघि बढाइराख्नु पर्छ।