Posted by: gwanche August 14, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
आज फेरि मानसपलटमा पुराना दिनहरु घुमिराखेका छन । हो, बितिसकेको समय असाध्यै बहुमुल्य हुन्छ । आज भौतिक रुपमा मसँग के छैन, सबै कुरा छ, ओंत लाग्ने ठाउँ छ, कतै बाहिर निस्कनु परे राम्रो चिट्टिक परेको गाडी छ, खल्तिमा साना-तिना आवश्यकता पुरा गर्न सक्ने पैसा छ र सबैभन्दा महतवपूर्ण कुरा एउटा सुरक्षित भविष्य छ । के यि सबै कुरा पर्याप्त छन मानसिक शान्तिको लागि ?के 'म' भनेको एउटा ब्यक्ति म मात्रै हो, त्यो ब्यक्तिसँग सम्बन्धित अरु ब्यक्तिहरुको समुह पनि म कै बिस्तृत रुप होईन र ? किन म हिजोसम्म एउटा ब्यक्ति 'म' को बारेमा मात्रै सोचिराखेको थिए ? किन आज म एउटा ब्यक्ति 'म' को बारेमा मात्रै सोचिराखेको छु ? किन भोली देखि म एउटा ब्यक्ति 'म' को बारेमा मात्रै सोचिराखेको हुनेछु ? हिजो जस्तो मात्रै लाग्छ, कृष्ण दाई र म सँग-सँगै स्कूल गएको । म दुई कक्षामा पढ्थे, उहाँ आठमा तर पनि हामी सबैभन्दा मिल्ने साथीहरु थियौं । हुन त उहाँ मेरो साख्खै दाइ होईनन तर साख्खै दाइ-भाइको भन्दा कुनै पनि हालतमा पनि कम थिएन हाम्रो सम्बन्ध । मेरो आफ्नो घरमा भन्दा उहाँकै घरमा बढी समय बित्थ्यो । हिजो मात्रै जस्तो लाग्छ हामीहरु दरौंदिमा माछा मार्न गएको, पारी डाँडामा काफल्, ऐंसेलु टिप्न गएको, माथि लामा चउरमा मेला हेर्न गएको, म थाकेर हिंड्न नसक्दा आफ्नो काँधमा चढाएर घुमाउनु भएको । कृष्ण दाइको काँधमा चढेर घुम्न मलाई आशाध्यै रमाइलो लाग्थ्यो, माथि आकाशमा देखिने हवाइ जहाजमा चढेको जस्तै । 'बुझिस् बाबु अर्को हप्ता बाबा शहरबाट आउँदै हुनुहुन्छ, अनि हामीहरु सबै जना शहर जाने' आमाले भन्नुभयो । बाबा कता शहरमा पढ्न जानु भएको रे अब पढाई सिद्धियो अनि राम्रो ठाउँमा जागिर पाउनुभएको छ रे । हुन त गाउँमा पनि हाम्रो धेरै सम्पत्ती थियो ।परिवारमा बाबा, आमा, हजुर आमा अनि म, पाँच जना मात्रै । हजुर बुवा धेरै पहिला बित्नु भयेको, बाबालाई पनि सम्झना छैन रे। हजुर आमाले नै बाबालाइ एक्लै हुर्काउनु भयेको रे। 'नाँइ आमा हामीहरु शहर नजाने'नि। बाबालाई मात्रै शहर जानु भन्ने नि'। मेरो रुन्चे अनुहार देखेर आमाले मलाइ फकाउँदै भन्नु भयेको थियो 'शहरमा राम्रो घरहरु हुन्छन्, मोटरमा चढ्नु पाउँछ, धेरै धेरै खेल्ने कुराहरु हुन्छन्, राम्रो स्कूल हुन्छ'। आज हामीहरु गाँउ छोडेर शहर जाने रे । हिजो अस्ती देखि नै चिनेजानेका मान्छे अनि आफन्तहरु भेट्न आइ रहेका छन । सँगै लैजाने समान पनि तलको सानो एअरपोर्टमा ओसारीसकेको छ ।