Posted by: Jawala July 6, 2006
Some Interesting Articles
Login in to Rate this Post:     0       ?        
मोरिआर्टी, सूबथा र पुच्छरहरू खगेन्द्र संग्रौला वर्षअघि मैले संसदलाई 'बङ्गुरालय' भनेको सम्झन्छु । त्यसो भन्नुका पछिल्तिर उचित र यथेष्ट कारण थिए । माननीय भनिने सांसद जनतासँग भोट माग्दा आफूले बाचा गरेका सिद्धान्त र आदर्शबाट च्युत भएको थियो । ऊ त्यागी जनसेवी हुनुको सट्टा लम्पट, भोगी हुँदै थियो । सत्ता, पैसा र विलासका लागि एउटा सांसद अर्को सांसदलाई किन्दै थियो । सोचेँ, वैचारिक र नैतिक दृष्टिले हाम्रो सांसद टुप्पीदेखि पैतालासम्म सड्यो । त्यसैले शब्दको भाने मुङग्रो उजाएर मैले दिएँ दह्रो दनक — बङ्गुरतुल्य जीवहरूको यो भीड खसोखास बङ्गुरालय हो । पवित्र संसदलाई तैँले अपवित्र शब्दले किन पुकारिस् भनेर बङ्गुरालयका बेतनभोगी प्रवक्ताहरू ममाथि खनिए । प्रत्युत्तरमा इतिहासका पण्डित प्रत्यूष वन्तले मधुर मुस्कानसाथ भने — कुरा ठीकै हो, एउटा सही शब्द सही ठाउँमा पर्‍यो ! दुर्भाग्यवश, संसदमा फेरि बङ्गुरालयको प्रेत बौरिएको प्रतीत हुन्छ । बौराउने प्रेरक अमेरिकी सरकारका दूत महामहिम मोरिआर्टी हुन् । उनै मोरिआर्टी जसले कुनै बेला 'सकारात्मक सङ्केत'को हरियो घाँस देखाएर हाम्रा कतिपय लोभी नेतालाई आन्दोलनको डबलीबाट थुतेर दरबार छिराएका थिए । उनै मोरिआर्टी जसले हाम्रो आशाको दीप बाह्रबुँदे समझदारीलाई खरानीमा परिणत गर्न त्यसमा आगो झोँसेका थिए । उनै मोरिआर्टी जसले नेपाली नागरिकलाई निरङ्कुश राजतन्त्रको सडेगलेको शव बोकाइराख्न घरिघरि गर्नु नगर्नु अनर्थ गरेका थिए । उनै मोरिआर्टी जो अहिले आठबुँदे समझदारीलाई नष्ट गर्न र नेपाललाई अफगानिस्तान र इराकको रक्तरञ्जित बाटोतिर डोर्‍याउन रूद्रघण्टी हल्लाउँदै मैदानमा उत्रेका छन् । नेपाली लोकतन्त्रको मिर्मिरे उज्यालो देखिनसहने मोरिआर्टीले ध्वाँसको भाकामा भने, माओवादी हतियार नत्यागी अन्तरिम सरकारमा घुस्यो भने अमेरिकाले नेपाललाई चुनदाम पैसो दिनेछैन । मालिकको दिव्य वचन सुनेर निजहजुरका अनन्य अनुयायी महापञ्च सूर्यबहादुर थापा हौसिए । तिनको रातो अनुहार झनै रातो भयो । तिनको सदाबहार हुङ्कारमा पाइन चढ्यो । बेलायती बैठकमा उत्तेजक हाउभाउसाथ ती जुरुक्क उठे । अनि आनन्दमय मुद्रामा आफूले रचेको छिन्ताङ हत्याकाण्डको सम्झना गर्दै ती कुर्लिए, सात दलका नेताहरू निरङ्कुश हुन् । प्रतिनिधिसभा यिनका बाउको बिर्ता होइन । बरु म मर्छु, प्रतिनिधिसभा भङ्ग गर्न दिन्नँ । यो सभा मेरो सानदार गाँस, बास र कपास तीनैथोकको मुहुनीमय मुहान हो । शान्ति नआए खाँचैसिती ! सिङ्गो बेलायती बैठक हल्लिने गरी थपडीका पर्रा छुटे । मिहिन दृष्टिले हेरेँ, थपडी बजाउनेहरूका टाउका छैनन् । न त तिनका देह नै छन् । ती त केवल पुच्छरमात्र छन् । उता मोरिआर्टीका पुच्छररूपी सूबथा फिँज काड्दै र पाखुरो बटार्दै प्रतिगामी भाषण ठोकिरहेका छन् । यता थापारूपी पुच्छरका पुच्छरहरू मच्चिमच्चिकन ताली बजाइरहेका छन् । ताली बजाउने पुच्छरहरूको भीडमा बल्खु मुख्यालयका 'लाल सलाम'हरू पनि छन्, सानेपा मुख्यालयका 'जय नेपाल'हरू पनि छन् । वास्तवमा यी 'लाल सलाम' र 'जय नेपाल'का विकृत सन्तान हुन् । यी फगत प्रतिगामी पुच्छरका पुच्छरमात्र हुन् । उता आठबुँदे समझदारीमा ठूला दलका दुई शिखरपुरुष गिरिजाबाबु र माधवबाबुको सही गिरेको छ । यता संसदमा माननीयको पगरी गुथेका तिनका कार्यकर्ता सूबथालाई सलाम ठोक्दै आपmनै नेताको अखण्ड निन्दा गरिरहेछन् । थापाको युद्धमुखी लोलीमा आपmनो काइँकुत्ते बोली मिलाउँदै यी भन्दा छन्, बरु म मर्छु, प्रतिनिधिसभा भङ्ग गर्न दिन्नँ । यो सभा मेरो सानदार गाँस, बास र कपास तीनैथोकको मुहुनीमय मुहान हो । न्याय र शान्ति नभए खाँचैसिती ! हो, यो बङ्गुरालय हो । जनबोलीमा '...लाईभन्दा देख्नेलाई लाज' भनेको यही हो । More: - http://www.kantipuronline.com/kolnepalinews.php?&nid=78782
Read Full Discussion Thread for this article