Posted by: Ok August 2, 2006
यो अमेरीकामा !
Login in to Rate this Post:     0       ?        
This one is in NEPAL not in AMERICA and not in JAPAN -------------- त्यसदिन वेलुका म मेनुकाको घरमा गएँ। त्यहाँ पुगेपछि भने मलाई सधैँको जस्तो नभएर अलिक अर्कै जस्तो लाग्यो। मेनुकाको व्यवहार पनि अलिक भिन्नै लाग्थ्यो। उनी निकै नै फूर्तिली थिईन्। बोली र हाउबाउले नै उनी निकै खुशी जस्तो देखिन्थिन्। बेलुकाको खानपिन भयो, निकै किसिमका परिकारका साथ। सबैजना मिलेर टिभी हे-यौँ। रातिको १० पनि बज्नै लाग्यो। मेनुकाको भाइ मदन सुत्न भनेर आफ्नै वेडरुममा गयो। मेनुका पनि आफ्नै कोठामा गईन्। मेनुकाको बाबा, ममी र म चाहिँ बैठक कोठामै थियौँ। “अनि बाबू, के गर्ने बिचार छ त अब? अरु पनि पढ्ने कि स्थाई जागिर खानतिर लाग्ने?” मेनुकाको बाबाले सधैँ झैँ मेरो बारेमा पनि सोध्नुभयो। “पढ्ने कुनै योजना छैन। अब स्थायी जागिरमा नाम निकाल्नेगरी लोकसेवाको तयारी गर्ने विचार छ” “कि बिहेसिहे गरेर घरजम गर्ने विचार छ?” उहाँले हाँस्तै भन्नुभयो। “अहिल्यै के बिहे गर्नु र? केही त ब्यवस्था भा छैन। भर्खर त अस्थाई जागिर शुरु गरेको छु। स्थायी हुन अरु कति समय लाग्ने हो?” मैले आफ्नो कुरा भनेँ। “बिहे गरेपछि पनि त ब्यबस्था गर्न सकि हालिन्छ नि” उहाँले फेरि दोहो-याउनु भो। “हाम्री मेनुकाले पनि बिए सकिन् यसपाली। अब राम्रो केटा पाए बिहे गरेर पठाईदिने भनेको। खै भने जस्तो केटा पनि मिल्दैन” मेनुकाको ममीले आफ्नै छोरीको कुरा गर्नुभो। “पाईहालिन्छ नि। पढेको मान्छेलाई केटा त जति पनि पाईन्छ” म पनि कति न बिहेको कुरामा पोख्त जस्तो गरी कुरा गरेँ। मेरो उदेश्य मेनुकाको ममीलाई सान्त्वना दिनु थियो। “खै बाबू, छ‍-सात महिना भैसक्यो मेनुकाको बाबाले कोसिस गरेको, अहिलेसम्म चित्तबुझ्दो मिलेकै छैन” ममीले नैराश्यता देखाउनुभो। “बाबूका साथीहरु कोही छैनन्? यसो ईञ्जिनियर केटा खोजेर दिन पाए पछि दु:ख पाउदिनथी कि भनेर नि वाबु” ममीले फेरि कुरा मैतिर फर्काउनु भो। “अब के बाहिर खोज्दै हिड्नु, बाबूको के विचार छ? मेनुकालाई पनि मन पर्ने रहेछ। बाबूलाई पनि मन छ भने…” मेनुकाका बाबाका उन्नाईसवटा शब्दले मेरो मुटुमा भूँईचालो लगाईदियो। म त अक्क न बक्क परेँ। केही बोल्नै सकिन। के भन्ने न के भन्ने भन्ने लाग्यो। सपनामा पनि नचिताएको कुरा एक्कासि आँउदा म त पुरै सल्याकसुलुक भएँ। मेनुकाका बाबा र ममीले कुरा गरीरहनु भयो धेरैबेर, मैले सुनिमात्र रहेँ। सोधेको प्रश्नको उत्तर नकारात्मक नहुनेगरी दिने बाहेक केही प्रतिकृया