Posted by: gaalab July 21, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
पाँचौं भाग पनि। चिम्सेको जन्ती जाँदा - ५ दुलहीको घरतिर पुग्न अँझै समय लाग्ने। त्यसमाथि पनि खानाको ब्यबस्था के कसो हुने हो थाहा छैन। बरु यतैतिर केही खाएर जान पाए पेट दह्रो हुन्छ, पीर गरिरहनु पर्दैन भन्ने लाग्यो। राजु पनि मेरो कुरामा सहमत भयो। जन्तीका अरुहरु पनि पसलमा पस्न थालेको देखेर म, राजु र श्यामे पनि नजीकैको होटल (खाना खाने ठाउँ हो। तर मुग्लिनका होटलहरुसँग चाहिं दाँज्न मिल्दैन है!) मा पसियो, र मेचमा बसियो। होटलमा यसै २५-३० की मालिक्नी रैछन्। नजीकै उनको ४-५ वर्षे छोरो तामाङ् भाषामा खै के के भन्दै पिर्दै थियो। ढोकामाथि आर्मी ड्रेसमा सज्जित २०-२२ वर्षे लक्का जवानको श्याम-श्वेत फोटो टाँगिएको थियो - सायद भारतीय सेनामा काम गर्ने उनको श्रीमान होला। हामी मेचमा बसेको देखेर मालिक्नीले उत्सुक नजरले हामीतर्फ हेरी - ऊ मुक भाषामा अर्डर माग्दै थिई। वरिपरि हेरेको एउटा ठुलो बाटुलो सिलवरको भाँडामा चना थियो। ढोकाको अर्कोपट्टि भित्ता पट्टि राखिएको -याकमा केही रारा चाउचाउ, हात्तीछाप जस्ता देखिने चप्पल, ग्लूकोज बिस्कुट, चौतारी र गैंडा चुरोटका प्याकहरु खापिएका थिए। मैले अनुमान लगाइसकें आज चाउचाउमा टार्नुपर्ने भो। हामी केहीबेर अँझै चुप देखेर साहुनीले सोधी, "बाबुहरुलाई के राखौं?" श्यामेले हाम्रो प्रतिनिधित्व गर्यो, "के के ख्वाउन सक्नुहुन्छ दिदी?" "आबु, चाउचाउ छ्या, चना छ्या, बिस्कुट छ्या। खाना खाने भे पकाउँछ केरे" एकदम तामाङ् सैलीमा उत्तर आयो। "खान मन त अरु पनि थ्यो, आज चाहिं चाउचाउ बनाउनुस् न त!" राजु मोरो दुई अर्थ लाग्ने खालका कुरा गर्न खप्पीस, बाण हानिहाल्यो। साहूनी खुसुक्क हाँसी मात्रै, अरु प्रतिकृया दिइन। ऊ उठेर स्टोभमा दम दिन थाली। एकछिन पछि स्टोभको आगोले कोठा अलि उज्यालो भयो। उसले ३ पोका रारा चाउचाउ फोरी र तताउन राखेको पानीमा हाली। हामी तीनै जना चाउचाउ कहिले पाक्ला भनेर स्टोभतिरै आँखा लगाउँदै थियौं। राजुको धैर्य टुटेछ, भन्यो - "हैन, चाउचाउ त २ मिनेटमा पाक्छ भनेर एब्रोटाइज (विज्ञापन - एड्भर्टाइज) आउँथ्यो, खै त ३ मिनेट हुँदा पनि पाकेन!" "एउटा चाउचाउ पाक्न २ मिनेट लागेपछि, ३ वटा पाक्न ६ मिनेट लाग्दैन त? एकछिन अँझै पर्खी।" मैले जवाफ फर्काइदिएँ; हामी तीनै जना गलल हाँस्न थाल्यौं। साहुनी पनि गफ बुझेर हो या हामी हाँसेको देखेर हो, मुस्काई। तर मलाई पनि केही