Posted by: rhishi May 7, 2006
लोकतान्त्रिक कविता !
Login in to Rate this Post:     0       ?        
नेता हो ! खबरदार !! जाली त्यो दरवारको छतमुनी षड्यन्त्र नाना थरी बुन्दै, हे जन हो ! कयूँ सतक ता बिते गए सत्वरी । जन्मे नृप अनेक राज - कुलमा रैती त भोकै रहे स्वामी भै जनको लुटे मुलुकको बैभभ्य सारा हरे ॥ मिथ्या ती बहुतै गरी सपथ औ आशा जगाई कन सत्तामा पहुचीं तिनै जनकले खोसेर सोसे तन कैल्यै माड अहो मिलेन ! जगका भोका ता भोकै रहे नांगा कामिरहे मिलेन कपडा स्वामी धनी भै रहे ॥ बच्चा के बिधवा, बुढा, युवक या आशक्त प्रजा सब- बग्थे श्रमिकका पसानी तर ती लागे उँभो नै कब ? रोटी औ कपडा र वास - थलको जोहो हुँदा मुश्किल निर्धा हेरु जली रहे सबल ता मोटाउँथे हर् ‌पल ॥ त्यस्तो ब्याल परम्‍परा मुलुकको च्यातेर फालीकन लक्ष्य त्यो अब ता समान हकको चौतर्फि फैंलाउँन कालो बादल त्यो अचेत - पनको च्यातेर मिल्काउँदै फाँडी घोर – घना बिषाक्त जगको दुर्मेष पन्छ्‌याउँदै- ब्युँझे ती जनता लिई सलिल झैं सैलाव इन्क्लावको मन्त्र - क्रान्ति लिएर, शान्ति पथमा सातो हरे भ्रान्तको ॥ मौका एक अमोल आज अहिले मिल्दो भयो सिर्जन जन्ताको बलमा अहो ! मुलुक यो सद्‌मार्गमा लम्कन ॥ नेता हो ! अब लौ ! लिईकन छिटै संकल्प उन्नतिको त्यागी मोह सबै मतान्ध नबनी, फड्को नया युगको मार्नै पर्दछ आज ! यत्ति तिमिले बुझ्नै सकेनौं भने लक्ष्य त्यो जन - तन्त्र ! भेदन यदी गर्नै सकेनौ भने- कालो त्यो इतिहासको सगरमा, बुझ्यौ ! खल-पात्र भै- कोरिन्छौ । जनको महा - सकटको गाली हुनेछौ कठै ॥ भन्नेछन्‌ नव सन्तती सब यहाँ नेता नपुंशक्‌ थिए जन्ता कै बलमा बढे तर पनि धोका तिनैले दिए ॥ अस्तु ॥
Read Full Discussion Thread for this article