जनाईन। सायद म धेरै नै चुपलागेको देखेर होला, मेनुकाका बाबाले भन्नुभो “वाबु, यो त हाम्रो कुरा हो। बिहे जस्तो कुरामा एकतर्फी कुराले हुन्न। बाबूलाई पनि चित्त बुझ्नु पर्छ। मेनुकाको पनि चित्त वुझ्नु पर्छ। एकपटक मेनुकासँग कुरा गर्दा हुन्छ नि”। मेनुकाका बाबा निकै नै सिरियस हुनुभयो। “म मेनुकालाई बोलाईदिँउ” मेनुकाको ममीले छिट्टै बोल्नुभो। “मेनुकाको कोठैमा गएर कुरा गर्दा हुन्छ” मेनुकाका बाबाले कुरा गराउने नै विचार गर्नुभो। “हुन्छ नि” मैले उहाँहरुका कुनैपनि कुरा काट्न उचित मानिन। उहाँहरुलाई नराम्रो लाग्ने कुनैपनि कुरा गर्नै सकिन। हामी तीनैजना मेनुकाको कोठामा गयौँ। मेनुकाको बाबाले कोठाको ढोका ढक्ढक्याउँदै भन्नुभो “ए मेनुका?” उनले छिट्टै ढोका खोलिन्, मानौ उनी त्यहि कुरालाई नै पर्खेर बसिरहेकी थिईन् ढोका नजिकै। म र मेनुकालाई कोठामा छोडेर उहाँहरु फर्कनुभयो। बाबाममी हिड्ने वितिक्कै मेनुका गएर ढोकाको चुकुल लगाईन् र खाटमा गएर बसिन्। म सोफामा बसिरहेको थिएँ। उनी सिरियस थिईन्। अघि म उनको घरमा आँउदाको चन्चलेपन उनीवाट हराएर बेपत्ता भैसकेको थियो। म नजिकैको कान्तिपुर हातमा लिएर हेर्नथालेँ। उनी पनि किताब हेरिरहेकी थिईन्। दुबैजना निकैबेर सम्म बोलेनौँ। मेनुकाले केही कुरा शुरु गर्छिन् र अनि गफ गरौँला भन्ने ताकमा बसेँ म, सायद उनी पनि त्यहि धुनमा थिईन्। निकैवेर सन्नाटा छायो कोठामा। हामी दुबै चुपचाप थियौँ। मेनुकाले कुरा शुरु गर्लिन् जस्तो नलागेकोले मैले नै शुरु गरेँ “माष्टर डिग्री नपढ्ने हो, मेनुका अब” “पढ्ने नि। अर्को बर्षबाट भर्ना गर्ने। मिलेसम्म जागिर पनि खाँदै पढ्दै गर्ने। बाबाले जागिरको लागि साथीहरुसँग कुरा गर्दिन्छु भन्नु भाको छ” उनले सबैकुरा सकिन् एकैपटकमा। अनि फेरि हामी चुपचाप भयौँ। “अनि तपाईँ?” एकछिन पछि उनलाई पनि मेरो कुरा सोध्न मन लागेछ। “ईञ्जिनियरिङ चाहिँ पुग्यो अब। बरु एमविए चाहिँ पढ्नु पर्ला? अब स्थायी जागिरमा नाम निकाल्न लोकसेवालाई नै ध्यान दिने मन छ”। त्यसपछि ट्युशन पढ्दाका कुरा भए। सँगै ट्युशन पढेका उनका साथीहरु को काहाँ छन् भन्ने कुरा भए। शनिवार सबैजना पिकनिक जान लागेको कुरा पनि उनले सुनाईन्। तर हाम्रा गफहरु गाँठीकुरामा पुग्दै पुगेनन्, निकै बेरसम्म। उनबाट कुरा शुरु होला भन्ने लागेन मलाई। मैले नै सोधेँ “अनि मेनुका, बाबाममी खै के-के कुरा गर्नु हुन्छ त, कुरा के हो?” “के कुरा गर्नुभो र?” उनले थाहा नपाए जस्तो गरी स्वाङ पारिन्। “बिहे गर्ने रे हो?” मैले भनेँ। “खै, बाबाममी अब बिहे गर्नुपर्छ भन्नु