Posted by: nepalisajha.com April 12, 2006
SEVEN PARTY OUT FROM THE COUNTRY........
Login in to Rate this Post:     0       ?        
हालैमात्र सञ्चार राज्यमन्त्री श्रीशशम्शेर राणाले "सुराकी पत्रकार" देवेन्द्र गौतम, गैरपत्रकार रामहरि चौलागाईं र रिपोर्टर्स क्लब नामको पसल थापेर बसेका ऋषि धमला लगायतका "राजा र राजमुकुटप्रति प्रतिबद्ध" पत्रकारहरूलाई जनही ४-४ लाख रुपैयाँ बाँडेका छन्। राज्यकोषको यस्तो दुरुपयोगको सर्वत्र विरोध भइरहेको छ। मुलुकमा लोकतन्त्र स्थापना नभएसम्म यस्तो "लुटतन्त्र" कायम हुने देखेर राष्ट्र बैंकका कर्मचारी आन्दोलित भएका छन् र ढुकुटी बन्द भएको छ। तर शाही नेपाली सेना र प्रहरीहरूलाई तलब खुवाउन माथिल्लो स्तरका कर्मचारी आफैँ गएर ढुकुटी खोल्ने गरेको टीठलाग्दो दृश्य देखिन थालेको छ। "फुटनीति" चाहिं निरंकुश सत्ताको पुरानो शैली हो। अरू कुनै उपाय काम नलागेपछि आन्दोलनकारी शक्तिमा फुट ल्याएर उनीहरूलाई कमजोर बनाउने शैली पुरानै हो। तर अब यस्तो शैली कामै नलाग्ने भएको छ। तापनि शाही सत्ताले "फुटनीति" लाई छाडेको छैन र आन्दोलन चरम उत्कर्षमा पुगेको बेलामा पनि "गिरिजाप्रसाद कोइराला र प्रचण्डबीच विवाद चर्किएको, कोइरालाले राजासँग भित्रभित्र वार्ता गरिरहेको, दरबार संसद् पुनर्स्थापनामा लागेको, माओवादीले सात दलको आन्दोलन बिथोल्ने कोसिस गरिरहेको" जस्ता हल्लाहरू चलाइरहेको छ। यस्ता हल्लाहरू सात दलभित्रैका "घुसपैठिया" हरूले चलाइरहेका छन्। तर यस्ता हल्ला चलाएर सात दल र माओवादीबीच फुट, अविश्वास र शंका उत्पन्न गराउन खोज्नेहरूले के बुझ्नु जरुरी छ भने जनता सडकमा आइसकेका छन्। अब कोइराला, प्रचण्ड, महरा वा बोहराले बीचमा कुनै सम्झौता गर्दैमा जनताले मान्नेवाला छैनन्। गगन थापा, खिमलाल भट्टराई र किशोरसिंह राठौर जस्ता सशक्त युवा नेता तथा कार्यकर्ताहरूलाई छातिमा गोलि थाप्न सडकतिर पठाएर कोठामा रसरमाइलो गर्दै बस्ने पेशाधारी ठालू नेताहरूले भन्दैमा आन्दोलनको उभार थामिनेवाला छैन। चिकित्सक, कर्मचारी, वकिल, पत्रकार र सम्पूर्ण पेशाकर्मीहरू नेताहरूको मुख हेरेर आन्दोलनमा उत्रिएका पटक्कै होइनन्। परिवर्तन २ करोड ५० लाख नेपाली जनतालाई चाहिएको हो। त्यसैले खड्ग ओलीको बोली र कमल थापाको गोलीले आन्दोलनको ज्वारलाई रौं पनि हल्लाउने छैन। हो, कुनै पनि सत्ताले जब झुठ, लुट, चुट र फुटको सहारा लिन थाल्छ, तब ठान्नुपर्छ, त्यो सत्ता चाँडै नै ढल्दैछ। सत्तामा बस्ने नैतिक, चारित्रिक, सहज र स्वीकृत आधार नभएको शाही सत्ताले पनि यही चार कुराको सहारा लिइरहेको छ। त्यसैले शाही नेपाली सेनाका पूर्वसहायक रथी शाहको ठहर छ, "वर्तमान सत्ताको आयु अब धेरै छैन।" सेनामा लामो अनुभव हासिल गरेका शाहको भनाइमा वर्तमान सत्ता अब चाँडै ढल्दैछ र मुलुक नयाँ संविधान निर्माणको चरणमा प्रवेश गर्दैछ। "वर्तमान सत्ताको आयु अब घटीमा १५ दिन र बढीमा एक महिना मात्र छ। एक महिनाभित्र मुलुक नयाँ संविधान निर्माणको चरणमा प्रवेश गर्ने छ।" लेखक देशान्तर साप्ताहिकका सहसम्पादक हुन्। सौजन्यः घटना र विचार।
Read Full Discussion Thread for this article