Posted by: newuser March 13, 2006
Nepe's book on the web
Login in to Rate this Post:     0       ?        
Nepejee, thankfully received and here is my take: प्रेम अजीव छ, सजीव छ र कहिलेकाहिं निर्जीव पनि छ। प्रेमका यि तीन रंग पोतिएका छन् – च्यात्न नसकेको चिठीमा। रेलमा झण्डै एक घण्टाको यात्राको शुरुमा उघारेको चिठी गन्तव्यस्थल पुग्नु अघिनै सकिइसकेको थियो। जव यो लघु उपन्यास पढेर सकियो, नारी-पुरुष प्रेम र अन्तर सम्वन्धको रहस्यमय जालोभित्र आफूपनि एउटा विरोधाभाषपूर्ण कैदि भएको महसुस भयो। बुझी नसक्नुको प्रेमको परिभाषामा ‘च्यात्न नसकेको चिठी’ ले अर्को रहस्यको ज्वालामूखी ओकलिदिएको छ। उपन्यासको अन्तमा गएपछि मात्र ज्वालामूखी शान्त हुन्छ र बल्ल लाभाले पोलिएर रन्थनिएको पाठकको मन शीतल हन्छ – एउटा स्विकारयोग्य परिस्थितिको जन्मका साथ। सुखान्त साहित्य पढ्नुको मजा बेग्लै छ, त्यो पनि दूखान्त मोडमा पुगेर नाटकीय परिवर्तन अंगालेको अन्त्य झन मज्जाको। उपन्यासकारले बडो चातुर्यका साथ थुमथुम्याएका छन् - निर्मम कथानकले आहत बनेका पाठकहरुलाई, बिट मार्ने बेलामा। वास्तवमा लेखक कुशालाई औधि माया गर्छन्। मानौ कुशा उनको विगतको कुनै अंश हो। अनि कुशालाई काखी च्याप्ने धुनमा रविकान्त र संजीप्रति अलि निर्दयी भएका छन् बेलाबेलामा। नारी सम्वेदनाको तश्विर खिच्ने क्रममा पुरुष सम्वेदनामा चोट पु‌-याएका छन् उनले। शायद नारी सम्वेदनालाई बुझ्ने विरलै पुरुषहरुको वर्गमा आफूलाई उभ्याउने आकांक्षा लुकेको छ उनमा। कुशा आजकी युवतिहरुकी प्रतिनिधी हुन्। नारी मन खहरे जस्तै अप्रत्याशित छ र त्यो अप्रत्याशित मन अप्रत्याशित गति र आयतनमा चलिरह्न्छ, जसका चालहरुले पुरुषलाई सँधै विचलित गराइरहेछ। तर अन्ततोगत्वा त्यहि नारी हो जो पुरुषको विचलनलाई समेलेर स्थिर तुल्याइदिन्छे। गजवको शक्ति छ उनिहरुमा – प्रेमलाई कुण्ठित गरेर पुरुषको जीवनमा हलचल पैदा गरिदिने, अनि प्रेमलाई प्रष्फुटित गरेर शुखशान्ति भरिदिने - सम्भवत: कुशाले जस्तै। च्यात्न नसकेको चिठीको आकार हेर्दा अचम्म परेको थिएँ। तर आकार भन्दा ठूलो रहेछ यसको गुदी। युवा उपन्यासकारले प्रेमको जटील दर्शनलाई थोरै शब्दमा अभिव्यक्त गरेका छन्। त्यो उनको अभूतपूर्व सफलता हो। तर कमजोरीहरु नभएका होइनन प्रस्तुतीमा। एकाध विशेषणहरु माथी विशेषण थपेर साहित्यिक श्रृंगारमा भद्दा लाली थपेका छन् उनले (दूर्लभ्य प्राप्तिको प्रतीतको जटीलता)। एकाध शव्द रचनाका अपजशहरु छन् [‘जटील’ आफैमा विशेषण हो, ‘सिमितिकरण गरेपछिको’ भन्नु र ‘सिमित गरेपछिको’ भन्नु एउटै हो(?)] अनि कतैकतै विज्ञान र अंग्रेजीका केहि शब्दहरुले वाक्यहरुलाई कुरुप पारिदिएका छन्। नत्र कृति ओजस्वि छ। लेखकले जस्तै आजका पुरुषहरुले नारी आवरणलाई चिरेर उनको मनभित्र प्रवेश गर्नसके प्रेम शायद बढि नै सहज, सरस र सौन्दर्यपूर्ण हुन्थ्योहोला। अगाडिको भूमिकाले च्यात्न नसकेको चिठी प्रति न्याय गरेपनि पछाडीका मन्तव्यहरु केवल दूब्लो पुस्तकलाई अलि मोटो देखाउने प्रयास थिए जस्तो लाग्यो। जेहोस साझा मार्फत परिचित एकजना मित्रको प्रतिभाको मसि मानसपटलबाट मेटिन नसक्नेगरि पोखिएको छ च्यात्न नसकेको चिठीमा। फेरी पनि वधाइ छ।
Read Full Discussion Thread for this article