Posted by: nepalisajha.com April 12, 2006
SEVEN PARTY OUT FROM THE COUNTRY........
Login in to Rate this Post:     0       ?        
शाही सत्ताको आयु अब महिनादिनमात्रै कुसुम भट्टराई, ३० चैत २०६२, काठमाडौं "एक महिनाभित्र शाही सत्ता ढल्छ," शाही नेपाली सेनाका पूर्वसहायक रथी दिप्तप्रकाश शाह भन्छन्। "यसलाई राजा/नेता कसैले रोक्न सक्दैन। आन्दोलनको मैदानबाटै नयाँ नेतृत्व तयार भइसकेको छ।" नेपालमा निरंकुश राजतन्त्रको अन्तिम प्रतिनिधिको रुपमा इतिहासमा नाम लेखाउने सौभाग्य पाएको छ, वर्तमान शाही सत्ताले। तर पनि उसको आयुलाई केही दिन अरू लम्ब्याउन यतिखेर शासकहरूले झुठ, चुट, फुट र लुटको लाचार रणनीति अपनाइरहेका छन्। यस्ता रणनीति हाल चिहानमा परिणत भइसकेका विश्वका प्रायः सबै निरंकुश शासकहरूले आफ्ना अन्तिम दिनहरूमा अपनाएका थिए। सरकारका प्रवक्ता श्रीष राणाले २३ चैतमा सर्लाहीमा भएको माओवादी आक्रमण, दर्जनौं नेपालीको मृत्यु, सेनाको एमआई-१७ हेलिकोप्टर ध्वस्त र प्रजिअसहित दर्जनौंको अपहरणको घटनालाई "सामान्य" बताए। आफ्नो मुखबाट निस्किएको यस्तो सफेद झुठलाई शायद राणाको अन्तरमनले समेत पत्याएन। तर टीठलाग्दो पक्ष के हो भने जनआन्दोलन उत्कर्षमा पुगेको बेला राजाको प्रत्यक्ष शासनको औचित्य सावित गर्न वा यसको आयु केही दिन अरू लम्ब्याउन झुठको खेती गर्नुबाहेक शासकहरूसँग अर्को उपाय छैन। गृहमन्त्री कमल थापा हरेक दिन नेपाल टेलिभिजनमा झुठका नयाँ-नयाँ "तुक्का" लिएर प्रस्तुत हुने गर्छन्। सात दलको शान्तिपूर्ण संर्घषमा "माओवादी घुसपैठ" को पुष्टि गर्न उनले अनेक असफल प्रयत्न गरिरहेका छन्। थापा "झुठ कल्पना" मा माहिर छन्। कल्पनाशीलताले भरिपूर्ण कविलाई कुनै नयाँ कविता फुरेझैं २७ चैतमा उनलाई अर्को झुठ फुर्‍यो। उनले सात दलको शान्तिपूर्ण जुलुसबाट बन्दुक प्रहार गरिएको र त्यसको गोलीसमेत बरामद गरिएको दाबी गरे। तर त्यसको ठीक भोलिपल्ट सात दलको शान्तिपूर्ण कार्यक्रममा उल्टै सेनाको घुसपैठ भएको समाचार आयो। सेनाको घुसपैठको पुष्टि सात दलले होइन, संसारले विश्वास गर्ने संस्था संयुक्त राष्ट्रसंघले गरेको छ। २८ चैतमा बाँकेको कोहलपुर बजारमा सात दलले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ गरेका सादा पोशाकका सैनिकहरूलाई त्यहाँस्थित संयुक्त राष्ट्र संघ मानवअधिकार प्रमुख एनडुग्रेगरको टोलीले ग्रिनेटसहित फेला पारेपछि गृहमन्त्री थापाको झुठको घैंटो फुटेको छ। नेपालगञ्जमा भएको सैन्य घुसपैठका कारण अब अन्यत्र साँच्चिकै माओवादी घुसपैठ भएछ भने पनि जनताले त्यसलाई सरकारकै षड्यन्त्र ठान्नुपर्ने परिस्थिति उत्पन्न भएको छ। शाही सत्ता टिकाउन दमन जरुरी छ। दमन चर्काउन शान्तिपूर्ण आन्दोलनलाई आतंककारी गतिविधि सावित गर्नु आवश्यक छ र यसका लागि झुठ अति आवश्यक तत्व हो। नेपाली जनता राणाकालमा झैं अनपढ र गवाँर हुन्थे भने मन्त्रीहरूले "राजाले प्रत्यक्ष शासन हातमा लिएपछि शान्ति-सुरक्षाको अवस्थामा सुधार आएको, भ्रष्टाचार घटेको, मान्छे मर्ने क्रम रोकिएको, जनताले राहत पाएको, उपभोग्य वस्तुको भाउ सस्तो भएको, देशको राष्ट्रिय अखण्डता जोगाउन पोखरामा भीमसेन दाहाल र चितवनमा तुलसा क्षेत्रीको हत्या गरिएको" जस्ता झुठहरूको खेती गर्न पनि बेर लाउँदैन थिए। तर यी झुठहरू जनताले पत्याउने पटक्कै संभावना नभएकाले सरकारले झुठको अर्कै शैली अपनाएको हो। अर्थात् यस्तो झुठ, जसलाई अरूको के कुरा, झुठ बोल्नेले समेत पत्याउँदैन। शाही सत्ता टिकाउने लाचार प्रयत्नअनतर्गत यतिबेला "चुट अभियान" पनि तिब्र