Posted by: Ignitor June 12, 2006
Prachanda KTV interview - Video
Login in to Rate this Post:     0       ?        
मदन भण्डारीको बाटोमा प्रचण्ड जितेन्द्र देव मदन भण्डारीको बहुदलीय जनवादबारे माओवादी अध्यक्ष प्रचण्डको सानो टिप्पणी आउँदा नेपाली कम्युनिस्ट राजनीतिमा तरंग पैदा हुन पुगेको छ । कमरेड प्रचण्डले केही दिनअगाडि बुटवलको एउटा एफएम रेडियो अन्तर्वार्तामा नेपाली राजनीतिबारे आफ्नो दृष्टिकोणको व्याख्या र विश्लेषण गरिरहँदा मदन भण्डारीको अगुवाइमा प्रतिपादन 'बहुदलीय जनवाद' को सिद्धान्तबारे समेत आफ्नो दृष्टिकोण व्यक्त गरेको विभिन्न पत्र-पत्रिकाले सम्प्रेषण गरे । मदन भण्डारीसँग टेलिफोनमा कुराकानी भएको र भेट्ने कुरासमेत टुंगो लागेको तथ्य सार्वजनिक गर्दै कमरेड प्रचण्डले निचोडमा 'बहुदलीय जनवाद' को क्रान्तिकारी धारलाई अघि बढाउनेसमेत उद्घोष गरे । यसो हुनासाथ एमालेका धेरै साथीहरूले भन्नुभयो— 'कमरेड अब के हुन्छ ?' पार्टी नेतासँग फोन गरी 'कमरेड अब एमालेको के स्थिति हुन्छ ?' भन्दै गम्भीर चिन्ता र चुनौतीका भाव जाहेर गरे । अध्यक्ष प्रचण्डको भनाइ अत्यन्त लाक्षणिक तथा सांकेतिक छ । नेपाली कम्युनिस्ट र ठोसरूपमा एमालेको राजनीति तथा संगठनमा यसले दूरगामी असर पार्ने कुरामा विवाद हुन सक्दैन । बहुदलीय जनवादको राजनीतिक सिद्धान्तलाई मदन भण्डारीको नेतृत्वमा एमालेले विधिवतरूपमा ०४९ सालको माघमा सम्पन्न पाँचौं महाधिवेशनदेखि अख्तियार गरेको थियो जो अद्यापि कायम छ । एमालेभित्र यो विचार प्रतिपादन र संस्थागत हुँदा पार्टी ऐतिहासिक रूपमा हिंसात्मक आन्दोलनलाई, उग्रपन्थी विचार र भूमिगत जीवनलाई परित्याग गरेको स्थिति थियो । अन्तर्राष्ट्रिय रूपमा सोभियत मोडेल समाजवाद पराजयको परिस्थितिमा थियो । आज माओवादी अध्यक्ष प्रचण्डले 'बहुदलीय जनवाद' को कुरा गरिरहँदा माओवादी पार्टीले समेत हिंसात्मक आन्दोलन परित्याग गर्न खोजेको छ । उग्रवामपन्थीवाद र भूमिगत जीवन परित्याग गर्न, आफ्नो पार्टीलाई पूर्णरूपमा शान्तिपूर्ण जनआन्दोलनको राजनीतिक बाटोमा हिँडाउन खोजेको छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा 'बहुदलीय जनवाद' को राजनीतिक सिद्धान्त आमरूपमा स्वीकार्य बन्दै गएको यथार्थ विद्यमान छ । अर्थात् परिस्थिति समानता देखिएको छ । आजको परिस्थितिमा कमरेड प्रचण्डले 'बहुदलीय जनवाद' को जुन कुरा उठाउनुभएको छ त्यो आफैंमा साह्रै लाक्षणिक र प्रतिकारात्मक छ । यसमा एमाले आमपंक्तिमा तरंग सञ्चार र कौतुहलता तथा चिन्ता प्रकट हुनु नितान्त स्वाभाविक छ । सारांशमा हेरौं, मदन भण्डारीको बहुदलीय जनवादले नयाँ जनवादी कार्यक्रमको सिंगो चरणमा यसको सैद्धान्तिक, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, विदेश नीति र संघर्षको