Posted by: gwanche August 10, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
जनैं पनि फेरी हालियो, क्वाँटी पनि खाइ हालियो अनि डोरो पनि बाँधिहालियो, लौ हिँड मोरा आज गाइजात्रा हेर्न भौतपुर जाँउ, तेरी जिम्मालनी आमा पनि माइत गा'छे भन्दै जिम्मालबा बिहानै घरमा आइ पुगे । आफु हिजो राती अबेर सम्म साथी भाईसँग चौतारी मा रमाइलो गरेर बसिरा' मान्छे, निन्द्रै पुग्या थेन्, बुढा कराउँन थाली हालें, छिटो गर मोरा, बाटो लामो छ, फेरी आज ट्याम्मै फर्किनु पर्छ । रात साँझ हिडिहाल्न सक्ने बेला अझै भा'छैन । छिटो छिटो मुख सुख धोएर, बा'ले चैते दसैंमा हालिदिनुभा' दौरा र सुरुवाल ला'र्, पटुका कसेर तयार भए । जिम्मालबा यसरी कहिलेइ पनि मेरो घरमा आ'थेनन्, गाम्मा अरु केटाहरु पनि छन जिम्मालबालाई भौतपुर घुमाएर ल्याउन सक्ने, किन बुढा म'काँ आए भनेर सोच्दै थे बुढाले आँफै बताइहाले । त्यो पुन्टेसँग गाईजात्रा हेर्न भौतपुर जाने भनेर कुरा मिला'को मोरो त टन्न धोकेर धोबिनिकोमा पो ढलिरा'छ, त्यस्तो मोरो को के विश्वास गर्नु । हुन त बुढालाइ राम्ररी भौतपुर घुमा'र ल्याउन सक्ने पुन्टे दाई नै हुन्, बेलामा लाउर पनि गा'का, देस बिदेस् पनि देखेका, परी हाले कसैलाइ एक दुई दनक पनि दिन सक्ने । पुन्टे दाइ पनि के गरुन्, जुरेलिलाइ भौतेले उडाइ हाल्यो, अब् धोबिनिकै पेटिकोट् च्यातेर बस्नु त छ नि। आफ्नु त कुरा मात्रै बढी हो, दस् बार बर्ष पैला बा'को हात समा'र गाइजात्रा हेर्न गा'हो भौतपुर्, त्यस पछी त गामबाट् खुटा बाहिर हाल्या' छैन। तै पनि छोराले आँटे पछि के गर्न सकिंदैन र, यो बुढालै भौतपुर् त के चन्द्रमामा पनि पुर्‍याएर ल्यौनु सक्ने मुन्छे हुँ जस्तो लाग्यो, फेरि गाम्मा आठ किलास् पास गर्ने दुइ चार् जना मध्ये नै पर्छु, त्यो कुरा अर्कै हो कि नौ किलासमा पढ्न थालेको यस पालि ठिक्क नौ बर्ष भो। गाम्को त झिल्के नै हुँ नि म त, तेत्ति जाबो भौतपुर जानु पर्यो भन्दैमा मुटु कलेजो एक हुन्छ र? फेरि केइ यता उता परिहाल्यो भने जिम्माल्बा छदैंछन् नि, बुढा बैँसमा कता हो कुन्नि सहरमा बसेर गा'का रे। हुन त जिम्मालबाले मलाई तेती बिश्वास गर्ने होईनन तर के गरुन्, पुन्टे दाइको हालत देखि हल्नु भो, कुम्ले तितौरीसँगै मस्त्, गालब त जापुन पुगेर फोटु खिच्न मै ब्यस्त, दादालाइ लिएर जाने कुरै भएन, जाँदा सँग्लै गएका बुढा दुई टुक्रा भएर फर्किनु बेर छैन्, गोतामे, मिस्टे अनि नेप्चेको चाला उस्तै हो..... बाँकि रहे म मात्रै । त्यो बा'लाई बेला बेलामा ठगेर बना'को दुइ से रुप्या इस्टकोटको खल्तिमा घुसायेर जिम्माल्बाको पछि पछि लागे। येस्सो पल्लो डाँडाबाट हेरेको त आज त चौतारिमा पनि कोइ रैन्छन्, छुट्टि त आज् काडमानौं खाल्डोमा मात्रै हो क्यारे, गाम्लेहरु त हुनुपर्ने चौतारीमा, सबैलाई गाईजात्रा ला'जस्तो लाग्यो। एक घन्टा हिँडे पछि बल्ल पल्लो गाम्मको बस स्टेन् आइ पुग्यो। बस पनि खास्सा रैछ, म भन्दा गोडा बिसेक बर्ष जेठो होला, जे भे नि काड्मानौ जान चाँही तयार् रैछ। तिकस् सिकस् काटिवरि मजाले झ्याल नभेको बसको ढोका नभेको भित्र जाने बाटो (चलन् चल्तिको भाषामा ढोका नभेनि ढोका नै भनिन्छ क्यारे) बाट भित्र पनि छिरियो।