Posted by: nepesahila July 26, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
“तिमी आफ्नो एक्लो साथिप्रति पनि गद्दारी गर्छौ, बहना खियाएको नक्कल मात्र गर्छौ, मलाई बढि भार परेको अवस्था प्रति पटक्कै संबेदनसिल छैनौ तिमी त, यति लामो यात्रामा यसरी धर्म छाडे पछि कसरी पूरा गर्नु”। एउटाले भन्यो। “ल हेर त यो पापी, मैले भन्नुपर्ने कुरा त उसले पो भन्दो रैछ, मेरो बहनानै ठुलो छ, यसले जत्ति पानी त्यसले ठेल्नु पर्छ र?” उत्तर यस्तो आयो। “यस्तै हो भने यो डुङ्गामा यात्रा गर्न सक्दिन”। “तैले मनको कुरा भनिस्, तेरा आँखा आर्कैको डुङ्गामा गाडिएकोले म सँग निहु खोज्छस्, खुबि भए डुङ्गा बदल्, साथि बदल्”। “ल हेरुँ त तेरो ताइँ। बडो धाक लाउँदो रहेछ, यस्तै हो भने, बदल्छु पनि”। एक कान दुइकान मैदान भयो। तर डुङ्गा चाहिं तिनीहरुले बदलेनन्। समुन्द्रि समाजमा हुने बदनामीको डर थियो उनीहरुलाई। “एइ, झगडा नगर्”। छेऊबाट गुज्रने कुनै यात्री सल्लाह दिएर अगाडि बढ्थ्यो। मानौं उसको डुङ्गामा कुनै झगडानै नपर्ने जस्तो साला। दिउसो न्यानो सुर्य मध्य आकाशमा आउँथ्यो। सुर्यको चमकदार किरणहरु समुन्द्रको पानीमा घोलिएर रत्नझैं चमचमाउँदथे। रोमाञ्चकारी बिध्युत्तरंगमा छालहरुमा अनगिन्ती डुङ्गाहरु एउटै दिशामा अगाडि पछाडि भएर उत्तरतिर तैरिंदै जाँदा स्वर्गको यात्राबाट फर्केका देवदुतहरुको ताँतीको दिब्य, अलौकिक र जादुमय यात्रा अनुभूत हुन्थ्यो। क्षितिजमा देखिने स-साना हरिया हरिया टापुहरु बिपरित दिशातिर बिहार गर्ने स्वर्गका टुक्राझैं लाग्थ्यो। ठुला साना माछा उफ्रेर डुङ्गाको अगाडि पर्दा सुर्यको प्रकाशमा सक्कली चाँदीझैं चम्कन्थे। घामपानी पर्थ्यो र उत्तरी क्षितिजतिर सप्तरंगी ईन्द्रेणीले यात्राको निम्ति दिब्यद्वार निर्माण गर्थिन्। मनै पुलकित भएर आनन्द सागरमा आजन्म डुबुँ डुबुँ लाग्ने यो परमानन्दको अनुभूति अकल्पनिय र अकथनिय हुनसक्थ्यो। तर सामुन्द्रिक प्रकृतिको यो स्वर्गिय साम्राज्यबाट बेखबर हामी दुई यात्रीहरु आपसी झगडाका दैनिक क्रियाकलापहरुमा अन्धाधुन्द भएर ब्यस्त थियौं। यात्रा कति सकियो र कति बाँकि छ यसप्रति हामीलाई कुनै वास्ता थिएन। आफ्नै झगडामा मुर्छित थियौं; हामीहरु। त्यसो त कुनै पनि बेला समुन्द्रि दैत्यको फेला पर्न सकिन्थ्यो र यात्रामा पूर्णबिराम लाग्नसक्थ्यो। यी भाग्यका कुरा थिए। बाहिरबाट देख्नेहरुलाई लाग्थ्यो, हामी दुई सहयात्रीहरु स्वर्गको यात्रा गरिरहेका छौं तर हामी भने आपसी द्वेश, इर्श्या, द्वन्द र कुण्ठाबाट अत्यन्त पिडित थियौं र कहिलेकाहिं त बिक्षिप्त नै हुन पुग्थ्यौं। “म सक्दिन”। एउटाले बहना डुङ्गा भित्र फालेर सुतिदियो। अर्कोलाई एक्लै डुङ्गा लतार्न पर्ने भो।
Read Full Discussion Thread for this article