Posted by: CaMoFLaGeD July 30, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
आज आइतवार बिहान, म ओछ्यानमा त्यत्तिकै लडेर बसिरहेको छु। अघि आमाको आरती मन्त्रले मेरो निन्द्रा टुटाइसकेको थियो। आज बिहान मलाइ कुनै किसिमको हत्तार छैन। आइतवार बिहान मलाई हफ्ताभरिका घटनाहरु सम्झेर बस्न मनलाग्छ। मलाइ हिजो बेलुकी भएको त्यो रमाइलो घटनाको अझै याद आइरहेकोछ। "हैन कत्ति ढिलो गरेको होला" क्रीश ब्रो छट्पटी रहेका थिए। क्रीश ब्रो को छट्पटी जायज थियो उनको लागी। हुन पनि किन नछट्पटिउन? उनको लागि त यो जिन्दगीको एउटा नविन अनुभव थियो। "हैन भाई, कत्ति बज्यो तिम्रो घडीमा?" क्रीश ब्रो सङ्ग नि घडी थियो, तर उनलाई आफ्नो घडीले देखाएको समय पत्यार लागेकै थिएन। "दाइ समय धेरै भएकै छैन, त्यहि हो पौने पाँच।" मैले उनलाई नआत्तिन सहयोग गरिरहेको थिएँ। "कत्ति बजे आउने भनेको थियो नि?" "पाँच बजे नि, अझै १५ मिनट छ" मलाई क्रीश ब्रो देखी झ्वाँक चलिसकेको थियो। क्रीश ब्रो घरी यता घरी उता गर्दै समय बिताउदै थिए। म भने हातमा रहेका तिनवटा टिकटहरु खेलाएर बसिरहेको थिएँ। क्रीश ब्रो को चाल एक्कासी रोकियो। मैले उनलाई हेरेँ, उनको अनुहार एक्कासी बदलियो। मैले बुझ्ने प्रयास गरेँ। उनको अनुहारमा एक किसिमको चमक आयो, अलि अलि खुसी, अलि अलि रोमान्चित, अलि अलि लजाएको भान हुन्थ्यो उनको अनुहार हेर्दा। "उ त्यहाँ!" उनले हातले इशारा गरेर पर गेटमा देखाए। गेटमा मान्छेहरुको भिडमा एउटा बेग्लै, अत्ति सुन्दर, सबिना दि आउदै थिइन। अरुको भन्दा बेग्लै पहिरन थियो उनको। उनि वास्तबमै राम्री थिइन। उनलाई देख्ने जो कोहिले नि उनलाई फर्केर हेर्थ्यो। उनलाइ देखिसके पछि कोहि नि खुसी भएनन होला। बुढाहरु अलि छिटो जन्मियौँ भनेर दु:खी थिए, सानाहरु अलि ढिलो जन्मियौँ भनेर दु:खी थिए अनि सङ्गैकाहरु एउटै समयमा जन्मेर नि केहि गर्न सकिएन भनेर दु:खी थिए। उनको हिडाई, चालढाल, उनले लगाउने तरिका, उनको बोली, उनको हँसाइ, उनको कपाल, सायदै केहि थियो होला टोलका केटाहरुले कविता बनाउन बाँकी। हरेक दिन एउटा कवि जन्मिन्थ्यो। ति सबै कि सपना कि राजकुमारी सबिना दि क्रीश ब्रो सङ्ग पहिलो पटक चलचित्र हेर्न आएकी थिइन्। क्रीश ब्रो नआत्तिने त कुरै भएन। "के छ भाई?" सबिना दि अलि लजाउदै म सङ्ग बोलिन। "ठिकै छ दि, हजुरको नि?" मैले नि औपचारिक्ता पुरा गरेँ। उनले आफ्नो लामो कपाल देब्रे हातले सम्हाल्दै क्रीश ब्रो तिर छड्के आँखा लाउदै हेरिन। मैले नि क्रीश ब्रो लाई हेरिरहेको थिएँ। क्रीश ब्रो साँच्चीकै स्वर्गमा