हुन्छ” उनले बाबाममीतिर पु-याईन् कुरा। “बाबाममीले मात्र कि तिमीले पनि” मैले केरेँ। उनी चुपलागेर टाउको तल झुकाईन्, केही बोलिनन्। त्यतिखेरसम्म पनि उनी किताबमै हेरीरहेकी थिईन्। “बाबाममीले मसँग कुरा गर्नुभो। तिमीलाई पनि मन लागेर हो कि बाबाममीको करले मात्र हो?” मैले झन् केरेँ। “मैले नि त बाबाममीसँग कुरा राखेकी। हाम्रो घरसल्लाह हो धेरै महिना देखिको। छ-सात महिना अघिदेखि नै तपाईँको र मेरो बिहेको कुरा हुन्थ्यो हाम्रो घरमा” उनले उनको घरमा महिनौँदेखि पाकिरहेको खिचडीलाई छताछुल्ल पारिन्। “त्यसोभए, तिमीलाई म मन पर्छ?” मैले उनको राय जान्न खोजेँ। “पर्छ नि!” उनी मुसुक्क मुस्काइन् र लाजले टाउको तल झुकाईन्। “किन मन परेको?” “तपाईँको ट्यालेन्सी” “ट्यालेन्सीले मात्र पुग्छ?” “त्यो नै सबभन्दा ठूलो हो” “रुप?” “रुप त देखावटी मात्र हो। मान्छे भित्रैदेखि सफा हुनुपर्छ। तपाईँको मन सफा छ” “धन-दौलत?” “म त्यस्ता कुराहरुलाई घृणा गर्छु” “घृणा गरेपनि आवश्यक त पर्छ नि हैन र?” “चाहिने जति भए हुन्छ” “कति चाहिन्छ?” “साधारण जीवन जीउनका लागि चाहिने मात्र?” “त्यति पनि हुन सकेन भने?” “दुबै मिलेर दु:ख गरौँला” “तिमीलाई म मन पर्नाको मुख्य कारण?” “तपाईँ अन्य केटाहरु भन्दा बेग्लै हुनुहुन्छ, युनिक हुनुहुन्छ” “कसरी थाहा भयो तिमीलाई” “यत्रो छ-सात बर्षसम्म पनि मैले तपाईँलाई बुझ्न सकिन त?” “यत्रो बर्ष वितिसक्ता पनि मलाई किन नभनेको नि?” “तपाईँ पढ्दै हुनुहुन्थ्यो, म पनि पढ्दै थिएँ, किन हतारिनु थियो र?” “अनि अहिले चाहिँ?” “अब पनि नभन्दा त तपाईँ मबाट फुस्कन सक्नु हुन्थ्यो” “किन फुस्कनु र? मलाई त अहिले बिहे गर्ने मनै छैन” मैले भनेँ। उनले अँध्यारो अनुहार लगाईन्, केही पनि बोलिनन्। “अनि तिमी आफैँले किन कुरा नराखेकि त?” मैले सोधेँ। “मैले भन्दा बाबाममीले कुरा राख्नु भो भने तपाईँले मान्नु हुन्छ भनेर” “मैले मानिन भनेँ?” “मेरो भाग्यमा लेखेको रैनछ” “मैले माने भनेँ?” “मेरो जिन्दगीको सबभन्दा खुशीको क्षण हुनेछ” “हेर मेनुका। कुरा तिमीले देखेजस्तो मात्र सजिलो छैन। मेरो बारेमा सबैकुरा थाहा छ तिमीलाई?” “जान्न खोज्दैछु। तपाईँले नै भन्नु भयो भने मलाई बुझ्न झन् सजिलो हुन्छ” “मेरो घर काहाँ हो, थाहा छ?” “पुर्वी पहाड” “कति दिन लाग्छ पुग्न, थाहा छ?” “तीनचार दिन लाग्छ रे हिँडेर जान। बाबाले भन्नुभको” “पहाड गएर घाँस काट्न, मल बोक्न, कुटो कोदालो खन्न, खेतबारीमा काम गर्न सक्छ्यौ? आमालाई सब काममा सघाउनु पर्छ नि” “अहिलेसम्म चाहिँ गरेको छैन। परेपछि त गरिहालिन्छ नि, मान्छेले