कृष्ण दाइले मेरोलागि बनाइदिनु भएको गुलेली पनि राखेको थिए मैले मेरो झोलामा अरु समानहरुसँगै । हाम्रो गाउँमा मोटर आउने बाटो नभए पनि हवाइ जहाज चाँही आउँछ, हप्ताको एक पल्ट । आज फेरी मलाई कृष्ण दाइले आफ्नो काँधमा चढाएर एअरपोर्टसम्म पुर्‍याउनु भयो । मलाई थाहा थिएन कृष्ण दाइ हामीहरुसँग जानु हुन्न भनेर, उँहाले बाबु अब शहरमा गएर राम्ररी पढ्नु पर्छ, ठुलो मान्छे बन्नु पर्छ भन्नु हुँदा पो झसँग भए ।'बाबा, कृष्ण दाइलाइ पनि हामी सँग लाने नि' । मेरो कुरा सुनेर बाबाले मलाई भन्नु भयो 'कृष्ण दाइ अर्को हप्ता आउँछ शहर, आज प्लेनको टिकेट पाँच वटा मात्रै रैछ, कृष्ण दाइको लागि टिकट पायिएन' । रुँदै रुदै कृष्ण दाइको हात छोड्नुपर्‍यो । 'कृष्ण दाइ म अर्को हप्ता शहरको एअर पोर्टमा तपाईंलाई लिन आउँछु है' । नयाँ ठाउँ नयाँ स्कूल्, नयाँ साथीहरु, केहि दिन सम्म त आशाध्यै नरमाइलो लाग्यो । कृष्ण दाइ अनि गाउँका साथीहरुको धेरै सम्झना आइ रह्यो । बिस्तारै बिस्तारै म त्यो नयाँ परिबेशमा भिज्न थाले । बाबा कुटनैतीक नियोगमा काम गर्ने, हाम्रो जीवन-स्तर परिमार्जित हुँदै गयो । अब त गाँउमा बिताएका दिनहरु पनि धमिलो सम्झनमा मात्रै बाकी रहेँ । शहर आए पछि म कहिल्यै गाँउ गयिन । बाबा, आमा अनि हजुर आमा कहिले काँहि एक-दुई बर्षमा गाउँ जानु हुन्थ्यो, त्यहाँको सम्पत्तिको हेरचाह गर्नु पर्छ रे । मलाई गाउँ जान कहिल्यै मन लागेन किनकी मेरा सबै साथीहरु यहीं शहरमा थिए, फेरी यहाँ जस्तो खेल्ने कुरा, खाने कुरा, रेस्टुरेन्ट, सिनेमा, फुटबल केही पनि त छैन गाउँमा । आमाहरु गाउँ जाँदा कृष्ण दाइले मेरो बारेमा सोधिरहनुहुन्थ्योरे, फेरी जहिले पनि केही न केही समान मेरो लागि पठाइदिनु हुन्थ्यो। अब त उहाँको बिहे पनि भैसक्यो रे, छोरा-छोरी पनि जन्मिसके रे । तर मलाई यो तथा गाउँका अरु कुनै कुरामा पनि दिल्चस्पी हुन्थेन । मेरो आफ्नै नयाँ संसार भैसकेको थियो शहरमा धेरै-धेरै साथीहरु भएको । मेरो कोही पनि साथी कृष्ण दाइको जस्तो पुरानो लुगा लगाउँदैनथ्यो, सबै जना क्याम्पस पढ्थे, कृष्ण दाइले जस्तै बिचमै पढाई छोडेका थिएनन्, एक किसिमले भन्ने हो भने कृष्ण दाइ जस्तो पाखे कोही पनि थिएन मेरो साथीहरु मध्यै । कृष्ण दाइ हाम्रो घरमा आउनु भएको थियो रे शहरमा, काम गर्न अरब तिर जानु भन्दा पहिला । तेत्ती नै बेला मेरो साथीहरुसँग ट्रेकिङ जाने कार्यक्रम थियो, अन्नपूर्ण आधार शिबिर । आमाले त न'जा भन्दै हुनुहुन्थ्यो तर कृष्ण दाइको लागि म दुई महिनादेखि बनाएको कार्यक्रम रद्द गर्न चाहन्न थे । मेरो बारेमा धेरै धेरै सोध्दै हुनुहुन्थ्यो रे तर मलाई यो कुरा मा कुनै दिल्चस्पी थिएन । क्याम्पसको पढाइ सिध्यायर म नेपाल छोडेर यहाँ आए । केही बर्ष यहाँ पढे पछि अहिले म यहाँको युनिभर्सिटीमा पढाउने काम गर्दैछु । बिहे पनि गरे, यतैको केटी सँग्, क्याम्पसमा सँगै पढ्थ्यौ हामीहरु । बेला बेलामा घरमा फोनबाट कुरा भैरहन्छ । हजुरमा बित्नुभएको पनि तीन बर्ष भयो, बाबा सेवा निबृत भइसक्नुभो, आमा पनि बुढो भैसक्नु भयो ।पोहोर साल बाबा र आमा आउनु भएको थियो यहाँ, दुई महिना बसेर जानु भयो । उहाँहरुलाई मन परेन रे यहाँको बसाइ, यहाँको समाज । आज बिहानै फोन आयो घरबाट्, बाबाले गर्नु भएको । 'थाहा पायिस् बाबु कृष्ण काम गर्छु भनेर अरब गएको थियो, कता कता बाट लेबनान पो पुगेकोरैछ । हिजो मात्रै इजराइलाले हानेको रकेट उसले काम गर्ने कारखामा लागेछ । सबै जना ठहरै भएछन । कृष्णको पासपोर्टमा संपर्क ब्यक्तिमा मेरो नाम र ठेगाना रहेछ उस्को साथीले फोन गरेको थियो हिजो राती' । आज म नितान्त एक्लो भएको छु, जुन कृष्ण दाइलाइ मैले वीर्सी सकेको थिए उहाँ त सधैं मसँगै हुनुहुँदो रहेछ । मेरो कृष्ण दाइ आज भौतिक रुप मै सम्झना मात्रै बनिसकेका छन्। मलाइ माफ् गरिदेउ कृष्ण दाइ, म तपाइको बाबु भाइ बन्न सकिन्। म धेरै स्वार्थि रहेछु कृष्ण दाइ, मैले मेरो कृष्ण दाइको लागि केहि पनि गर्न सकिन, सायद् म तपाइलाइ सहयोग् गर्न सक्थे तर् मैले चाहिन। आज् न त म मेरि भाउजुको पिडा बाँड्न सक्छु, न त मेरा भतिजा भतिजीहरुको आँशु पुछ्न सक्छु। धिक्कार छ मलाइ, मैले आफ्नो स्वार्थमा मेरो कृष्ण दाइलाइ बिर्से। धिक्कार् छ त्यो समाजलाइ जस्ले मेरो कृष्ण दाइलाइ बिदेशिन वाध्य बनायो। धिक्कार् छ त्यो युद्द उन्माद मनस्थितिलाइ जस्ले मेरो निर्दोस् कृष्ण दाइलाइ आफ्नो शिकार बनायो । (एक महिना देखि युद्द भइ रहेको इजराइल्-हिज्बुल्ला बिच आजदेखि युद्द-बिराम भएको छ । युद्द कुनै पनि समस्याको समाधान होईन । एउटा समुहको क्षणीक स्वार्थ पुर्तिको लागि असन्ख्य निर्दोशहरुले अकारण अतुलनिय क्षति ब्यहोर्नु पर्छ । आज देखि नै यो युद्दमा पुर्ण-बिराम लागोस् र बार्ताको माध्यमबाट समस्या समाधान होस् । यो युद्दमा दुबै पक्षबाट ज्यान गुमायेका सबै प्रति स्रदान्जली र घाइते भयेकाहरुको शिघ्र स्वास्थ लाभको कामना)
Read Full Discussion Thread for this article