Posted by: mampaka April 30, 2006
युवराजको गाडीले ठक्कर
Login in to Rate this Post:     0       ?        
काठमाडौं, वैशाख १६ - युवराज पारस आफैंले चलाएको गाडीले शनिबार चाबहिलनजिकै बिहेको जन्तीबसलाई ठक्कर दिएपछि सबै जन्तीलाई प्रहरीले थुनेको छ । प्रहरीले नियन्त्रणमा लिएको शुभविवाह लेखिएको बसभित्र र छतमा गरी करिब ६० जना थिए । साँझ सवा छ बजे ठक्कर दिएलगत्तै युवराज सवार गाडी चाबहिल हुँदै महाराजगन्जतर्फ हुइँकिएको थियो । ठक्कर लागेको ना३ख ६४ नम्बरको जन्ती सवार बसलाई भने तत्कालै पिछा गर्दै गुडेका सैनिक प्रहरीको निर्देशनमा गौशाला वडा प्रहरी कार्यालय परिसरमा थुनिएको थियो । बेहुलाबेहुली भने छुट्टै कारमा थिए । जन्तीहरूका अनुसार ठक्कर दिने गाडीको चालक सिटमा युवराज पारस थिए । गौशाला प्रहरी कार्यालय परिसरमा जन्तीले एकसाथ 'ठक्कर दिएर उल्टै थुन्ने' भन्दै विरोध गरेपछि आइतबार बिहान आठ बजे गाडीसहित उपस्थित हुने सर्तमा ४५ मिनेटपछि सबै कागजपत्र राखेर कागज गराई छाडिदिएका थिए । दुलही भित्र्याउने मुहूर्तका सबै कार्य एक घन्टा ढिलो हुन पुगेको परिवारले जनाएको छ । सम्बन्धित प्रहरी अधिकृतका अनुसार राजदरबारस्थित सैनिक प्रहरीको आदेशमा आइतबार उपस्थित हुने गरी गाडी छाडिएको हो । बेहुला ललितपुर निवासी हृदयराम पोखरेलका भाइ रविनले कान्तिपुरसँग भने- 'युवराजको सवारी हुँदैछ भन्ने हामीलाई सूचना थियो, त्यसैअनुसार हाम्रो गाडी छेउ लागेर गुडिरहेको थियो ।' त्यसैक्रममा युवराजाधिराजको अगुवा गाडी अगाडि निस्किएको मात्रै थियो, बीचको युवराज सवार गाडीले अकस्मात जन्तीबसलाई हान्यो । 'र, रोक्दै नरोकी अगाडि बढ्यो,' उनले भने । उनका अनुसार बसको साइडलाइट र बम्पर क्षतिग्रस्त भएको छ भने युवराजले चलाएको गाडीको हि्वलकभर बाटोमै झरेको छ । दुवै गाडीका कसैलाई केही नभएको प्रहरीले जनाएको छ । उपत्यका ट्राफिक प्रहरी प्रमुख केबी रानाले भने युवराजाधिराजले चलाएका गाडीले ठक्कर दिएको नभई सुरक्षा दिने गाडीले जन्ती सवार बसलाई छोएको दाबी गरे । सम्बन्धित सुरक्षा अधिकारीका अनुसार गोकर्णस्थित सफारी पार्कबाट गल्फ खेलेर युवराज र्फकंदै थिए । जन्ती काठमाडौंको सुन्दरीजल नजिकैको सुनताखानदेखि दुलही लिएर ललितपुरको लामाटार र्फकंदै थियो । 'विवाह र मलामीजस्तो कार्यका लागि राजाले पनि बाटो छाड्नुपर्छ भन्ने हाम्रो चलन छ,' रविनले भने- 'हामीले बाटो छोडेर हिँड्दाहिँड्दै उल्टै हामीलाई हानेर प्रहरी कार्यालयमा थुन्नु अत्याचार हो ।'
Read Full Discussion Thread for this article