नै गरेको काम त हो” उनले अनुमानको भरमा कन्फिडेन्स देखाईन्। “तिमी यस्तो घरमा बसेकी मान्छे, बिहे गरेपछि भाडाको कोठामा बस्नु पर्छ, त्यो त थाहा होला नि?” “त्यस्तो कुरामा मलाई मतलव छैन। तपाईँ जहाँ जानु हुन्छ त्यहाँ जान्छु, तपाईँ जहाँ बस्नु हुन्छ त्यहि बस्छु, तपाईँ जे खानु हुन्छ त्यहि खान्छु” उनले परिपक्कता देखाईन्। “तिमीलाई कुनै कुराको पनि प्रोवोलम छैन हैन त त्यसो भए” मैले अझै खेरेँ। “केही पनि छैन। मैले तपाईँलाई राम्रैसँग चिनेकिछु जस्तो लाग्छ।” “त्यसो भए, बिहे गर्ने?” “म त खुशी, तपाईँले स्वीकार्नु भो भने…” “म के गरौँ?” “प्लिज हुन्छ भन्नुस् न ल…” उनले अनुरोध गरिन्। “मलाई, चाहिँ केही नसोध्ने?” “सोध्ने नि, मेरो पालो आउँदैछ” “ल सोध अब” मैले अनुमति दिएँ। “म तपाईँलाई कस्तो लाग्छ?” “मलाई कस्तो पनि लाग्दैन।” “मतलव? तपाईँलाई म मन पर्दैन हो?” “मन पर्ने नपर्ने कुरा हैन। मैले तिमीलाई त्यस रुपमा कहिल्यै सोचिन” “किन, म तपाईँसँग बिहे गर्न योग्य छैन?” “हैन, मैले त्यसो भनेको छैन” “मेरो केही कमजोरी?" “तिम्रो कुनै कमजोरी देखेको छैन मैले, पढाई बाहेक” “म स्वीकार्छु। बिहेपछि तपाईँको संगतले राम्रो बनाउने कोषिस गर्छु त्यो पनि” “अरु केही छ सोध्ने?” “तपाईँ आफ्नो जीवनसाथी कस्तो होस् भन्ने चाहनुहुन्छ?” “मैले त्यतातिर ध्यानै दिन पाको छैन।” “केही त भन्नुस्?” “म जस्तै” “मतलव?” “जस्तो परिस्थितिमा पनि जीउन सक्ने” “मलाई सब मञ्जुर छ। मैले तपाईँको कुरालाई जहिले पनि मनमा राख्नेछु” धेरै बेरसम्म गफ भए, सबै कुराहरु खुलस्त रुपमा। मेनुकाले पनि सबैकुरा सोधिन्। सबै कुराहरु पोजिटिभ रुपमै अगि बढे। विस्तारै बिस्तारै बिहे गर्ने नै गरी कुरा भए। करिब १ घन्टा जति बितेपछि म सोफाबाट उठ्दै भने “ल मेनुका भन, के भन्दियौँ त बाबाममीलाई?” “प्लिज हुन्छ भन्नुस् न ल?” उनले अनुरोध गरिन्। “तिमी नै भन, जे भन्न मन लाग्छ त्यहि। तिमीले भनेको कुरा म मान्न तयार छु। हुन्छ भनेपनि हुन्छ, हुन्न भने पनि हुन्छ।” “थ्यांक्यु। म धेरै खुशी छु आज” उनी धेरै खुशी भईन्। “एउटा कुरा सोधौँ?” मैले उठ्दा उठ्दै उनीतिर फर्केर सोधेँ। “के कुरा सोध्नुस् न?” उनी पनि खाटबाट उठीन्। “तिम्रो कसैसँग लभसब चलेको त छैन? छ भने भन है। बाबाममीलाई भन्न नसकेको भए म भन्दिन्छु नि” मैले अलिकति हाँसेर सोधेँ। “म त्यस्तो लभ गर्दै हिड्ने केटी हैन के! बरु तपाईँको भए भन्नुस्” उनले मलाई सोधिन्। “हाहाहा…” म लामो हाँसो हाँसेर कोठाबाट बाहिरिएँ। -------------------
Read Full Discussion Thread for this article