पुगेको अनुभव गरिरहेका थिए। "किन ढिलो आएकी नि?" क्रीश ब्रो ले बरफको ढिक्का फुटाए। "कहाँ ढिलो हुनु नि, टाइममै त आएकी छु, त्यो पनि घरमा साथीहरुसङ्ग सिनेमा हेर्न जान ला'की भनेर आएकी हुँ" उनले क्रीश ब्रो लाइ दोस्रो मौका नदिने गरी उत्तर दिइन। क्रीश ब्रो एकछिन घोरिए, सायद अब के भन्नु पर्ने हो उनलाई थाहा भएन। "ल अब जाऔँ त्यसो भए।" मैले दुबैलाई सजिलो पार्ने प्रयास गरेँ। "हुन्छ" भन्दै सबैजना सिनेमाघर तिर लाग्यौँ। मलाई सिनेमा हेर्ने रहर थिएन। हुनत हामी तिनजना मा सायद कसैलाई नि म सिनेमा हेरोस भन्ने थिएन होला। मैले त्यहि बुझेर त्यहाँबाट उम्किने बिचार गरेँ। "तपाईँहरु जाँदै गर्नुस म पछि आउछु" मैले दुइवटा टिकटहरु क्रीश ब्रो लाई थमाएँ। "भाई, कहाँ जाने नि? हामी पर्खिन्छौँ नि" सबिना दि ले फेरि अर्को औपचारिक्ता निभाइन। "हैन, हजुरहरु जाँदै गर्नुस, म आइहाल्छु" भन्दै म त्यहाँबाट बाहिर निस्किएँ। क्रीश ब्रो एक शब्द बोलेनन्। उनलाई त्यसरी कुरा गर्नै आउदैन। उनको मनको कुरा सररर पढ्न सकिन्छ। उनिहरु सिनेमाघर तिर लागे, म भने आफ्नो साथीहरुलाई भेट्न अड्डा तिर लागेँ। राती क्रीश ब्रो ले मलाई फोन गरेर भने, "भाई, सार्‍है रमाइलो भयो,हामी भोली नि भेट्दै छौँ।" उनि साँच्चिनै रोमान्चित थिए। "क्रीश ब्रो कस्तो अनुभव हुँदो रहेछ त प्रेम गर्न?" मैले जिस्किदै सोधेँ। "भाइ, जिन्दगीमा एकचोटी माया गर्नु जसरी भए पनि। साँच्ची तिमीले अहिले सम्म कसैलाई माया गरेका छौ?" मैले केहि उत्तर दिइन, मलाइ नै थाहा थिएन यस्को उत्तर। म आफैलाइ सोधिरहेको थिएँ "के मैले जिन्दगीमा कहिले माया गरेको थिएँ?" अहिले बिहान मलाई फेरि त्यही प्रश्नले पिरोलेको छ। मेरो आँखा मेरो भित्तामा रहेको एउटा फ्रेममा पर्छ। त्यस फ्रेममा एउटा बाल हातले कोरिएको माछाको चित्र छ। त्यो चित्र मैले पाएको पहिलो कोसेली हो। म त्यही चित्र सङ्गै त्यो पुरानो चौतारीमा पुग्छु। "कुम्ले, शहर भनेको कस्तो हुन्छ?" उनले मलाई बोलाउने नाम जत्ति प्यारो लाग्थ्यो त्यत्तिनै उनले गर्ने हरेक प्रश्नहरु। "अँ! बा ले भन्नु भा'को, शहराँ त ठुला ठुला घरहरु हुन्छन रे, मोटर हुन्छन रे।" मैले उनको प्रश्नको उत्तर दिदै गएँ। "मोटर कस्तो हुन्छ, कुम्ले?" उनि उत्तर सुन्न उत्सुक भइन। "मोटर भनेको त घोडा भन्दा छिटो दौडिन्छ रे। अनि त्यस्को त पेट भित्र बस्नु पर्छ रे। घोडाको जस्तो ढाडमा बस्न मिल्दैन रे।" मलाई बा ले भनेको हरेक कुरा उनलाई सुनाउने रहर थियो। "म त पछि ठुलो भएपछि, हवाइजहाजमा चडेर ठुलो सहरमा पढ्न जान्छु" उनले