Posted by: Ok August 3, 2006
Khagendra Sangraula: PART 2
Login in to Rate this Post:     0       ?        
Khagendra Sangraula's" BHOOGOL" प्यारजंगको प्रशंसनीय पराक्रम खगेन्द्र संग्राैला जनता सार्वभौमसत्ताका मालिक भए भनिएको तीन महिना भयो । तर सत्ता-संस्कृतिमा सिलामको गेडोजति परिवर्तन पनि देखिएको छैन । गद्दीमा पात्र फरक छ, प्रवृत्तिको चुरो पुरानै छ । बोली फरक छ, बोलीको सार उही छ । ढाँट्ने ढंग फरक छ, ढँटुवाको दाउ उही छ । मानौं राजाका थोत्रा कमल थापाहरू गए र राजाका नयाँ कमल थापाहरू आए । म्यादी सांसदले लोकतन्त्रका सपनालाई अपहरण गरेर चटके प्रतिनिधिसभाको निकासरहित खोरमा कज्याएका छन् । त्यो देख्यौं र हामी नागरिक चिन्तामुक्त हुन फेरि सडकमा गयौं । कतिपय लोकतन्त्रका अब्बल सारथी हौं भन्नेहरू हामीसँग रिसले मुर्मुरिए । बाह्रबुँदे समझदारीपछि आन्दोलन दबाउन राजाका रथीले एउटा हाउगुजीको रचना गरेथे । हाउगुजी माओवादी थियो । आन्दोलनमा माओवादी घुस्छ, माओवादीले बम पड्काउँछ, माओवादीले दरबार उडाउँछ । लोकलाई तर्साउन र आन्दोलनलाई कुल्चिने निहुँ रच्न ती यसै भन्थे । अहिले नागरिक आन्दोलनको अनुहार विरूप बनाउन र यथास्थितिमा सत्ताभोग गरिरहन सिंहदरबारका केही नयाँ रथीहरू उही पुरानो रागको रट लगाउँदै छन् । यी भन्छन्, एजेन्डा माओवादीको, उक्साहट माओवादीको, जत्था माओवादीको । अनि कसरी भयो यो नागरिक आन्दोलन ? हाम्रा हरनवादक गुरुजीहरूका कुरा सुन्दा मलाई आश्चर्य लाग्छ । मानौं यिनका नजरमा नागरिक आन्दोलनकर्मी परैबाट चिनिने गरी टुप्पी पालेको, जनै भिरेको र कन्दनी बेरेको विलक्षण ब्राह्मण हुनुपर्छ । बाह्र-आठबुँदे मार्गचित्र इमानसाथ लागू गर, पच्चीस बुँदे आचारसंहिता अक्षरशः पालना गर, थोत्रो राजतन्त्रको धङ्धङी त्याग, गणतन्त्रको नयाँ ध्वजा उचाल, दमनकारी सैनिक नायकलाई कारबाही गर, जालझेल, कपट र आलटाल बन्द गर, छाती ठूलो पारेर अन्तरिम सरकारतिर लम्क, राजाका डरले काम्न छाड, जनताको भर परेर जोखिमयुक्त तर सुन्दर यात्रामा पाइला चाल । हो, सडकमा ओर्लेर हामीले भनेको यत्ति हो । के हामीले यो सब भन्नु माओवादीको एजेन्डा भयो ? उसो भए सिंहदरबारबासीको एजेन्डाचाहिँ के होलाज्यू ? के तिम्रो एजेन्डा हल्लिँदै सिंहदरबार जानु, बेतुक बात बोल्नु, अन्योलको सिर्जना गर्नु, दायित्व बिर्सेर उङ्नु, भत्ता पकाउनु, युद्ध बल्झाउनु र पुनः दरबारगमनको सपना देख्नु हो ? सडक आमनागरिकको साझा संसद् हो । यो माओवादीका लागि खुला छ, खाओवादीका लागि पनि यो खुला छ । सर्त फगत यत्ति हो, हरेक आन्दोलनकर्मी