रूपबारे के नयाँ कुरा दियो र त्यो किन सही ठहरियो । सैद्धान्तिक क्षेत्रमा बहुदलीय जनवादको सबभन्दा प्रखर र विशिष्ट पक्ष यसले नयाँ जनवादी चरणमा बहुदलीय प्रतिस्पर्धाको राजनीतिक सिद्धान्तलाई स्वीकार गरी नयाँ जनवादी चरणको वर्गीय यथार्थलाई स्वीकार गर्‍यो । वर्गीय समाज विद्यमान रहेसम्म विभिन्न वर्गको छुट्टाछुट्टै पार्टी रहनसक्ने यथार्थलाई स्वीकार गर्‍यो, जो पुरानो मान्यताभन्दा विलकुल भिन्न थियो । त्यस्तै राजनीतिक क्षेत्रमा बहुदलीय जनवादको प्रमुख विशेषता नै यसले नयाँ जनवादी चरणमा समेत कम्युनिस्ट पार्टीलाई बहुदलीय प्रतिस्पर्धामा लैजाने चुनौतीलाई सामना गर्न तयार भयो अर्थात् कम्युनिस्ट पार्टीलाई 'बाइ द पिपुल, टु, द पिपुल र फर द पिपुल' को अवधारणामा रूपान्तरण गर्ने काम गर्‍यो । आर्थिक क्षेत्रमा चिनियाँ मोडेलको 'ग्रेट लिप' अवधारणा परित्याग गरी नयाँ जनवादी चरणलाई सामन्तवाद र साम्राज्यवादविरोधि कार्यक्रम कडाइसाथ लागू गर्ने क्रान्तिको, सुदृढीकरणको र समाजवादमा प्रवेश गर्ने गरी तीन चरणमा परिभाषित गर्ने काम गरेर आर्थिक क्षेत्रमा कम्युनिस्ट नेतृत्वबीच विद्यमान उग्रपन्थी चिन्तनमाथि नियन्त्रण गर्‍यो । त्यस्तै सामाजिक-सांस्कृतिक क्षेत्रको साथै पार्टीको संगठनात्मक क्षेत्रमा समावेशी र प्रजातान्त्रिक पुनर्संरचनाको मान्यतालाई स्थापित गर्नै साहस गरी बहुदलीय जनवादले सिंगो राज्य र पार्टी संरचनालाई समावेशी र राष्ट्रिय स्वरूपको बनाउने कुरामा अत्यधिक जोड दियो । त्यस्तै विदेश नीतिको सन्दर्भमा 'प्रगतिशील राष्ट्रवाद' को नयाँ अवधारणा ल्याएर नेपाली कम्युनिस्ट आन्दोलनमा विद्यमान अन्ध भारतविरोध र अन्ध चीन समर्थनको अदबन्दवादी, अवस्तुवादी विचारमाथि निर्मम प्रहार गर्दै दुई छिमेकीलाई गुण र दोषको आधारमा हेर्ने नयाँ नीतिको प्रतिपादन बहुदलीय जनवादले गर्‍यो । त्यस्तै कम्युनिस्ट पार्टीले अख्तियार गर्ने संघर्षको रूपको सन्दर्भमा एउटा युगान्तकारी व्याख्या दिन सफल रह्यो । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा जहिले पनि दुईवटा अतिवाद हाबी रह्यो र नेपाली कम्युनिस्ट आन्दोलन पनि सधैँ त्यसको नक्कल गर्नमा व्यस्त रह्यो । तर मदन भण्डारीको बहुदलीय जनवादले संघर्षको रूपको सन्दर्भमा नेपाली मौलिकतालाई यथार्थ र वस्तुसंगत ढंगले विश्लेषण गर्दै आमरूपमा शान्तिपूर्ण जनआन्दोलनको नीतिलाई अख्तियार गर्‍यो । समाजको क्रान्तिकारी रूपान्तरण र फड्कोका लागि जनविद्रोहको बाटोलाई कडाइसाथ अवलम्बन गर्दै कमसेकम न्यूनतम स्तरसम्मको हिंसा र यी दुवैको फ्युजनको सिद्धान्तलाई गर्भाधान गराउने काम गर्‍यो । . . . Contd. Source: - http://www.kantipuronline.com/kolnepalinews.php?&nid=76360
Read Full Discussion Thread for this article