खाइहाल्न पाए हुन्थ्यो भन्ने लागेको थियो, नजिकैको सिलवरको भाँडोतिर इशारा गर्दै भनें - "चना खाने त केटा हो?" दुवै जनाले मुन्टो हल्लाए। साहुनीले ३ वटा प्लेटमा चना चुली लगाएर हामीसम्म ल्याइदिई। चना रैछ चिसो न चिसो। बिहान (हो कि, अँझ अघिल्लो दिन) कतिखेर बनाएर राखेको हुँदो हो। खाइनसक्नु रहेछ। फेरि पिरो पनि कति हाल्नु परेको? हामी चना खाँदैथियौं कि खुर्सानी खाँदै थियौं छुट्याउनै गहारो। अरु बेला भएको भए दोश्रो चम्चा पनि मुखमा पर्न सक्तैन थियो होला, आज चाहिं तीनै जना जिब्रो हाहू गर्दै चुपचाप खान थाल्यौं। साहूनी पहाडीभेगबाट लेकतिर आउनेहरुले खाएको देखेर अभ्यस्त भैसकेकि थिई होला, अघि नै एक लोटा पानी टेबलमा राखिदिइसकेकी थिई। पानी खानेमा पहिलो म थिएँ। पानी खाउँञ्जेल त जिब्रोलाई एक किसिमको राहत हुन्थ्यो, तर निल्ने बित्तिकै झन् बढ्ता पोल्ने। एकछिन पछि चाउचाउ खान पनि हम्मे भयो। अघि नै चनाको पिरोले जिब्रो खुइलिसकेको, तातो चाउचाउले त झन् पोल्ने। चम्चामा चाउचाउ राख्यो, पेटले ले ले भन्छ जिब्रोले नले नले भन्छ, के गर्नु? फेरि चाउचाउ पनि कति वर्ष पहिले बनेको हो, ओस्सिएको रहेछ। तैपनि पटापट खाइयो। हिंड्नेबेलामा राजुले एउटा भेडाको नोट बुझायो, साहुनीले याक भएको रातो नोट फिर्ता दिई। "यस्तो ठाउँमा पनि यति खानाको ४५?" राजु अलिअलि बकबक गर्दै थियो। पसलबाट निस्केको जन्तीहरु नजीकैको चौतारीको पेटीमा बसिरहेका रहेछन्। बिहेको दिनमा दुलाहा चौतारीमा बस्न हुँदैन भन्ने भनाइ छ; त्यसैले चिम्से चाहिं छाता ओढेर उभिइरहेको थियो। कस्तो बिडम्बना! बिहेको दिनमा सबभन्दा सास्ती दुलाहालाई। सबैजना हामी ३ भाइ र शिरेदाइलाई कुरेर बसेका रहेछन्। एकछिन पछि शिरेदाइ पनि आए। उनको त्यहाँ चिन्ने मान्छेको पसल रहेछ, त्यतै चिया-सिया खान भनेर लागेका रहेछन्। नभन्दै चिया मात्रै हैन, "सिया" पनि खान भ्याएछन् - उनको हिंडाइ नै प्रमाण थियो। यतिञ्जेल हामीहरु बुढीगण्डकीको तिर-तिरै आएका थियौं। आरखेतबाट चाहिं उकालो लाग्नुपर्ने रहेछ २ घन्टा जति। यो उकालो लाग्ने डाँडो नै थुमीको डाँडो रहेछ - चिम्सेको ससुराली डाँडो। करीब सात बजेको हुँदो हो त्यहाँबाट हिंड्दा। दुलहाका बाउले कताबाट एउटा मैन्टोलको ब्यबस्था गरेका रहेछन्। मैन्टोलको उज्यालोमा चिम्से र ऊ नजीकैका मान्छेहरु हिँडे। हामी जन्तीको सबभन्दा पछाडि थियौं, जुनको उज्यालोको साहरामा लुख्रुलुख्रु उकालो लाग्यौं। क्रमश:
Read Full Discussion Thread for this article