तिकसमा लेखेको सिट लम्बरमा गयेर् बसेको त सिट मुनि केहि चल्मलयेको जस्तो लाग्यो। येस्सो झुकेर हेर्छु त या..मान को घोर्ले च्याङ्रा पो रैछ। हैन दसैं आउन त अझै ट्याम छ त कति चाडैं खसि बाख्रा सहर तिर लाग्नथालेछन् जस्तो लाग्यो। यति बेला सम्म बस पनि चलि सकेछ । मेरो पालो किलेन्डरलाई बोलयेर झपर्नु पर्यो भनेर, दौराको बाहुला सुर्काउँदै, एइ किलिन्डर् भाइ यता आउ भनेको त पहाड् जस्तै अग्लो भुस्तिघ्रे ध्वाँसे केटा पो रुखो स्वर मा के भो भन्दै आयो। अब् तेस्तो भुस्तिघ्रेलाइ ठीक पार्ने हुति त काँबाट हुनु आफ्नो, झल्याक्क पुन्टे दाइको याद आयो। तै पनि अब एक चोटि त कुरा गर्नु पर्यो भनेर, दाइ यो च्याङ्रा कुनै अर्कै ठाम्मा राख्न मिल्दैन, हेर्नु न असाध्यै अप्ठ्यारो भो बस्न लाइ,फेरि दसैँ आउन त अझै ट्याम् छ हैन र, बल्ल त गाई जात्रा भो भनेको त मोरो खाउँला झै गरेर नाकाँ पोरा फुलाउँदै बस्ने भे बस, नभे उभिराख यो च्याङ्रा त यहीँ बस्छ, तिमेरु भन्दा महङो तिकस् काटेर बसेको हो, फेरि सहराँ दसै, तिहार आउन आइतबार नै पर्खिनु पर्छ र, सहराँ त दिन्दिनै दसैँ, दिन्दिनै तिहार, गाम्को जस्तो हो र, फेरि हाम्रो बसाँ त मुन्छे भन्दा खसि बाख्रा नै बढि हुन्छन्, नभे पछाडि हेर त भन्यो। नभन्दै मेरि बास्सै.. हामि बस्ने सिट भन्द पछाडि त बस्ने सिट नै रैन्छन्, खालि खसी बाख्रा बस्ने ठाम् पो रैछ। होला नि यस्तै... आफु कैले सहर् जाने बसाँ चढ्या हैन, पैला बासँग जाँदा त हिँडेरै गा'को भन्ने सोचेर तेइ सिटाँ कच्याक कुचुक परेर बसेँ। सँगैको सिटाँ हेरेको त जिम्मालबा त मज्जाले निदै सकेछन्, कति चाँडै निदौन सक्ने रैछन बुढा त । हुन त यता उति गै'रने मुन्छे सब सिस्टिम था रैछ बुढालाइ, खसी बाख्रा को पनि । आफु यती लामो ट्याम सम्म बसाँ चढ्या होईन, आन्द्रा भुँडी पो बौठिन लाग्यो । हिजो राती खाको ढिँडो त हलाहल निस्किहाल्यो नि । तै कुनाँ सिटाँ बस्या भेर भित्र फोर भने भेन्, नत्र त्यो भुस्तिंघ्रे मोरो ले के पो गर्थ्यो, हेर्दैथ्यो हेर्न त घुरेर । यसरी नै बाटो भरी बान्ता गर्दा गर्दै निदाएको थाहै भेन । तेइ भुस्तिघ्रे ध्वाँसे किलिन्दर, लौ कलंकी ...... कलंकी सबै जना उत्रनुस् भनेर करा'को सुन्दा पो ब्युझेछु । जिम्मालबा पनि उठि बरि, आफ्नु पोको सोको बोकेर, एइ ग्वाँचे उठ मोरा शहर आइ पुग्यो भन्दै मलाई झक्झक्यउँदै रइछन ।आहा आखिर सहर पनि आइ पुग्यो। (अरु पछी, सबै लाई ह्यप्पी गाई जात्रा)
Read Full Discussion Thread for this article