Posted by: gaalab July 22, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
ल गाम्ले हो! गफ रमाइलै गएको छ। हिजो आफ्नु "जल"पान कार्जेकरम भएकोले नियात्राको अर्को भाग पस्किन पाइन, अहिले पस्केको छु। चिम्सेको जन्ती जाँदा - ६ उकालो पनि जर्रो खालको परेछ - चर्को उकालो। करीब ७५ डिग्रीको हुँदो हो बाटो नै। ठाउँ-ठाउँमा सिंढी हालेर हिंड्नलाई सजिलो बनाएका रहेछन्। साँझ परिसकेकोले जन्तीको बाटो हेर्दै होलान् भनेर अगाडिका मान्छेहरु (विवाहका मूख्य आयोजकहरु) पाइला छिटो छिटो सार्न थाले। हामी थियौं सबभन्दा पछाडि। बिस्तारै आफ्नै सुरमा जाऔं भने पनि नौलो ठाउँ बाटो बिराइएला भन्ने डर। त्यसैले जति गोडा दुखेपनि जन्तीको सारमा हिंडिरह्यौं। हिउँदमासको बेलुकी, लेकको ठाउँ; तैपनि हिंडाइ चर्को भएकोले चिटचिट पसिना आउन थाल्यो। मैले स्वीटर फुकालें र कम्मरमा बाँधें। राजुले त अघि नै कोट हातमा बोक्न थालिसकेको थियो। हाम्रो गाउँ नदीको किनार भएकोले पहाडको बिच भएपनि सम्म परेको ठाउँ छ - उपत्यका जस्तै (सानै भएपनि)। त्यसैले त्यति चर्को उकालो हिंड्ने बानी नपरेको - यो उकालोले त अत्यायो। अहिले सम्झिंदा तारानाथ शर्मालाई घनघस्याको उकालो चढ्दा जस्तै सास्ती पर्यो, यद्यपि यहाँ हिउँ भने थिएन। लेकतिरको उकालोमा देखिने अर्को फरक कुरा - बाटोमा ढुँङ्गाहरु अलि धेरै हुने, र अलि ठुला हुने। ठाउँ ठाउँमा भीरको बाटो आउँथे। अँध्यारो भएकोले भीरको तलसम्म त देखिएन तैपनि एकचोटि लड्यो भने लड्दा-लड्दै जिब्रो टोकिने कुरामा चाहिं दुई मत थिएन। एक-डेढ घण्टा कतै पनि विश्राम नै नलिई हिंडियो होला। बीचमा थकाइले खुई-खुई चाहिं कति गरियो कति। ८०-९० मीटर जतिको चर्को उकालो काटेपछि १०-१५ मीटरको सम्म परेको बाटो आइपुग्दा अपार आनन्द आउँथ्यो। त्यतिखेर हामीहरु अनायसै कहिले सुसेली हाल्न पुग्थ्यौं भने कहिले बोलीले प्रतिकृया दिन्थ्यौं र त्यति बाटो चढेकोमा ठूलो बिजयप्राप्तिको अनुभव गर्थ्यौं। डाँडोको करीब बीचभागमा आइपुगेपछि जन्तीहरु एउटा चौतारीमा जम्मा भई बसेको देख्यौं। दुलहीको घर आइपुग्न लागेको रहेछ। राजु, म र श्यामे चौतारीको पेटीमा लखन्तरान् परेर पल्टियौं। ३-४ जना चाहिं अरुभन्दा अगाडि जान तम्सिएका थिए - सायद ती भत्केरु थिए। बाँकी केही मानिसहरु ताम्दानी मिलाउन लागे - यहाँबाट दुलाहालाई ताम्दानीमा बोकेर लाने योजना रहेछ। स्थानीय बासिन्दाहरु पनि सायद जन्ती हेर्न होला हामी भएनिर आए, र आउने क्रम जारी रहिरह्यो। मैन्टोलमा मट्टितेल थप्ने काम पनि भयो। एकछिन पछि नजीकैको टहराबाट १०-१५ जना अधवैंशे महिलाहरु निस्किएर बाटोमाथिको गरामा आए, र जन्ती हेर्न थाले। उनीहरुको बीचमा लालटिन बोकेको सेतो गञ्जी र लुङ्गी लगाएको ४०-४५ को मान्छे थियो। मैले अनुमान गरें ती महिलाहरु प्रौढ शिक्षा पढ्दै थिए र त्यो लोग्नेमान्छे चाहिं उनीहरुको शिक्षक हो। अलमल १०-१५ मिनेट भइसकेपछि, त्यो लालटिन बोकेको मान्छे अप्रत्याशित रुपमा करायो - "ए, सार्कीहो!" दुलाहाको अर्को काकाले उत्तर दिए "हजुर!" "नौ बज्न लागिसको। यो राति-उँधो किन यति ढिला गर्या हँ? यहाँ पढाइ भैराख्या छ। ल छिटो जाओ।" "हवस् हजुर।" मलाई त्यो मान्छेले त्यसरी भनेकोमा साह्रै नमज्जा लाग्यो। हाम्रो समाजमा कथित 'तल्लो जाति' भनाउँदाहरु हर दिन यसरी अनाहकमा कसरी पेलिएका रहेछन् भन्ने कुरा मैले पहिलो पल्ट अनुभव गर्दै थिएँ। जन्तीका अरु सदस्यहरुलाई दैनिक जीवनमा यो एउटा अति सामान्य कुरा थियो होला, तर मलाई भने जिन्दगीभर ठुलो छाप दिने अनौठो वचनवाण थियो। त्यो मान्छेलाई मुखभरिको जबाफ फर्काइदिन मन नभएको त हैन, तर म त्यो अवस्थामा थिइन - उमेर सानो, पराई गाउँ, त्यसमाथि पनि जन्ती जस्तो गाउँको प्रतिनिधित्व गरेर नयाँ ठाउँमा नयाँ सम्बन्ध जोडेको साक्षी जमातको एक सदस्य थिएँ। त्यो चौतारीबाट पाँच-सात मिनेटमै दुलहीको घर आइपुग्यो। तगारोबाट छिरेपछि पहिले जस्ताले छाएको धन्सार थियो। त्यसको १० मीटर जति पर ढुङ्गाले छाएको १ तले (अमेरिकन शैलीमा भन्दा २ तले) घर रहेछ। ठाउँ हेरी राम्रै परिस्थितिको घर लाग्यो। घर र धन्सारबिचमा परालको थुप्रो थियो। जन्तीहरुलाई बस्नको लागि त्यही परालको थुप्रोनिर गुन्द्रीको व्यबस्था गरिएको रहेछ। हामी पनि त्यहीं गुन्द्रीमाथि बस्यौं। पहाड ढाउँ हुनाले घर भएको गरो पनि साँघुरो, त्यसैले आँगन पनि अलि साँघुरो नै। जगियाबाट आँगनको डिलसम्म मुस्किलले २ हात जतिको ठाउँ बाँकी हुँदो हो। एकै छिनमा स्वयंवर भयो। दुलही रातो सारीमा सजिएकी थिइन्। सामान्य उचाइ थियो र शरीरको बनोट पनि ठिक्क - न साह्रै नै मोटी, न दुब्ली। हाम्रो चिम्सेसँग जोडी चाहिं राम्रै मिल्ने रहिछन्। पुरै टाउको पछ्यौरीले छोपिएकी हुनाले मुख चाहिं देख्न पाइएन। दुलहीले दुलाहाको वरिपरि कलसको पानीले घुमिन्। उनीसँगै एउटा लोग्ने मान्छे पनि दुलाहालाई परिक्रमा गर्दै थिए, सायद उनी दुलहीका बाउ थिए। स्वयंवर हेर्नेहरुको भीड बढ्दै गएकोले अरु त देख्न पाइएन। पछि भीडमा नै खासखुस सुनियो - "घडी दियो", दुलाहालाई दुलहीको बाउको तर्फबाट घडी उपहार आएको अनुमान लगायौं। क्रमश:
Read Full Discussion Thread for this article