Posted by: sano_kanchha March 23, 2006
Nepal Police
Login in to Rate this Post:     0       ?        
बगालेलाई सार्वजनिक अपराधको मुद्दा कास काठमाडौं, चैत ९ - प्रधान कार्यालयमा शारीरिक एवं मानसिक दुव्र्यहारबाट पीडित केन्द्रीय प्रहरी ब्यान्ड गुल्मका सई होमबहादुर बगालेमाथि प्रहरीले सार्वजनिक अपराधको मुद्दा लगाउने तयारी गरेको छ । कान्तिपुर संवाददातालाई आफ्नो दुःखेसो सुनाइरहेको बेला प्रधान कार्यालयका माथिल्ला अधिकारीको निर्देशनमा वडा प्रहरी कार्यालय बानेश्वरका प्रहरीबाट गिरफ्तार गरिएका बगालेलाई बुधबार जिल्ला प्रहरी कार्यालय हनुमान ढोकामा बुझाइएको थियो । कान्तिपुरबाट गिरफ्तार गरेपछि उनलाई शारीरिक यातना दिएर भोकभोकै राखिएको स्रोतले उल्लेख गरेका छन् । डीएसपी गणेश केसीले भने उनलाई कुनै शारीरिक यातना नदिइएको दाबी गरे । केसीले कार्यालयका अर्का डीएसपी शरदराज ओलीसँग सम्पर्क गरेर बगालेलाई भेट्न सकिने बताए । तर, भेटका निम्ति पटकपटक प्रयास गर्दा पनि सम्पर्क गर्न दिइएन । 'गाली बेइज्जती र होहल्ला गरेको एवं संगठनलाई अनाहकमा बेइज्जत गर्ने काम गरेकाले उनलाई सार्वजनिक अपराधको मुद्दा चलाइएको हो' ओलिले भने । काठमाडौं प्रहरीको मुद्दा शाखाका एक अधिकृतका अनुसार बगालेमाथि अनावश्यक होहल्ला गरेको, जनमानसमा गलत हल्ला फिजाएको र पोसाकको दुरुपयोग गरेको अभियोगमा मुद्दा चलाइन लागेको छ । सरकारी वकिलको कार्यालयमा आवश्यक बयानपछि २५ दिनभित्र अनुसन्धान पूरा गरी जिल्ला प्रशासनमा सार्वजनिक अपराधको मुद्दा दायर गरिनेछ । प्रहरीले उनलाई परिवारसहित कसैलाई भेट्न नदिई राखेको छ । स्थानीय मानव अधिकारकर्मी र उनका कानुन व्यवसायी माधव बस्नेतलाई समेत भेट्न दिइएन । बस्नेतले बगालेका तर्फबाट जिल्ला अदालतमा यातनाबाट भएको घाउको जाँच गराइपाऊ भनी बुधबार काठमाडौं जिल्ला अदालतमा उजुरी दर्ता गरेका छन् । बगालेलाई पक्राउ गरिएको भोलिपल्ट बुधबार जिल्ला प्रशासन कार्यालयमा लगी थुनाको म्याद थप गरिएको छ । तर कति दिनको म्याद थप गरिएको हो भनी सोध्दा प्रहरीको मुद्दा शाखाले केही बताउन चाहेन । 'ऊ सेवाबाट बर्खास्त भएकाले प्रहरी ऐनअनुरूप नभई नागरिक कानुनअन्तर्गत उसलाई कारबाही गरिएको हो,' केन्द्रीय प्रहरी प्रवक्ता रमेशचन्द ठकुरीले भने । ठकुरीले बगालेविरुद्ध प्रहरी प्रधान कार्यायलमा उजुरी र मिसिलको थुप्रो रहेको दाबी गरे । बर्खास्त भइसकेपछि युनिर्फम लगाएर संगठनलाई बदनाम गर्ने अधिकार बगालेलाई नभएको उनले बताए ।
Read Full Discussion Thread for this article