सिंहदरबारका हाम्रा माननीय गुरुजीहरूसँग आँखा जुधाउँदै शान्त र संयमित मुद्रामा नागरिक आन्दोलनको सादा झन्डामुनि उभिन्छ । दरबारका वा अरू कसैका विध्वंसक भिजिलान्तेबाहेक जोसुकैका लागि पनि नागरिक आन्दोलनको द्वार सदैव खुला छ । गुरुजी ! दिल्ली र सिक्लेस धाएर माओवादीलाई तिमीले राजधानी ल्यायौ । न्याय, शान्ति र प्रगतिको साझा शत्रु राजतन्त्रसँग जुध्न भनेर माओवादीसँग तिमीले मीत लायौ । पुरानो इबी बिर्सौँ, नयाँ नाता गाँसौँ भनेर तिमीले माओवादीलाई प्रेमले अंकमाल गर्‍यौ । तर अहिले तिमी नै भन्छौ, नागरिक आन्दोलनमा यो माओवादी किन आयो ? म सोध्छु, के ऊ बन्दुक बोकेर वनतिर लखेटिओस् र आफू पहिलेजस्तै बोरा ओडेर लुक्दै नारायणहिटीको दक्षिण ढोकातिर जाउँला भन्ने तिम्रो इच्छा हो ? नागरिक भेलाको भोलिपल्टको कुरा हो । प्रतिनिधिसभामा एउटा कलाविहीन नाटक देखें । क्रोधले उन्मत्त भएका एक अभिनेता कुद्दै रोस्ट्रममा पुगे । अनि फिँज काड्दै कम्प छुटेको स्वरमा तिनले गर्जन गरे, सभामुख महोदय ! नागरिक आन्दोलनका नाइकेहरूले हाम्रो प्रतिनिधिसभालाई प्रतिगामी भने । तिनका नाउँमा खेद प्रस्ताव पारित होस् । नियालेर हेरें, बोक्ने झन्डा फरक छ, जप्ने आदर्श फरक छ, उभिने ठाउँ फरक छ । तर नाटकका अभिनेता जुनियर कमल थापाजस्ता छन् । तिनको नाउँ के होला ? भोलिपल्ट अर्को जात्रा देखें । सांसद विजय सुब्बा भाषण ठोक्न उठे । श्रोता जम्मा चारजना थिए । वृद्ध भरतमोहनजी आपmनो साविकको शैलीमा सिलिङ ताकेर हाई काड्दै थिए । पारिपट्ट िएकजना गुरुजी टेबुलमा च्युँडो जोतेर निन्द्रामग्न थिए । अर्का गुरुजी निदाउन अभ्यासरत थिए । र झन् अर्का गुरुजी टिठलाग्दो मुद्रामा कन्सिरी कन्याइरहेका थिए । मौकामा क्यामेरालाई छवि दान गरिहालूँ भनेर होला, विजयबाबुले आफैंलाई सुनाउँदै मच्चिमच्ची भाषण गरिरहे । सभाकक्षको अनिष्टसूचक विराट रिक्तता उराठलाग्दो थियो । सोचें, बाँकी सांसदको भत्ता पकाएर अघि नै घरतिर फिर्ती सवारी भइसक्यो होला । आज्ञा होस् गुरुजी ! प्रतिनिधिसभा नामक दायित्वबोध, इमान र नैतिकताशून्य भगुवाहरूको यो भीडलाई प्रतिगामी नभनेर अरू कुन शब्दले पुकार्न सकिएला ? प्रतिनिधिसभा नेपाल राज्यलाई नेपाल सुन्दरीको रूप दिन कसरतरत छ । युगान्तकारी भनिएका यसका घोषणा राज्यको विरूप बाहिरी रूपलाई सिँगारपटार गर्ने चटके कार्चोपी हुन् । बाहिरी रूप जतिसुकै सिंगार, त्यसले मिस नेपाल सुन्दरीको आन्तरिक सांस्कृतिक सारमा केही फरक पार्दैन । यो विकृत सामन्ती राज्यको कुरा पनि उही हो । सिंहदरबारका गुरुजीहरू के के न गरेँ भनेर देखाउन घरिघरि