Posted by: Lali Guras April 11, 2006
Breaking news..Gongabu massacre
Login in to Rate this Post:     0       ?        
I copied it from Kantipur, Pathak Patra. ****************************** न्ोतृत्व जिम्मेवार बन्नैपर्छ ---------------------------------- चैत २८ गते नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले बीबीसीसँगको अन्तर्वार्तामा व्यक्त धारणाप्रति केही बोल्नैपर्ने लागेको छ । जनतालाई शाहीसत्ताले अड्कलेर दिने प्रजातन्त्रमै रमाउन अर्ती दिँदै हिँड्नेले बुुझ्न आवश्यक छ, तीनका पालाजस्तो आमजनता मूक बनिरहन सक्दैनन् र जुझारु युवा नेतृत्व समस्त जनचाहनालाई बोकेर सडकमा उत्रिसकेको छ । ०४६ पछि प्रजातान्त्रिककालमा सर्वाधिक समय सत्तामा रहेका कोइराला देशलाई यो अवस्थामा पुर्‍याउन जति जिम्मेवार छन्, त्यति अहिलेको परिस्थितिबाट मुलुकलाई लोकतान्त्रिक गन्तव्यसम्म पुर्‍याउन जवाफदेही हुनैपर्छ । प्रजातन्त्रको बाटोबाट हुकुमीतन्त्रको अवरोध पन्छाउन हरपल राजतन्त्रको दुहाइ सहेका कोइराला अझै लोकतन्त्रको पक्षमा स्पष्ट आवाज दिन सकिरहेका छैनन् । सडकमा ओइरिएका जनताले सोधिरहेका छन्, भोलि कहाँ पुगिन्छ? आन्दोलनको उचाइ के हो? जनआकांक्षा उपेक्षा गर्ने कुनै पनि दललाई राजनीतिक स्थायित्व प्राप्त हुँदैन, न तिनको राजनीतिक भविष्य आशातीत बन्न सक्छ । आज चौतर्फी लोकतन्त्रको माग र राजतन्त्रको निन्दा भइरहँदा दलहरूका हर्ताकर्ता नेताहरूको द्वैध चरित्र सर्वाधिक खेदपूर्ण छ । राजा ज्ञानेन्द्रले टीको लगाएर प्रधानमन्त्री देलान् र दाम चढाएर ढोगौंला अनि यावत् समस्या माटामा मिल्नेछन् भन्ने सोचबाट पार्टी नेतृत्व अझै ग्रस्त छ । सडक दिनदिनै तातिरहेको बेला बेलैमा दिमाग नखियाए अहिलेको नेतृत्वलाई अर्को अवसर मिल्ने छैन । राजाको व्यक्तिगत लहड, सनक र महत्त्वाकांक्षालाई ठेगान लगाएर आमनेपालीको आवाजलाई मूर्त सम्बोधन गर्न अझै हिच्किचाइरहेको दलहरूको नेतृत्वले बेलैमा सच्चिएर आन्दोलनलाई सही मार्गनिर्देश गर्न सक्नुपर्छ अन्यथा उनीहरूलाई खोजी-खोजी अब कसैले नेता बनाउने छैन । राजतन्त्रको इतिहास समीक्षा गर्ने हो भने पनि शक्तिका लागि हिंसात्मक कलहबाहेक केही नभेटिँदा एक स्वाभिमान नागरिकले गर्वभन्दा लज्जाबोधमात्र गर्नुपर्छ । यहाँ त जनसाधारणले आफूलाई स्वघोषित नागरिकभन्दा पनि दरबारियाहरू जिब्रो काड्छन्, तिनलाई लाग्छ, नेपालवासी केवल मध्यकालीन रैतीसरह हुन् । श्रीशशमशेरहरू सदरमुकाम आक्रमण भएको घटना 'सामान्य' भन्न लाज मान्दैनन् । यो उनीहरूको सामन्ती शाही मानसिकता हो । एक्काइसौं शताब्दीका जनतालाई रैती र दास देख्ने योभन्दा अर्को प्रमाण आवश्यक छैन । आजको खुला समाजलाई बेवास्ता गर्दै सूचना तथा समाचार सम्प्रेषणबाट आफ्ना मुठ्ठीभर भजनमण्डली बाहेकलाई अनुमति नदिने अवैधानिक टीकेहरूको स्वाँठ शैली हेर्नलायक छ । 