भनिन। मैले उनको कुरो बुझिन, कसरी चड्ने होला हवाइजहाजमा, त्यो त आकाशमा हुन्छ, त्यस्मा चड्ने भर्‍याङ कत्ति अग्लो होला? "तिमी त्यसो भए भोली नै जाने हो सहर?" खाँदा खाँदैको काफल फ्याल्दै उनले मलाई सोधिन। "हो" मैले सजिलो उत्तर दिएँ "नाई! तिमी हामी सङ्गै बस्ने। मैले आमालाइ भनेको कुम्लेलाई हामी सङ्गै घरमा राख्ने, नत्र म खाना खान्न भनेर। अनि आमाले हुन्छ भन्नु भएको छ" उनले ढिपी गरिन। मलाई उनले ढिपी गरेको सार्‍है मन पर्थ्यो। उनलाई नि ढिपी गर्न सार्‍है मनपर्थ्यो। "तर मेरा बा आमाले मलाई बस्न दिदैनन्" मैले भने। धेरै बेर सम्म उनले मलाई रोक्ने प्रयास गरिरहिन। मेरो बसको कुरा थिएन। मलाई नि छाडेर जाने मन थिएन। तर जानु पर्ने थियो। मामाले बा अनि आमालाइ सहरमै बस्ने गरि आउनु भनेर बोलाउनु भएको थियो। धेरै बेरको कुरकानी पछि म घर जाने बेला भयो। उनले हिजो टिपेको काफल खाएर सकिन लागिसकेको थियो। "कुम्ले, तिमी एकछिन यहिँ बस है, म क्लास पुगेर आउछु" भन्दै उनि क्लास तिर दौडिन्। म उनलाई पर्खी रहेँ। एकैछिन पछि उनि एउटा कागज लिएर आइन। "कुम्ले, यो मैले हामीहरुले हिजो समातेको माछाको चित्र बनाएकी छु, तिमी यो लिएर जाउ है? अनि मलाई यहि चित्र हेरेर सम्झिनु, ल।" उनले सार्‍है राम्रो चित्र बनाएकी रहिछन। रातो अनि सुनौलो रङ लगाएको त्यो चित्र साँच्चिकै माछा जस्तो थियो। मलाई सार्‍है राम्रो लाग्यो। म त्यो चित्र लिएर घर फर्किएँ। भोलीपल्ट हामी सहर हिड्न बाटो लाग्यौँ। बाटोमा उनको घर पर्थ्यो। मैले उनलाइ उनको घरको कौशीमा देखेँ। उनि मलाई हेरिरहेकी थिइन। मेरो पाइला अगि बढिरहेको थिएन। तर पनि जानु थियो। मैले आमाको हात समातेँ अनि आमाकै बलमा पाइला बढाएँ। उनि मलाई एकटक्क हेरिरहेकी थिइन्, उनको आँखामा बिछोडका पिडा छछल्कीरहेको थियो। म टाढासम्म पुग्दा पनि उनि मलाई हेरिरहेकी थिइन्, म पनि पछि फर्किदै उनलाई हेर्दै अगि बढीरहेको थिएँ। "ल यो त अझै उठेको छैन, मैले त चिया लिएर आइसकेँ" आमाले टेबलमा चिया राख्दै भन्नुभयो। म एकोहोरो भित्ताको चित्रलाई हेरिरहन्छु। आमाले मेरो आँखामा हेर्नुभयो अनि त्यो चित्र नजिकै गएर भन्नुभयो, "साँच्ची कस्तो राम्रो छ है यो चित्र। मलाई नि सार्‍है मनपरेको ले फ्रेम गरेर राखिदिएको तेरो लागी। अहिले त उनले अझ राम्रो राम्रो चित्र बनाउछिन होला है? तँलाई उनको याद आउछ? तँलाई उनि सङ्ग भेट्न मन लागेको छैन?" मैले त्यो चित्रलाई एकटकले हेर्दै भने, "आमा, म पनि बिदेशमा पढ्न जान्छु है?" समाप्त
Read Full Discussion Thread for this article