बनाइएको छ। २६ चैतको कुरो हो। राजधानीको बुद्धनगरमा अधिवक्ता रामचन्द्र अर्यालमाथि उनको घरमै पसेर सशस्त्र प्रहरीले निर्मम कुटपिट गरे। पर्खाल चढेर कम्पाउण्डमा पसेका प्रहरीहरू ढोका फोरेर घरभित्र पसेका थिए। जनताको करबाट तलब र जनताकै सुरक्षाको शपथ खाएका बहादुर तर बलिया-बांगा सुरक्षा जवानहरूले सोही दिन कपनको सरस्वतीनगरमा राकेश घतान, अमृत श्रेष्ठसहित एक दर्जन सर्वसाधारणलाई उनीहरूको घरमै पसेर कुटे। सुरक्षाकर्मीले कुटदा ती सर्वसाधारण घरमा चिया खाइरहेका थिए। बालाजु माछापोखरीमा आफ्नो ट्याक्सी सफा गरिरहेका साइँला तामाङलाई पनि बिनाकारण कुटियो र भ्यानमा हालेर लगियो। सोही दिन घट्टेकुलोको लालीगुराँस मार्गस्थित एक घरमा पसेर भाडामा बस्ने रञ्जन भण्डारी, अञ्जन भण्डारी, निरञ्जन भण्डारी र रोशन ओलीमाथि सशस्त्रका जवानहरूले निर्मम कुटपिट गरे। बन्दुकका कुन्दाले प्रहरीहरूले आफ्नो "सभ्य भाषा" प्रयोग गर्दै उनीहरूलाई कुटेका थिए। यसरी घरभित्रै पसेर सर्वसाधारणलाई कुट्ने क्रम तीव्र पारिएको छ। यतिले पुगेन, २८ चैतमा प्रहरीहरू त्रिवि शिक्षण अस्पतालको छात्रावासमा प्रवेश गरेर विद्यार्थीहरूलाई निर्ममतापूर्व कुटेर नौजना विद्यार्थीलाई सख्त घाइते पारे, जसमा सन्तोषकुमार ढुंगाना, खिमनारायण पोखरेल र शंकर अवस्थीको अवस्था गम्भीर रहेको छ। यतिमात्र होइन, मोरङमा तस्बिर खिच्दै गरेका पत्रकार सुवास कार्की, विराटगरका विद्यार्थी मुकेश बुढाथोकी, पोखराका अपांगसहित २० सर्वसाधारण, विजय एफएमका स्टेसन म्यानेजर हरि सापकोटा, काठमाडौं गोंगबुका एक ९ वर्षीय बालक र एक भट्टीपसल्नी, पत्रकार महासंघका केन्द्रीय सचिव बलराम बानियाँदेखि महासंघकै बागलुङ शाखाका सचिव हरिनारायण गौतम, पत्रकारहरू तेजप्रकाश पण्डित, गोपाल खनाल, अखिलेश त्रिपाठीलगायत मुलुकका हजारौं नागरिक शाही सत्ताको "चुट रणनीति" को सिकार भएका छन्। घर-घरमै पसेर कुट्ने काम जारी रहेको छ। दैलेखमा २८ चैतमा प्रहरीको कुटाइबाट ६ बालक घाइते भए। सोही दिन बाँकेको महेन्द्र बहुमुखी क्याम्पसको छात्रावासमा पसेर सेनाले विद्यार्थीमाथि कुटपिट गरे। पोखरामा एक जापानी नागरिकले समेत सुरक्षाकर्मीको कुटाइ खाएपछि नेपाल आएका पर्यटकसमेत लोकतन्त्रका लागि संर्घषमा होमिएका छन्। लोकतन्त्र नल्याएसम्म नेपालमा "चुटतन्त्र" जारी रहने ठहर सो दिन मैनबत्ती जुलुस निकाल्ने पर्यटकको थियो। उता सुरक्षाकर्मीको कुटाइबाट कोरियाली फोटो पत्रकार ली रेयुखेलसमेत घाइते भइन्। यसबाट शाही सत्ताको "चुटनीति" संसारभर फैलिएको छ। सुरक्षाकर्मीले हिजो २९ चैत्रमा पनि कुटपिट अभियान जारी राखे। बालाजुमा आफताव नाम गरेका एक १४ वर्षीय बालकलाई समेत निर्घात कुटियो। विराटनगरमा क्रिकेट खेलको अभ्यास गरिरहेका खेलाडी कुटिए। "झुट" र "चुट" का साथै अन्तिम दिनहरू गनिरहेको शाही सत्तालेले "लुट" र "फुट" को नीति पनि अंगालिरहेको छ। मुलुकको राष्ट्रिय ढुकुटीमा अपारदर्शी ढंगले लुट कायमै छ। आन्दोलन दबाउने नाममा गृहमन्त्रीले करोडौं रुपैयाँ निकासा गराएका छन्। दैनिक ५ लाख रुपैयाँ त सुराकी खर्चका नाममा उनले जथाभावी खर्च गरिरहेका छन्। राजाले प्रत्यक्ष शासन हातमा लिएपछि अपारदर्शी ढंगले ५० अर्बभन्दा बढी रकम हिनामिना गरिएको तथ्य सप्रमाण यसभन्दा अगाडि नै बाहिर आइ सकेको छ। कसले कुन प्रयोजनका लागि कति पैसा राष्ट्रको ढुकुटीबाट खर्च गरिरहेको छ भन्ने कुराको कुनै हिसाबकिताब छैन। "हुकुम" का भरमा मण्डलेहरूलाई पैसा बाँड्ने काम भइरहेको छ। Contd...........
Read Full Discussion Thread for this article