Posted by: Nepe March 10, 2006
Nepe's book on the web
Login in to Rate this Post:     0       ?        
लहरै तीन तीन तिक्ष्ण चक्षुधारी पाठक बन्धुहरुको टिप्पणी पढ्न पाउँदा बडो आनन्द आईरहेको छ । गौतमजी, मलाई पनि माया लाग्छ रविको । तर कुशालाई उसको आफ्नै पकृतिसंग प्राकृतिक रहन दिनु कथाको वाध्यता थियो भन्ने त देखिहाल्नु भो । कथा मूलत: रविलाई सतही रुपमा तदर्थ सह-नायकको भूमिका दिएर कथान्तमा त्यस भूमिकाको पुनर्व्याख्या हुने सम्भावना उत्पन्न गर्ने कथायोजनामा बनेको हो, केहि हदमा । र कुशालाई तपाईले "विद्रोह गर्न चाहने तर नसक्ने पात्र" र Nutji ले "आत्मकेन्द्रित, आत्मभ्रमग्रसित र आफ्नो खोजद्वारा नियन्त्रित" भन्नु हुँदा अर्का एक टिप्पणीकारको टिप्पणी याद आयो जसले लेखेका छन् - " -याडिकल फेमिनिस्टहरुले त कुशालाई कथाको अन्त अन्तसम्म पनि एउटा पोस्टर-गर्ल कै रुपमा पाउन सक्छन्" । कथामा सामाजिक विषयहरुमा टिप्पणी भने न्यूनतम र भएका पनि लुप्त, सन्दर्भजन्य वा कैफियतका रुपमा भए झैं मानिचु । आफुले कथा भन्नुको साटो एक आत्मकेन्द्रित पात्रलाई चिठी लेख्न लगाएर लेखक त्यो दायित्व र जोखिम दुवैबाट बच्न खोजेको होला भनुम् न अब । तैपनि दादाजीले र नुतजीले पकडिईहाल्नु भो भएको ठाउँमा । दादाजी, विविध टिप्पणीहरुको लागि धन्यवाद । भाषाको हकमा नितान्त अप्रचलित शब्दहरु एकाध ठाममा बाहेक नपरेको मानिचु । र बाँकी कठिन शब्दहरु नेपाली भाषाको मध्यम ज्ञान भएकाले कमोबेसी फोर्न सक्ने मानेथें । स्त्रीलिंगी क्रियापदमा भएका त्रुटी चाहिं जानी जानी गरेको हो, अलिक प्राकृतिक होला कि भनेर । हाम्रा स्त्रीहरु बोलीचालीमा स्त्रिलिंगी र पुलिंगी दुबै क्रियापद सरोबर मिसाएर बोल्छन् भन्ने हिसाबले । वाक्यविन्यासमा पनि व्याकरणलाई भन्दा सहजतालाई बढी पछ्छ्याउन खोजेको छु । त्यसैले भाषा-सम्पादकले भरमार सम्पादन गरिदेलान् भन्ने डरले पहिल्यै भनिराखेको थिएँ, ह्रस्वदीर्घ बाहेक अरु सम्पादन नगरिदिनुहोला भनेर । 'सहसा' शब्दले चाहिं मलाई सहसा सम्झना भएर आयो यसको आधिक्य भएको । त्यो चाहिं एउटा शैलिगत निजात्मकताको लागि हो । " बाफ रे यो मान्छेले जन्मदै लिएर आएको छ कि क्या हो गुरु बन्ने अधिकार । ... " हे हे ! यहाँनेर त होला, तर सम्पूर्णमा त्यो राम्रोसित प्रेम पनि गर्न नजान्ने डुकुलन्ठकभित्र के राख्थ्यो लेखकले आफुलाई ? " मेरो पति मलाई प्रेम गर्छ। मेरो शरीरलाई प्रेम गर्छ ऊ। ऊ मेरो आँखाको बान्कीलाई प्रेम गर्छ, मेरो नाकको अनुपातलाई, मेरो ओंठको आकारलाई, मेरो गालाको रौनकलाई, मेरो कपालको लम्बाईलाई, मेरो वक्षको उभारलाई, मेरो कम्मरको नापलाई, मेरो हातपाखुराको सुडोलतालाई... ईत्यादिलाई प्रेम गर्छ । तर मेरो आत्मालाई ? मेरो हृदयलाई ?..." नि:सन्देह यो चाहिं कथाको एउटा defining moment थियो । धन्यवाद दादाजी, गौतमजी र नुतजी, तपाईहरुको टिप्पणी यहाँ बाँड्नु भएकोमा । अन्त्यमा, यो डा. को सिङ त स्पष्टै छ, नवलेखकले आफुसंग पुग्दो आत्मविश्वास नभएर लगाएको हो । त्यसैले गौतमजीसंग पूर्ण सहमत छु म । Nepe
Read Full Discussion Thread for this article