Posted by: Gautam B. August 29, 2006
~ चौतारी २४ ~
Login in to Rate this Post:     0       ?        
यो पढ्दा को नरोला? बिचरी मैना! शाही सेना आफैंले दिएको प्रतिवेदन त यस्तो छ भने वास्तविकता कति भयावह होला? कति चरम यातना दिए होलान् मैनालाई शाही जनावरहरुले?! यसरी मारिइन् मैना कान्तिपुर संवाददाता काठमाडौं, भदौ १३ - माओवादीविरुद्ध परिचालित सुरक्षाफौजले नक्कली मुठभेडका नाममा बढाएको हिंसाहत्याको शृंखलाको उदाहरण मैना सुनारसम्बन्धी सेनाकै फैसलाले दिएको छ । काभे्रकी किशोरी मैना सुनारलाई 'सोधपुछको वैकल्पिक उपाय हुँदाहुँदै' चरम यातना दिएर सेनाले हत्या गरेको तथ्य सैनिक अदालत 'कोर्ट अफ इन्क्वायरी बोर्ड' ले निष्कर्ष निकालेको छ । उनलाई वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालबाट २०६० फागुन ५ गते बिहान खटिई गएको कोभर्ट टोलीले पक्राउ गरेको थियो । यातनाकै क्रममा उनको मृत्यु भएपछि होक्से क्षेत्रमा भाग्न खोज्दा मारिएको सेनाले बताएको थियो । स्थानीय सैनिक नेतृत्वले सैनिक अदालतलाई समेत गुमराहमा पार्ने प्रयास गरेको फैसलामा उल्लेख छ । महासेनानी मोहनबहादुर बस्नेत, प्रमुख सेनानी रत्नप्रकाश थापा र सेनानी भरतकुमार खडका सम्मिलित बोर्ड गठन भएको थियो । बोर्डले तयार पारेको घटनाको विवरणअनुसार पलाञ्चोक क्षेत्रबाट प्रहरीले पक्राउ गरेकी माओवादी कार्यकर्ता विमला विकसँग सोधपुछ गर्दै जाँदा देवी सुनार र उनकी छोरी मैना माओवादी पार्टीको सम्पर्कमा भएको जानकारीअनुरूप सेना गाउँ गएको थियो । तालिम केन्द्रका निमित्त प्रमुख बबी खत्रीको आदेशअनुसार तत्कालीन सहसेनानी निरञ्जन बस्नेतको कमान्डमा १२ जनाको टोली तयार भई दिउँसो पलाञ्चोक पुगेको थियो । सहसे नानीद्वय बस्नेत र अधिकारीले घरमा छानबिन गर्दा माओवादीसम्बन्धी कुनै पनि चीजवस्तु फेला पार्न नसकेको प्रतिवेदन उल्लेख छ । मैनालाई पक्राउ गरेपछि बस्नेतले उनका बाबुलाई 'यसलाई हामीले सोधपुछका लागि लिएर जान्छौं, तिम्रो श्रीमती आएपछि पाँचखाल ब्यारेकमा पठाइदिनु, सोधपुछपछि फिर्ता पठाइदिन्छौं' भनेका थिए । बाटोमा कुनै 'अपि्रय' घटना नभई उनीहरूलाई लिएर सीधै तालिम केन्द्रमा सेनाले ल्याएको थियो । त्यसपछि खत्री, बस्नेत, अधिकारी, सहसेनानी अमित पुन, हुद्दा मेजर खडकबहादुर खत्री, अफिसर मेसमा रनर काम गर्ने सिपाही डिलबहादुर बस्नेत र सिपाही श्रीकृष्ण थापासमेत सात जनाको उपस्थितिमा मैनालाई सोधपुछ गर्ने कार्य भएको थियो । खत्रीको आदेशअनुसार पानीमा चोबल्न सहसेनानीद्वय सुनिल र अमितले सिपाहीलाई डेक्चीमा पानी ल्याउन अह्राएपछि डिलबहादुर र श्रीकृष्ण थापाले ठूलो डेक्चीमा पानी ल्याएका थिए । त्यसपछि मैनालाई पानीमा चोप्दै यातना दिने काम भएको थियो । 