Posted by: gaalab July 22, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
ल नियात्राको सातौं भाग पनि पस्किदिएँ। के बासी राखिराख्ने? चिम्सेको जन्ती जाँदा - ७ लेकको ठाउँ, चिसो। थकाइ अलिकति पनि मर्न नपाउँदै पसिना ओभाएर जाडो पो हुन थाल्यो। मैले बाटोमा फुकालेको स्वीटर लगाएँ, राजुले पनि कोट लगायो। पछि जन्तीको लागि "पिउने" कुराको व्यवस्था रहेछ। अरुहरु उठेर जगियाको पल्लोपट्टि गए। श्यामे पनि गयो। म र राजु मात्रै बाँकी भयौं। यतिञ्जेलसम्म स्वयंवर सकिएर दुलही पनि घरभित्र छिरिइसकेकी थिइन्। त्यसैले भीड पनि अलि कम भएको थियो। स्थानीय भुरा-केटाकेटीहरु वरिपरि दौडिंदै खेल्दै थिए। भर्खर ८-९ वर्षका केटाहरु पनि एकअर्कामा अति अश्लील शब्दहरु प्रयोग गर्दै थिए। हाम्रो घरतिर यस्ता शब्दहरु सुनिने त कल्पना नै गर्न सकिन्नथियो। त्यसैले मलाई अलि शंकोच लागेर आयो। यसो वरिपरि हेर्नुपर्यो भनेर गुन्द्रीबाट उठ्यौं र दक्षिणतिरका डाँडाहरु हेर्न थाल्यौं। राति ९ बजे प्रष्ट त के नै पो थियो र? तैपनि, जूनको उज्यालोमा डाँडाका आकार भने राम्रै देखियो। डाँडाहरु पूर्व-पश्चिम फैलिएका र बीचका खोलाहरु (जो धेरैजसो खहरे खालका थिए) बुढीगण्डकीमा मिसिन पुगेका थिए। राति नै भएपनि यो भेगको प्राकृतिक सौन्दर्यता कुनै पोखरा र कुनै नगरकोटभन्दा कम थिएन - खाली यहाँ अभाव थियो मानवीय चेतनशीलताको, र बाहिरी संसारसँगको सम्पर्कको। हुन त बिकासको लागि करोडौं नछुट्याइएका पनि हैनन्। पृथ्वी राजमार्ग र अघि चाउचाउ खाएको आरखेतबजार जोड्ने मोटरबाटोको योजना पनि भएकै हो। तर, ५ वर्षको योजना भएपनि अँझै खासै केही उपलब्धि भएको छैन। बिचमा माओवादीहरुले पनि कच्याक-कुचुक गरे क्यारे, त्यो कुरा त्यसै थन्कियो। सुगम भेगका शिक्षकभन्दा दोब्बर तलब दिएर सरकारले पनि पहाडी भेगबाट शिक्षक खटाएकै छ। तर, खै त? बजेटमा पहुँच भएकाहरु केन्द्रतिरै पैसा तान्ने चुम्बक बोकेर बसेका छन्। शिक्षकहरु एक हप्ता स्कूल गएर एक महिनाको हाजिर गर्छन्, अँझ दुर्गम भत्ता समेत कुम्ल्याउँछन्, तै पनि कसैले औंला उठाउँदैन। मैले आफैंलाई प्रश्न गरें, यो ठाउँ एक सय वर्ष अगाडि कस्तो थियो होला? जसरी विश्लेशण गरे पनि, जनघनत्व र वनघनत्व बाहेक त्यो बेला र यो बेलामा केही फरक थिएन जस्तो लाग्यो। राजुले ३-४ डाँडा तल देखायो, "ऊ त्यो डाँडोको पल्लोपट्टि पाटोमा हो मेरो मामाघर"। हामी भएकै ठाउँनिर ८-१० वर्षको एउटा केटो हामीतिरै हेरेर उभ्भिएको थियो। निलो सर्ट र अँझ गाढा निलो कट्टु लगाएको थियो। सर्टको बटनहरु चुँडिएका थिए, त्यसैले होला कम्मरनेर सर्ट बाँधेको थियो। उसको उमेरका अरु केटाहरु दौडिंदै खेल्दै थिए तर यो केटो भने यहाँ के गरिरहेको होला जस्तो लाग्यो। हामी २ जना पनि के गर्ने के गर्ने भनेर जोकर फाल्टु भइराखेका, केही गफ गर्नु पर्यो भनेर मैले उसलाई इशारा गरेर बोलाएँ। ऊ खुरुखुरु आयो र हामीसँगै गुन्द्रीमा बस्यो। मैले उसको नाम सोधेको थिएँ तर अहिले बिर्सिसकें। उसको घर नजीकै रहेछ, अनि दुलही उसको दिदी पर्ने रहिछन्। अहिलेसम्म आरखेत बजारभन्दा टाढा गएको रहेनछ। आरखेत चाहिं महिनाको एक पटक जसो भारी बोक्न-ओर्न