'मै खाऊँ मै लाऊँ, अरू सब मरुन् दुर्बलहरू' को नीति भएका राजाबाट आशा गर्ने दिन गुजि्रसके । राजा कसैप्रति जवाफदेही नभएको देख्दा भन्न गाह्रो छैन, उनी देशलाई एकलौटी स्वामित्वको प्राइभेट लिमिटेड कम्पनीजस्तो ठानिरहेछन् । उनलाई चेतना छैन, कुपोषण र झाडापखालाले बर्सेनि हजारौंले ज्यान गुमाउने नागरिक बाँचुन्जेल उनलाई कर तिरिरहन्छन् । जनताको रगत-पसिनाले आर्जेको राष्ट्रिय ढुकुटीको दोहन गर्दै निशर्मर् देश-विदेश तीर्थाटन गर्ने राजाबाट देशको भलो सम्भव छैन, अब कुनै चमत्कार पनि हुन सक्दैन । कोइरालाका व्यक्तिगत हठ र अप्रजातान्त्रिक हर्कतले आजको स्थितिमा देशलाई समाधानतिर डोर्‍याउँदैन, बर्बादीतिरै धकेल्छ । कटबाँसका लाठा प्रहारले रक्ताम्यजनको आवाजसमेत नसुन्नेगरी संवेदनहीन भइरहनु आफैंमा कति घातक छ, अलि समय बाँचे थाहा लाग्ला । मनोनयनजस्तो निरंकुश शैली पछ्याएर भ्रातृविद्यार्थी संगठनको गठनबाट आन्तरिक प्रजातन्त्रको दुहाइ दिँदा व्यापक आलोचना खेपेर पनि चेत नआउने हो भने आन्दोलनबाट छलिनुबाहेक कोइरालाको अर्को बाटो छैन । मेरो गोरुको बाह्रै टक्का नगरी सर्वदलीय प्रतिबद्धता व्यवहारमा उतार्न सक्ने क्षमता र शक्ति कोही विद्यमान नेतृत्वमा छ भने त्यो गिरिजाप्रसाद नै हो, जसमाथि आमनागरिक भर गर्छन् । सबै तह-तप्काबाट जनता मन खोलेर आन्दोलनमा आउन अझै हिच्किचाउनुको अर्थ हो, गन्तव्य प्रस्ट छैन, नारा मूर्त र सबैले बुझ्ने हुनुपर्छ । दस वर्षदेखिको माओवादी हिंसात्मक विद्रोहको स्थायी समाधान तथा आमसहभागितामूलक राज्यव्यवस्थाको स्थापनाको निम्ति पनि जारी आन्दोलनलाई लोकतान्त्रिक गन्तव्यसम्म पुर्‍याउन अपरिहार्य छ । आन्दोलनप्रति राज्यको जवाफ सडकका दृश्यहरूले प्रस्ट्याएको छ । जुलुस तथा विरोध प्रदर्शनमा सहभागी नभएका बटुवा, सञ्चारकर्मी, अधिकारकर्मी तथा आम नागरिकमाथि निर्मम प्रहारबाट राजाको -श्री ५ को) सरकार मानसिक असन्तुलनको स्थितिबाट गुजि्रएको बुझ्न सकिन्छ । विकसित परिस्थितिलाई आत्मसाथ गर्दै अगाडि बढ्नु आजको आवश्यकता छ । जनआन्दोलनको सही संयोजनविना यसको यात्रा उद्देश्यमुखी बन्न सक्तैन । त्यसैले समयमै कोइरालाले जिम्मेवारीबोध गर्नैपर्छ, स्पष्ट आऽवान गर्नैपर्छ, यो आन्दोलन कहाँ पुग्छ? डा. लक्ष्मी देवकोटा समाजशास्त्र विभाग ब्रनेल युनिभर्सिटी, पश्चिम लन्डन dr_laxmi_devkota@yahoo.co.uk
Read Full Discussion Thread for this article