घोषणा गर्छन् । तर लागू गर्ने बेलामा भने खुट्टा पसारेर ती घ्वार्घ्वार् घुर्न थाल्छन् । लागू गर्नलाई न आफूसँग गतिलो संयन्त्र छ, न जनविश्वास छ, न धनशक्ति छ, न त जङ्गी र निजामती नोकरशाहीतन्त्र आपmनो पकडमा छ । तैपनि यी गफास्टक संविधानसभाले छिनोफानो गर्नुपर्ने जटिल मुद्दाहरू बाठा भएर बतासे शैलीमा आजै भकाभक् छिनोफानो गरिरहेका छन् । यो सब केवल कागजी घोडाको काइते रेस हो । फगत मिस नेपाल सुन्दरीको बोक्रे चमकधमकजस्तो ! गुरुजीहरूका कुरा गर्दा मलाई झ्याट्ट श्री प्यारजङ थापाको याद आयो । हिजोसम्म कठोर कोर्रा ठोक्दै हाम्रा गुरुजीहरूलाई राजनीतिक शिक्षा दिने राजा ज्ञानेन्द्र थिए । आज उनको ठाउँ उनका अपूर्व सेवक प्यारजङले लिएका छन् । सिंहदरबारका गुरुजीहरू फुर्ती झिक्दै हामीलाई सुनाउँदै थिए, शाही सेना नेपाली सेना भयो । अब यो हाम्रो बसमा अनुशासनबद्ध छ । तर उल्टो लोप्पा खुवाएर प्यारजङले देखाइदिए । संकेतको भाषामा तिनले भने, म राजाको बफादार नोकर हुँ । मेरा लागि रैतीका छोराछोरीहरू धूलाका कण हुन् । यी नाथेको खटन मानेर किन जान्छु म रायमाझी आयोगमा केरकार गरिमाग्न ? म त बरु आनन्दमय मुद्रामा गगन विहार गर्दै हृदयसम्राटरूपी मौसुफको जयजयकार गर्न पोखरा जान्छु । बस्, ती गए र तिनले सिंहदरबारका ढाँटहरूको पोल खोलिदिए । झूटकोे कालो पर्दाभित्र लुकाइएको सत्य सर्वांग उजागर गरिदिने उच्चतम राजभक्त प्यारजंग थापा धन्य हुन् । २१ गते वसन्तपुरमा हुने नागरिकसभामा कृपापूर्वक पाउकष्ट गरी सिंहदरबारका श्री गुरुजीहरू हामीलाई भनून्, शाही सेना कोसँग छ ? र नेपाललाई कता लगिँदै छ ? जंगी प्यारजंगले रायमाझी आयोगको अवज्ञा गरेर हदैसम्म अपमान गरे । पर्दापछाडि अपमानको यो नाटकका स्रष्टाहरू को को हुनन् ? ज्ञानीहरू शंका गर्छन्, कतै मोरिआर्टी, ज्ञानेन्द्र शाह र गिरिजाप्रसाद कोइराला यो नाटकका संयुक्त स्रष्टा त होइनन् ? एकाध हप्ताअघि मात्र केपी शर्मा ओलीको दुर्लभ वाणी सुन्न पाइएको थियो, 'सेना पूर्णरूपले नेपाल सरकारको नियन्त्रणमा आइसक्यो । कतै केही त्रुटि भए त्यसलाई सच्याउन सकिनेछ ।' ओली महोदयका नजरमा पूर्ण नियन्त्रणमा आइसकेको शाही सेनाका कमान्डरले अधोवस्त्र फुकालेर कटिमुनिको विकराल भूगोल उनलाई देखाइदिए । मलाई जान्न मन छ, यी ओलीको बोली कुन दलको हो ? आमनगरिकको माग छ, राजा ज्ञानेन्द्रलाई हामीजस्तै मुकुटबिनाका सादा नागरिकमा परिणत गर । प्रत्युत्तरमा प्रतिनिधिसभाका गुरुजीहरूले चयन गरेको नेपाल सरकार के गर्दैछ ? यसले पारस शाहका शिरमामात्र होइन तिनकी छोरीका शिरमा पनि मुकुट पहिराइसक्यो । म नेपाल सरकार हुँ भन्ने झुन्डको यो निर्णय जनविरोधी उग्र अपराध हो । हामी नागरिकहरू सोध्न विवश छौं, संविधानसभाको मतदानबाट आमनागरिकले फस्र्योट गर्ने मुद्दा बढ्ता जान्ने भएर अहिल्यै र एक्लै छिनोफानो गर्ने तिमीहरू को हौ ? हाम्रा सन्तान-दरसन्तानका शिरमाथि बलात् राजा-रानीको भार थोपर्ने अधिकार कसले दियो तिमीहरूलाई ? के जनआन्दोलनले तिमीहरूलाई दिएको कार्यादेश यही थियो ? यही हो सहिदका सपनाको सम्मान गर्ने पारा ? जता हेर्छु, अराजकता व्याप्त छ । सडकमा अराजकता छ । शाही सेनामा अराजकता छ । कर्मचारीतन्त्र, शिक्षालय, व्यापार-वाणिज्य, कूटनीति र आम समाजमा अराजकतै-अराजकता छ । यसो भन्नुपर्दा मलाई बडो दुःख लाग्छ, यो अराजकताको स्रोत यही दिग्भ्रमित प्रतिनिधिसभा हो । अराजकताभित्रको रिक्ततामा प्रतिगामी तत्त्वहरूले ताण्डव सुरु गरिसकेका छन् । दरबारमार्गमा शाही जवान मध्यरातमा प्रहरीमाथि धावा बोल्छ र बदनाम भैरवगणमा लगेर तिनलाई पाशविक यातना दिन्छ । आँखाका चालले आयोगको खटन मान्नुपर्ने प्रधान सेनापति खटनलाई हाक्काहाक्की खिसी गर्दै जगर फुलाएर हिँड्छन् । अनि आफूलाई जननेता हौं भन्नेहरू 'लौ न हजुर, हाम्रा नाक जोगाउन केरकारमा आइदिनु पर्‍यो' भनेर तिनका पाउमा लम्पसार पर्छन् । मधेसका कारागार रणभूमिमा परिणत भएका छन् । पीडित नागरिकका झिना-मसिना माग र गुनासाको जबाफमा सरकार निर्लज्ज दमनसिवाय अरू केही गर्न जान्दैन । मण्डले दुलाबाट निक्लेर 'लोकतन्त्र मुर्दावाद' भन्न थालिसके । यो सब आफूले क्रमशः जनविश्वास गुमाएर राजशाहीलाई आरामले फर्किन दिने अभ्यास हो । यो अभ्यासलाई रोक्न प्रतिनिधिसभाको मूल ढोकामा भोटे ताल्चा झुन्ड्याइनु जरुरी छ । हरनवादक गुरुजीहरूका हरेक बोलीमा प्रतिगमनको प्रखर गुन्जनबाहेक अरू केही सुन्न छाडियो । प्रतिनिधिसभाका रथीहरू प्यारजंगले दिएको सन्देशको गूढ रहस्य बुझून् । ती सिंहदरबारको खोरबाट निस्केर सडक अनुशासनको अनुगमन गरून्, सहरको फोहोर व्यवस्थापनमा हात बढाऊन्, कारागारका कैदीलाई लोकतन्त्रबारे प्रवचन दिऊन्, सडकका भोका-नांगा धर्नाकारीहरूका आँसु पुछून्, मण्डलेसँग कुस्ती खेलून् अथवा आ-आपmना निर्वाचन क्षेत्रमा गएर आपmनो अशोभनीय अतीतबारे पश्चाताप गरून् र मतदातासँग माफी मागून् । मिति गुज्रेको ओखतीजस्तो प्रतिनिधिसभा ओगटेर रित्ता कुर्सीलाई निरर्थक भाषण सुनाउँदै जान-अन्जान प्रतिगमनको भरिया बन्नुभन्दा यी कता हो कता असल काम हुन् । यी आफूलाई मान्छेजस्तो मान्छे र नेताजस्तो नेता बनाउने उत्तम अभ्यास हुन् ।
Read Full Discussion Thread for this article