Posted by: gaalab July 24, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
प्रतिकृयाको लागि मिस्टे, तितौरी, गोतामे, बिर्खे, अरु गाम्लेहरु तथा चौतारीमा बस्न आउने तर गुपचुप सुइँकुच्चा ठोक्ने मौन साथीहरु, सबैलाई धन्यवाद छ। लौ त अन्तीम भाग पनि पस्केको छु। एन्डिङ् झुर भयो भनेर चैं नभनम् है? :) यो गाउँको ठिट्टो म, गालब मेरो नाम! आउँदै जाँदै गर्नु है सबलाई राम राम!! चिम्सेको जन्ती जाँदा - ९ (अन्तीम भाग) हामी अघिल्लो दिनकै बाटो पक्रिंदै ओरालो लाग्यौं। पूर्वतिरको क्षितिज रातो हुन थाल्यो, र झन झन उज्यालो हुँदै आयो। पहाडको फेदीतिर भने कुहिरोले ढम्मै ढाकेर सेतै थियो। बुढीगण्डकी नदी, खहरे खोलाहरु र आसपासका बेंसीमा अवस्थित बस्तीहरुमाथि सेतो कुहिरो लागेको, तर अग्लो ठाउँहरु भने खुल्ला। जेटबाट बादल हेरे जस्तै मनोरम दृष्य हाम्रो अगाडि थियो। अरु एकछिन त्यसै हेरेर बस्न मन नभएको त हैन, तर हामीलाई चाँडै तल पुग्नु थियो। ठुला-ठुला चट्टानहरु बाटोको दुबैतिर लडिरहेका थिए, कुनै कुनै ढुङ्गा त कति ठुला भने घरजत्रा। जोतेर डल्ला फर्किएका सुख्खा बारी, र ती बारीहरुमा ५-७ मीटरको फरकमा थुप्र्याइएका मलका थुप्राहरु। बिहानीको किरणमा रमणीय संसार हाम्रो अगाडि खडा थियो। अघिल्लो दिन काटेको भीर त कहाली लाग्दो रहेछ - एकदम छङ्गाछुर। मैले अघिल्लो दिन रक्सी खाएर यस्तो बाटो हिंडेको शिरेदाइलाई सम्झें; ज्यानै सिरिङ्ग भएर आयो। बाटो त भीरमा खोपेर पो बनाइएको रहेछ। तैपनि बाटो भने फराकिलै थियो। आरखेत आइपुग्दा ८ बज्न लागेको थियो, ओरालो बाटो हिंड्न त के बेर र! त्यहाँको दोभाननेर एउटा धारो रहेछ, जहाँ हामीले पञ्चस्नान गर्यौं (पञ्चस्नान, अर्थात्को शरीरको पाँच अंगको स्नान - अनुहार, दुई हात, दुई खुट्टा)। अघिल्लो दिन चना-चाउचाउ खाएको पसल पनि खुल्न लागेको रहेछ। साहूनी भर्खर सरसफाइ गर्दै रहिछन्। आज चाहिं त्यो पसलको पल्लो पट्टिको दोकानमा चिया र एक-एक पोका ग्लूकोज बिस्कुट खायौं। लेकतिर लाग्ने मानिसहरु फाट-फुट देखिन्थे। तिनीहरु धेरै जसो हातमा वा झोलामा रेडियो बोकेका हुन्थे, र निरन्तर रेडियो सुन्दै हिंड्थे। बिचमा ४-५ जना बिदेशी र तिनका भरिया एक हुल नदी किनार किनारै उत्तरतिर लागे - सायद लाङ्टाङ् र गणेश हिमाल क्षेत्रमा ट्रेकिङ् जाँदै थिए। हामी चाहिं दक्षिण हानियौं। ग्लूकोज बिस्कुटमा कति ग्लूकोज थियो कुन्नि स्फूर्ति भने निकै दियो। अघिल्लो दिन काटेको सुनौलो बजारबाट अलि तल आइपुगेपछि राजुको मामाघरतिर जाने भनेर नदी किनार छोडेर उकालो लाग्यौं। पाँच मिनेटपछि एउटा रमणीय फाँटमा आइपुगियो। खेतका गराहरुमा काटेर बाँकी रहेका धानका गाँजमात्र थिए। त्यसैले होला हिँउदे बाटो खेतको डिलमा नभई गराहरुको बिच-बिचमा थिए। वरिपरि गाईबस्तु पालेको धन्सारहरु छरपुष्ट थिए। राजुको मामाहरुको बेंसी पनि यहीं रहेछ। त्यो फाँट काटेपछि