जाने गर्दो रहेछ। मलाई अचम्म लाग्यो, हामीलाई आफ्नै ज्यान बोकेर ल्याउन त यति हम्मे पर्यो, यो केटो भारी बोकेर आउने कुरा गर्छ। आफूले जाने बुझेको कुरा भनेको स्कूल र पढाइ मात्रै न हो! कति वर्षको रहेछ भनेर बुझुँ भनेर सोधें - "कति कक्षामा पढ्छौ?" "अहिले स्कूल जान छोड्दि'सकें।" "किन छोडेको त?" "पोहोर ३ कक्षामा थिएँ। अलिअलि लेख्न पढ्न आइहाल्यो। बाउ पनि आरखेततिर भारी बोक्न जाने, घरमा भेडा-बाख्रा चराउने मान्छे पनि छैन। त्यही भएर एक वर्षजति स्कूल गा'छैन" उसले एक सासमै उत्तर दियो। राजुले पनि थप्यो - "त्यसो भन्दैमा स्कूल छोड्ने हो त? सकेजति पढ्न पो पर्छ।" केटोले केही बोलेन। त्यति त उसले पनि बुझेको हुँदो हो। सायद, गाउँमा पहाडी भेग र शहरतिरबाट आउने "सर"हरुले पनि यस्तै कुरा गर्छन् होला। र, उसले पनि हामीलाई तिनै "सर"हरु जस्तै देख्यो कि जस्तो मानें मैले। उसको परिवारको विवशता त ती "सर"लाई भन्दा उसैलाई थाहा होला, अँझ ऊभन्दा उसको पढाइ छुटाउन बाध्य उसका बाउआमालई थाहा होला। त्यसैले मैले उसको व्यक्तिगत कुरा सोध्न छोडिदिएँ। "अनि, यतातिर तिमी जस्तै ३-४ मा पढाइ छोड्नेहरु धेरै छन् हो?" "हजुर। ५ पछि पढ्न परे आरखेत जान पर्च। ऊ, सञ्जयले चाहिं ७ कक्षासम्म पढ्या छ।" उसले जगियातिर देखाउँदै भन्यो। सञ्जय भन्ने केटो जगिया भन्दा वर एक-दुइटा केटाहरुसँग कुरा गर्दै थियो, र अन्य केटाहरुभन्दा धेरै भलाद्मी र सन्त देखिन्थ्यो। पछि उसलाई दुलहीको घरभित्रबाट बोलावट हुँदा पनि सरक्क भित्र पसेर काम गरेको देखें। कस्तो अचम्म? ७ कक्षा पढेर पनि उदाहरण बन्न पाइने। तर बुझ्नुपर्ने कुरा के पनि छ भने, हामी जन्त आएको टोल भनेको आर्थिक रुपमा विपन्न, सामाजिक रुपमा उत्पीडित, र शैक्षिक चेतना न्यून भएको ठाउँ थियो। सायद, त्यो प्रौढ पढाउनेको छोरा-छोरीहरुले भने अलि शिक्षाको अवसर पाएका होलान्। हाम्रा ठुलाबाले पनि ५-७ वर्ष अगाडि यही गाउँमा पढाउनुहुन्थ्यो। म सानै हुँदा वहाँले वार्षिक परीक्षाको उत्तरकापी चेक गरेको मैले देखेको थिएँ। गणित बिषयको सर्वोत्कृष्ट अंक नै २२ (१०० पूर्णाङ्कमा)। वहाँले टालटुल गरेर त्यो अंकलाई २९ बनाउनुभएको याद छ। सायद २९ मा ग्रेस नम्बर थपेर ३२ टेकाउने उद्देश्य थियो क्यारे! मलाई त्यो बेलामा अचम्म लागेको थियो, किनभने त्यही सालमा हाम्रो स्कूलमा भने मेरो अंक काटेर अर्कै केटोलाई प्रथम बनाइयो भन्ने हल्ला हाम्रो गाउँभरि बुईं बुईं फिंजिएको थियो। परीक्षाको अंक भनेको चाहे अनुसार थप्न र घटाउन मिल्ने कुरा रहेछ भनेर पहिलो पटक थाहा पाएको थिएँ। र, अहिले यो डाँडामा आएर मैले के महसुस गरें भने - यदि यहाँको बासिन्दाको जीवनसैली फेर्ने हो भने एउटा शसक्त क्रान्ति नै आवश्यक पर्दछ। हुन त भोक त अलिअलि लागेकै हो। तैपनि, हाम्रो कारणले असजिलो किन पार्ने भन्ने लाग्यो। त्यसैले बरु सुत्न पाए भोलि बिहानै उठेर अर्को व्यवस्था गरौंला भन्ने निष्कर्षमा हामी पुग्यौं। त्यही केटोलाई सोधेर थाहा भयो, जन्तीलाई सुत्ने व्यवस्था धन्सारमा गरिएको रहेछ। राजु र म पनि सुत्ने सुरले धन्सारको लिस्नो चढ्यौं। क्रमश:
Read Full Discussion Thread for this article