Posted by: Gautam B. August 21, 2006
-बाँसको पैसा-Gautam B.
Login in to Rate this Post:     0       ?        
“बाँसको पैसा” -भाग १- “नमस्कार हाकीम सा’प!” कमीज-सुरुवाल-इष्टकोटको परिधानमा आएका एकजना बूढा बा भित्र पसे। “नमस्कार!” गर्मीमा उँघिरहेको हुनाले बूढाको बोलीले नगरपालिकाको हाकीम अलि झस्किएझैं भयो। “भन्नुस् के कुरा हो?” आँखा पनि नऊघारी हाकिम बोल्यो। “हजुर म---- !“ बूढा अलि अक्मकाए, “मेरो बाँस---!” “ए तपाईँ फेरि आउनु भो!?” त्यतिखेरसम्म हाकीमले आँखा खोलिसकेको थियो। “कति चोटि भन्ने मैले तपाईँलाई, दिन मिल्दैन भनेर? तपाईँका बाँस कल्ले ल्यायो, हाम्लाई के थाहा? लानेसंग केहि कागत-सागत मागेर राख्नुपर्दैन? त्यसै पैसो पाईन्छ? जानुस्, अब फेरि आउने हैन यहाँ----“ हाकिम झर्कियो र टेबुलको पत्रिका तानेर पढ्न थाल्यो। “हैन हजुर, नगरपालिकाले दिन्छ भनेका थे लानेले।“ “फेरि त्यहि कुरा! ‘भनेका थे’ भन्दैमा हुन्छ? जिविसमा जानुस्, उनीहरुले दिन्छन् कि?” “ग’को हो हजुर, त्याँ त झन अफिसै बन्द-----“ “अब के गर्ने त?” बूढाको कुरालाई बीचमै काटेर हाकीम करायो अलि ठूलै स्वरले। “यहाँ बाट दिन मिल्दैन, जल्ले लगेको हो, उसैकाँ जानुस्।“ हाकीम कुर्सीबाट जुरुक्क उठ्यो, कोट तन्याकतुनुक पा-यो, कुर्सीमा राखेको चकटी मिलायो र फेरि पत्रिका तानेर बस्यो। अँध्यारो मुख लगाएर ‍‍‍धुर्वलाल बूढा बाहिर निक्ले। “दिएन बाजे?” नगरपालिकाको गेटनीर पीउनले सोध्यो। “दिएन, दिएन। गरीबको पैसो खाए पापीले--- !” बूढालाई कुरा गर्ने मन पटक्कै नभएको थाहा हुन्थ्यो, उनको बोलीबाट। अलिक मास्तिर एउटा चिया पसल थियो, बूढा पसलको एउटा कुनामा गएर बसे र गम्दै चिया पिउन थाले। बूढाको घर नगरपालिकाको छिमेकी गाऊँमा पर्छ। अब नगरपालिका पनि भन्नुमात्रै हो, उनको गाऊँ जत्तिको पनि छैन। उनकी जेठी छोरीको बिहे भो, तीन भाइ छोरा छुट्टिएर अलग बसे, उनी र बूढी बसेका छन्। बूढीलाई मुटुले दुख दिन थालेको दुई बर्खजति भो। छ-छ महिनामा काठमाडौँ लगेर निकै महँगो ओखती गर्नु पर्छ। त्यसकै भरमा धानिएकी छिन् रे अहिलेसम्म बूढी, डाक्टरले त्यसै भन्थे। बैशाख सकिँदा लानु पर्ने हो यस पालि, पैसाको ब्यबश्था हुन नसक्दा जेठको पनि आधी हुन आँटी सक्यो लान सकेका छैनन्। चैत लाग्दा-लाग्दाको कुरो हो। बूढा-बूढी खाना खाईसकेर पीँढीमा बसेका थिए। “क्या हो काका, बाँस कतिमा बेचियो त?” माथ्ला गाऊँको हरिनारान कता जाँदै रहेछ, बाटैबाट करायो। “के कुरा गर्छ यो? गाहकी भेटिएकै छैनन्, काँ’ट बाँस बेच्नु नि!” “बाँस काटिराख्या आवाज जस्तो लाग्या थ्यो त मलाई! मान्छेको हल्लाखल्ला पनि सुनेजस्तो लाग्यो। म त तिम्ले बाँस बेचिसकेछौ भन्ठानेर हेर्दै नहेरी आएँ। गईहाल, फेरि सप्पै लगिसक्लान्”। बोल्दा बोल्दै हरिनारान धुर्बलाल बूढाको आँगन कटेर बाटो लाग्यो। “हे दैव, को चोर पस्यो फेरि?-----“ थामको किलामा झुण्ड्याएको टोपी टाउकोमा हालेर बूढा निक्ले। “तँ नआईज, -----“ बूढी पनि पछि लाग्न खोज्दै थिन् बूढाले रोके। मज्जाले सप्रेको बाँसघारी थियो बूढाको। धेरै दु:ख गरेर हुर्काएका थिए यो बाँसघारी बूढा-बूढीले।। ‘सात हजार त नाची नाची मोलेर दिन्छ गाहकीले’, भन्थे सबैले। सात हजार नआएर छ हजारमात्रै आईदिए पनि बूढाको धेरै ब्यबहार मिल्ने थियो। सबभन्दा ठूलो त डाक्टरले बोलाएकै बेलामा बूढीलाई काठमाण्डु लगेर उपचार गर्न सकिन्थ्यो। बाँकी बचेकोले पाँच-सात महिनैको नून-तेलमा भरथेग हुन्थ्यो। तर ऐले बाँस चोरी हुन लागेको सुनेपछि बूढाका जीउबाट पसिना छुट्न थालेका थिए। क्रमश:
Read Full Discussion Thread for this article