फेरि उकालो पन्ध्र मिनेट हिंडेपछि राजुको मामाघर आइपुगियो। अलि वरपट्टिको घरबाट आइपुग्दा ठिक्क नेवारी समाचार सकिएको रेडियोको आवाज कानमा पर्यो - "रेडियो नेपाल: समाचार कुचल:"। राजुको हजुरआमा ढोकाबाट निस्कनै लाग्नु भएको रहेछ, अनुहार राजुको आमासँग दुरुस्तै मिल्ने। साह्रै अप्रत्यासित रुपमा नाति आइपुगेकोले होला, हल्का हाँस्नुभयो। राजुले साथीको बिहेमा जन्ती गएर फर्केको बतायो। वहाँले मलाई इङ्कित गर्दै सोध्नुभयो - "उता बाबु को नि?" राजुले भन्यो - "साथी हो।" हुन त मैले वहाँसँग भेटेको पहिलो पल्ट थियो, तर बेलीबिस्तार लगाएर परिचय दिएको भए चिन्नुहुन्थ्यो होला। मतलब, मलाई चिन्ने भन्दा पनि कसको छोरा कसको नाति भनेर चिन्नुहुन्थ्यो। तर सानोमा अलि लजालु स्वभावको थिएँ, बोलिरहन अलि संकोच लाग्यो। एकछिन त्यत्तिकै बसेपछि, राजुका कान्छा मामा पनि आउनुभयो। मामा भनेपनि राजुभन्दा ५-७ वर्षले मात्रै जेठो, उसको साथी जस्तै हुनुहुँदो रहेछ। मामा आउन नपाउँदै राजु मोरा करायो - "ल मामा, आज म आ'छु। परेवा काट्नुपर्छ।" परेवा काट्ने काम त भएन, तर खाना भने धेरै मिठो लाग्यो। मसिनाको चामलको भातमा दाल, भात, तरकारी, अचार। एकदिनको भोक बल्ल टर्यो। राजुको हजुरआमा हामीलाई अरु एक दिन बस्नको लागि कर गर्दै हुनुहुन्थ्यो, तर मध्यान्हतिर चाहिं बाटो लागियो। अलि तल आएपछि टाढैबाट अघिल्लो दिन सँगै जन्तीहरु फर्केको देख्यौं। रुखको छेल परेकोले त्यति प्रष्ट त देखिएन, तर छाता ओढेको आधारमा चिम्से र उसकी श्रीमतीलाई चाहिं ठम्यायौं। घरमा फेरि भोज थियो क्यार, उज्यालैमा घर पुग्ने गरी हिंडेका रहेछन्। हामीहरु उनीहरुसँग नमिस्सिकनै माथिमाथिकै बाटो पक्डेर आफ्नै तालमा घर फर्क्यौं। जिन्दगीमा धेरै जन्त गइयो भन्न त सक्तिन किनभने सानै उमेरदेखि बाहिर हिंडियो। त्यसमाथि पनि आजभोलि त एकदिने बिहेको चलन र नजीकै बिहे गर्ने चलन अलि बढेको छ। तर, जे जति जन्त गइयो, ती सबै अविश्मरणीय रहे। धेरै जसो त नयाँ ठाउँ पुगेको रमाइलो मात्रै हुन्थ्यो। दिनभरि थाके पनि राम्रोसँग खान पाइन्थ्यो, आनन्दले सुत्न पाइन्थ्यो। तर, यसपालीको जन्त चाहिं बिशेष महत्वको रहयो। पहाड भेगमा जन्मेर हुर्केर पनि ती दुई दिनमा मैले कहिल्यै नदेखेका कुरा देखें, कहिले नभेटेका मानिस भेटें र लेकाली भेगको रहन-सहन आफ्नै अगाडि प्रष्ट देखें। हल्का रुपले सही, तर नेपालका साधारण जनताको हविगत बुझ्ने मौका मिल्यो। त्यसको १०-१२ हिउँदपछि, अहिले, मलाई यो सुबिधासम्पन्न विरानो मुलुकमा चौबीसै घन्टा संचार, प्रविधि, शिक्षा, स्वास्थ्य, यातायात लगायतका सबभन्दा बिकसित प्रणालीहरु सर्वसुलभ रुपमा उपोभोग गर्दा, कहिलेकाहीं यस्तो लाग्छ - त्यो दिन जन्ती गएको कुरा सपना पो थियो कि विपना नै? वा सिर्फ कुनै सप्तान्तमा हेरेको चलचित्रको दृष्य त थिएन?
Read Full Discussion Thread for this article