Posted by: Gautam B. August 4, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
हिजो जान्ने भएर टाँसिहालियो। चौतारीको माहौलसंग अलि नमिल्ने परेछ कि क्या हो! अब आधा टाँसेर छोडे आधा टाउको दुख्छ भन्छन्। त्यसैले बाँकी पनि टाँस्दिन्छु, दुखे पनि पूरै टाउको दुखोस्! पढिदिने सबैलाई धन्यवाद है! पुराना बामनेताको एक दिन -२- जबकि केहि दिन अघिमात्रै छोरीले चीनबाट फोन गरेकी थिई उतै संगै पढ्ने एउटा नेपाली केटासंग बिहे गरें र दुबै जागिर खाँदैछौँ कुनै बिदेशी कम्पनीमा भनेर। जर्मनीमा पढ्दै गरेकी जेठी छोरी कुइरेसंग बिहे गरेर अमेरिका पसेकी उताको उतै छे। तै यल्ले त नेपालीसंगै गरिछे, ठिकै भो। बरु बेलाबेलामा आफ्नी बूढीलाई सम्झाउन भने उनलाई साह्रै गाह्रो हुन्छ। जोरिपारीको अगाडि टन्न दाइजो दिएर छोरीहरुको बिहे गर्दिन नपाएको पीरले सुकेकी छिन् "श्रीमती पुराना वाम नेता" । कल्चर सीटमा पढाए उनले छोरीहरुलाई र कान्छो छोरोलाई भने आफ्नै खर्च भरेर अमेरिका पढ्न पठाएका हुन तर छोराले पढ्छ कि काम गर्छ उनलाई थाहा छैन। जेठो छोरो एउटा ठूलै एनजीओ चलाऊँछ र पजेरो चढेर हिँड्छ। बच्चैदेखिको एक नम्बरको स्वाँठले यति गर्नसक्यो, दंग छन् उनि। नेपालमा क्रान्ति भएको र आफूलाई गद्दार भनेर चौबाटोमा झुण्डाएको सपना देखेपछि आत्तिएर ब्युँझन्छन् "पुराना वाम नेता" । जीऊ पसिना-पसिना भएको रहेछ। आधा घण्टा लगाएर नुहाऊँछन् गीतविनाको धून सुसेल्दै र सपना बिर्सन्छन्। साढे तीन बज्छ। पेण्ट, शर्ट, स्पोर्टस् जुत्ता र कालो चश्माले सजिएर उनी निस्कन्छन्। घुम्दै घुम्दै नया सडक पुग्छन्,एक ठाऊँमा पान खान्छन् र विस्तारै रत्नपार्कतिर लाग्छन् 'पुराना वाम नेता'। सोह्रहाते गणेशको मन्दिरनेर एउटा अर्को पुरानो वाम नेता भेट हुन्छ, पहिले उनको विरोधी खेमाको, अहिले उनकै खेमाको (याने 'पुराना' खेमाको!) दुई जनाको गफ शुरु हुन्छ, दलको स्थापनादेखि आजसम्मको र मार्क्सदेखि किम जोङ इल सम्मको। कहिले चश्मा मिलाऊँदै र कहिले एक हात पेण्टको खल्तीमा राखेर, दाहिने हातको चोर औँलो ठड्याई, उभिई उभिइ पालै पालो ठूलो ठूलो स्वरमा गफ गरेको देखेर टाढाबाट देख्ने कसैले ठान्दो हो, घोर घमासान वाक्युद्ध भइरहेछ। एकछिन पछि दुबै थाक्छन् र भोटाहिटीभित्रको एउटा नेवारी रेष्टूरां पुग्छन्। 'पुराना वाम नेता' र 'साथी पुराना वाम नेता' आजभोलि बियर मात्र पिऊँछन्। बियर र छोइला-सेकुवा आदिका साथ गाली रामायण शुरु हुन्छ। "फलानो, फलानो, फलानो जाँठाहरु सब दरबारका हुन्!" जबकि दुबैलाई भित्री मनमा विश्वाश छ, आऊँदो राष्ट्रिय सभामा आफू दरबारबाटै छानिने। "फलानोले फलानो किताब चोरेर लेखेको हो, त्यल्ले लेख्नै जान्दैन।" जबकि किताब प्रकाशन गर्न त उनीहरुलाई पनि मन छ (काश लेख्न सकेको भए!) यसैगरी रातको एघार बज्छ, 'पुराना वाम नेता'को छोरो आइपुग्छ गाडी लिएर। 'साथी पुराना वाम नेता'लाई डिल्लीबजार छोडेर गाडी टंगालतिर लाग्छ। घर पुगेर सुत्दा 'पुराना वाम नेता'को मन खुशीले फूलिरहेको हुन्छ। आफ्नो जीवनको बारेमा सोच्छन् उनी। धन-सम्पत्ति जोडिएछ र छोराछोरीलाई मान्छे बनाइएछ; जीवन खेर गएनछ। आफू युवा हुँदा गरेको प्रण, विद्यार्थी जीवनको जोश र आकांक्षा आदि पनि उनको दिमागमा अष्पष्ट रुपले आउन थाल्छन्। तर त्यतिखेरसम्म 'पुराना वाम नेता' निदाइसक्छन्।
Read Full Discussion Thread for this article