Posted by: gaalab July 21, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
चौतारी नयाँ भए पनि नियात्रा चाहिं पहिलेको नै हो। चौथो भाग सुम्पिएको छु। अहिलेसम्मको प्रतिकृयाको लागि धन्यबाद। अरु प्रतिकृयाको आशमा। --- गालब चिम्सेको जन्ती जाँदा - ४ हामी निरन्तर बुढीगण्डकीको किनार किनारै उत्तर दिशातर्फ हिंडिआएको हौं। यो नदीसँग मेरो गहिरो आत्मीयता छ। पहिलो त गाउँको छेउबाट बग्ने हुनाले जिल्ला बाहिर जाँदा मेरो परिचयसँग बुढीगण्डकी पनि गाँसिएको हुन्छ - नेपालीले बिदेशमा सगरमाथाको परिचय दिए जस्तै। दोश्रो, हिउँदमा पौडिने ठाउँ भयो। हुन त घरमा नदीमा पौडिन गएको थाहा पाए बेस्सरी गाली खाइन्थ्यो, पछि पछि त्यो पनि साम्य हुन थाल्यो। कुनै नदीको भेल देख्नेबित्तिकै म आफूलाई त्यो भेलमाथि पौडिरहेको कल्पना गर्न पुग्छु र नदी पार गरेपछि कुन ठाउँमा पुगिन्छ भनेर मनमनै हिसाब गर्न थाल्छु। हाम्रो गाउँमा (२-३ कोश तल) भन्दा यहाँ नदीको पानी निकै कम थियो - ढुङ्गा ढुङ्गा फड्केर पनि अर्को तिरमा पुग्न सकिएला जस्तो। नदीको बगरको बाटो हिंड्दा एक किसिमको आनन्द आउँथ्यो - तल एकनासले स्वाँ गरेको नदी, हिंडाइको पसिना पखेल्ने शीतल बतास। कतै बालुवामा हिंड्नुपर्थ्यो भने कतै ढुङ्गै ढुङ्गामाथि फड्किनु पर्थ्यो। नदीको धादिङ्पट्टि एउटा खहरे खोला मिस्सिएको दोभान थियो। त्यो खोला पनि कस्तो ठाडो भने, त्यसलाई खोलाको सट्टा छहरा भने उपयुक्त हुने। हिउँद भएकोले त्यस खोलामा पानी भने कमै थियो, तर त्यसले वर्षायाममा ल्याएको अजंगका ढुङ्गा-मुढाहरु यत्र-तत्र थिए। खोलाको दुबैपट्टिका किनारका आलो पहिरोले हालसालको वर्षायामले भीषण क्षति पुर्याएको प्रमाण दिन्थ्यो। साढे ४ बजेतिर २-४ वटा चिया-चमेना खाने झुपडी पसलहरु अवस्थित एउटा रमणीय चौरमा आइपुगियो। सायद सुनौलो बजार भन्छन् क्यारे। हाम्रोतिर पनि नदीकिनारमा यस्तै चौर छ। तर १०-१२ अगाडि नै खयर र सिसौ लगाएर अहिले त एक किसिमको झाडी भैसकेको छ - हाम्रातिरका जान्ने सुन्नेले "बगर खाली राख्नुभन्दा यसो खयर र सिसौ हुर्काऔं। खयर-सिसौ महँगो दाममा पनि बिक्छन्। गाउँमा उस्तै परेको बेलामा केही आम्दानी पनि हुन्छ" भनेर बृक्षारोपण गर्न लगाएका रे! खै त्यो सिसौ र खयर घारीले गाउँलाई के कत्ति फाइदा गरेको छ (शोभा चाहिं दिएको छ है), तर हामीलाई चाहिं कल्ब्रेक र म्यारिज खेल्नका लागि भनेजस्तो ठाउँ दिएको छ। तर खयरघारीमा चाहिं खयरका काँडा बिझ्ने डरले त्यति जाँदैनथ्यौं। हामी जति उत्तरतिर लाग्यौं त्यति नै बयरघारी र सिमलका रुख बढी देखिन्थे। अहिले आइपुगेको चौरमा गोठालाहरु बाख्रा र गाई चराउँदै थिए। गाइबस्तु घर फर्काउने बेला भएपनि जन्ती र दुलाहा हेर्नको लागि होला (हो कि, म जस्तो हिरो आएको देखेर हो!!) ‍‍हामीलाई कुर्दै थिए। हामी आरखेत बजार पुग्दा ६ बज्न लागेको थियो। हिउँदका दिन छोटा, झमक्कै साँझ परिसकेको थियो। आरखेत बजार भनेको दुर्गम क्षेत्र र "सुगम" क्षेत्र बिचको केन्द्र हो। अन्नपूर्ण क्षेत्रमा ट्रेकिङ् जानेहरु पोखरामा बास बसेजस्तै, गोरखा-धादिङ्का दुर्गम भेगमा जानेहरुका लागि रात बस्ने "स्टप" हो आरखेत बजार। आरुघाटभन्दा सानो र पिछडिएको भए पनि यो भेगका मानिसका लागि महत्वपूर्ण आर्थिक र सामाजिक केन्द्र हो। धेरैजसा पसलका छानाहरु खर वा कटुसका पातले बनेका हुनाले बजारको नाम "स्यौली बजार" राखेमा बढी उपयुक्त हुन्थ्यो होला। यो युगमा पनि बिजुली बत्ती नपाएर आरखेत बजार तर्साउने भूतघरहरुको बस्ती जस्तै देखिन्थ्यो। लालटिन, मैन्टोल र टुकीको बत्तीमा पसले-पसल्नीहरु ग्राहकको सेवामा तल्लीन थिए। बिहानदेखि खाना नखाएको हुनाले निकै भोक लागिसकेको थियो। राजुलाई हेरेको ऊ पनि निन्याउरो मुख लगाउँदै थियो। घरमा भएको भए बिचमा दुई पटक खाजा खाएर पनि बेलुकीको खाना खाने बेला भएको हुन्थ्यो होला। हिंड्न पनि ५ घन्टामा ५ कोश बाटो हिंडिसकेका थियौं नि त! क्रमश:
Read Full Discussion Thread for this article