Posted by: CaMoFLaGeD August 25, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
"आमा चाँडो तयार पारिदिनु न!" मलाई निकै हत्तार भैरहेको थियो। "पर्खि न छोरा, त्यो भर्खर पकाएको खीर बोकेर लैजान अलि गार्हो हुन्छ, एकछिन पछि तँलाई लिएर जान सजिलो हुन्छ" आमाले भान्छाबाट मलाई सम्झाउनु भयो। आज दरखाने दिन, स्कूलमा हामी केटाहरुले घरबाट केहि खानेकुरा लिएर जानु पर्ने। "तिमीहरुलाई सबैभन्दा मिठो जे लाग्छ त्यहि ल्याउनु" मिसले हिजो क्लासमा भन्नुभएको थियो। मलाई सबैभन्दा मिठो लाग्ने भनेको "खीर"। आमालाई फकाएर खीर बनाउन लाएँ। सबैथोक तयार भएपछि, म खीर लिएर स्कूल तिर लागेँ। स्कूलमा सबै केटाहरु आइसकेका रहेछन्। सबै केटाहरुले मिठा मिठा खानेकुरा लिएर आएका रहेछन्। भौतेले हलुवा, ग्वाँचेले जेरी, पुन्टे दाईले हिजो समातेको माछाको तिउन अनि बोतलमा खोइ के को झोल थियो। जिम्माल बाले भुटेको भात लिएर आएछन्। उनलाई सार्‍है मनपर्ने भुटेको भात, घरमा जिम्माल्नी बजैलाई पाकेको भातपनि "अब घिउ हालेर भुट त" भनेर हैरान पार्ने। चित्रेले के ल्यायो ल्यायो, देखाउदैन। "चित्रे देखाउ न के ल्यायौ?" मैले कर गर्दा पनि मानेन। "एकछिन न ठुल्नानी आउन देउ अनि उसैलाई देखाउछु" उस्ले आफ्नो झोला पछाडी लुकायो। स्कूलाँ सबै केटाहरु आइसकेका थिए, तर मिस अनि अरु केटीहरु आइपुगेका थिएनन्। हामी तिनीहरुलाई पर्खेर बसिरहेका थियौँ। पर बाट एकहुल केटीहरु हाम्रो स्कूल तिर आए। सबै रातो लुगामा। "ओ हो! लौ हेर हाम्रा स्कूलका केटीहरु त सब एक से एक भएर आएछन्" पुन्टे दाईले त्यो बोतलको झोल सिरिप्प पार्दै भने। हामी सबैजना उत्साहित हुदै तिनीहरु तिर हेर्यौँ। चित्रे जुरुक्क उठेर हामी भन्दा अलि अगाडी गएर बस्यो। मलाई पनि अघि जाउँ कि जस्तो त भा'थियो फेरि छेउमा भउतेले के भन्ला भनेर बसेँ। उनिहरु हामी भए नजिक आइपुगे, हामी सबैजना लाटा ले पापा हेरे झै दङ्ग परेर उनिहरुलाई हेरिरह्यौँ। "लौ किन सबै चूप चाप बसेका" मिसले हामी तिर हेर्दै भन्नुभयो। "क्यार्नि त, त्यस्तो राम्रा भएर आएपछि, हामीले के बोल्न सक्थेम्?" पुन्टे दाईले त्यो बोतल लुकाउदै भने। बास्तबमै कस्ता राम्रा देखिएका सबैजना। रातो लुगाले सबैलाई कस्तो राम्रो देखिने। ठिकै भनेछन् "रातो राम्रो गुलियो मिठो" "कुम्ले तिमीले के ल्याएका छौ?" उनि मेरो नजिक आएर मलाई सोधिन। "मैले खीर लिएर आएको छु, तिमीलाई खीर मनपर्छ?" मैले सोधेँ "मलाई सार्‍है मनपर्छ, खीर" उनलाई मन नपर्ने कुरा पनि केहि छ र यो संसारमा? "तिमीलाई यो लुगा सार्‍है सुहाएको छ" अघि देखि भन्न मनलागेको कुरा बल्ल बल्ल आँट गरेर भने। "हो र? मलाई आमाले तीजको लागि भनेर दुईवटा लुगा किनिदिनु भा'छ, भोलि चाँहि अर्को लाउने" उनि फुरुक्क भइन। उता, चित्रेले आफ्नो झोला खोल्न लाग्यो। मलाई अघि देखि उसले के ल्याको होला भनेर हेर्न मन लागिरहेको थियो। "ओ हो, चित्रे! के हो यो?" मैले अचम्म मान्दै सोधेँ "यस्लाई गुतपाक अनि पुस्टकारी भन्छन्, मेरो अजिले सहरबाट पठाइदिनु भएको" उसले मख्ख पर्दै भन्यो। "मलाई गुतपाक अत्ति मिठो लाग्छ" ठुल्नानी खुसि भइन। "कुम्ले, तिमीलाई थाहा छ भोलि त हामीहरु पानीपनि नपिइ ब्रत लिन्छौँ नि" "हो र! किन नि?" मलाई सुन्ने रहर भयो। "पहिले पार्बतीले 'महादेव पति पाउँ' भनेर तीजको बर्त लिएको रे अनि भगवान खुसि भएर उनलाई 'तथास्तु' भनेको रे, अनि उनले महादेव पति पाइन रे, त्यहि भएर बिहे नभएकाहरुले महादेव जस्तै पति पाउँ भनेर अनि बिहे भएकाले आफ्नो पतिलाई राम्रो होस भनेर ब्रत लिन्छन् रे, मलाई आमाले भन्नु भएको, म पनि भोलि ब्रत लिन्छु" उनले मलाई एकै साँसमा सबै कुरा बुझाइन। मलाई अचम्म लाग्यो। किन होला त्यस्तो। अनि मेरो मनमा एउटा प्रश्न जाग्यो। एकै छिन रोक्न खोजेँ तर सकिन। अनि जुरुक्क उठेर मिसलाई सोधेँ "मिस, हामीले चाँहि पार्वती जस्तो पत्नि पाउन कुन दिन ब्रत लिनुपर्छ?" समाप्त (चौतारी आउनु हुने सबै महिला मित्रहरुलाई तीजको शुभकामना)
Read Full Discussion Thread for this article