'यसो गर्दा केटीले लगाएको सम्पूर्ण कपडा भिजेको र पटक-पटक निजले पानी सर्केर खोक्ने गरेकी थिइन् भन्ने कुरासमेत बुझिन आएको छ,' फैसला उल्लेख घटना विवरणमा भनिएको छ- 'मैना सुनारलाई पानीमा चोबल्ने निकाल्ने कार्य गर्दा पनि कुनै कुरा बकाउन नसकेपछि बबी खत्रीले अब यसलाई करेन्ट लगाएर सम्झाउने भनी आदेश दिएपछि सुनिल र अमितले श्रीकृष्ण थापालाई करेन्ट लगाउन अह्राएअनुसार निज सिपाहीले गिजरको लाइनबाट तार जडान गरी 'यसको शरीरको कुन भागमा लगाऊँ' भन्दा 'पैताला र हातमा लगा' भनी आदेश पाएपछि मैना सुनारको भिजेको पैताला र हातको नाडीमा करेन्ट लगाउने कार्य भएको रहेछ ।' फैसलाअनुसार चार-पाँच चोटि करेन्ट लगाइसकेपछि नाडीबाट रगत आएकोदेखि श्रीकृष्ण थापा डराएर विस्तारै पछि हटी करेन्ट लगाउन छोडेका थिए । मैना त्यतिबेला शिथिल भइसकेकी र करेन्ट लगाउँदा आफू २/३ महिना माओवादी गतिविधिमा लागेको स्वीकार गरेकी थिइन् । तर थापा हटेपछि पनि सुनिल र अमितले खडकबहादुर खत्रीलाई अझै करेन्ट लगाएर सम्झा भनी अह्राएपछि फेरि करेन्ट लगाउन थालेको थियो । करिब डेढ घन्टाको चरम यातनापछि उल्लेखनीय कुरा नखुलेपछि खाना खाएपछि सोधपुछ गर्ने भनी मन्दिरनिरको हावा घरमा लगिएको थियो । आँखामा पट्टी लगाएको र हात पछाडि बाँधिएको अवस्थामा त्यहाँ राखिएकी मैनाका लागि सेन्ट्री खटाइएको थियो । त्यो बेला खडकबहादुर खत्री र श्रीकृष्ण थापासमेत रहेका थिए । दिनको करिब ११ बजे मैनाले बान्ता गरी मुखबाट फिँज निकालेर गम्भीर अवस्थामा पुगेको जानकारी बबी खत्रीलाई दिइएको थियो । 'मेडिकल अर्दली आई चेक गर्दा मृत्यु भइसकेको भन्ने जानकारी गराएको' विवरणमा भनिएको छ । 'यसरी मैना सुनारको मृत्यु भइसकेपछि सो घटनालाई गुपचुप राख्नुपर्छ भनी बबी खत्रीको आदेश भएको हुँदा गोप्यता अपनाई शव गाडनेतर्फ सोच बनाई खत्रीले अमित पुनलाई गोप्य तरिकाले शव गाड्ने आदेश दिएको र निरञ्जन बस्नेतलाई पाँचखाल प्रहरी चौकीबाट मुचुल्का बनाउने कार्यका लागि प्रहरी ल्याउन आदेश दिएका रहेछन्,' घटना विवरणमा उल्लेख छ । गोप्य रूपमा लास गाडने आदेश पाएका पुनले कार्य जमदार सुरेन्द्रलाई बोलाई घटनाको जानकारी दिई अधिकृत मेसभन्दा उत्तरपूर्व तारको बारभन्दा करिब ५०/६० मिटर बाहिर खाडल खन्ने आदेश दिएको र केही समयपछि अधिकृत मेसमा रहेका सिपाही डिलबहादुर बस्नेत र श्रीकृष्ण थापालाई एक-एकवटा बोरा ल्याउन आदेश दिइएको थियो । दुईवटा बोरा मृतकको खुट्टा र टाउकोबाट छिराई गाडीमा हाल्न लगाई अमितले नै गाडी शव भएको ठाउँमा लगेका थिए । 'शवलाई खाल्डोको नजिक राखी बारा निकाल्नलाई सहसेनानी अमितले सिपाही डिलबहादुर बस्नेतलाई कोल्ट कमान्ड हतियारबाट एक राउन्ड मृतकको पिठ्युँमा हान्न आदेश दिएका र उनले फायर गर्दा मृतकको शरीरमा नलागेपछि अमित स्वयंले सो हतियारबाट २ राउन्ड फायर गरेको तर एउटा राउन्ड मात्र मृतकको पिठ्युँमा लागेको भन्ने बुझिन आयो,' विवरणमा भनिएको छ । मृतकलाई गोली हानिसकेपछि अमितले शवको फोटो खिची तत्कालीन समयमा खटिएका फाल्वर्ससमेत भई शव गाडेका थिए । उता मुचुल्काका लागि पाँचखाल प्रहरी कार्यालयबाट आएका एक प्रहरी नायब निरीक्षक, एक प्रहरी सहायक निरीक्षक र एक प्रहरी जवानसहितलाई निरञ्जनले प्रतिवेदन दिए । त्यसबेला महासेनानी खत्रीले प्रहरीलाई पक्राउ गरेर ल्याएकी मैना होक्से भन्ने ठाउँमा गाडीबाट हाम्फाली सुरक्षा घेरा तोडी भाग्न खोज्दा सुरक्षा फौजको गोली लागी मरेको 'काल्पनिक कथा' बनाई शवको प्रकृति मुचुल्का बनाउन लगाएका थिए ।
Read Full Discussion Thread for this article