Posted by: once in a while March 7, 2006
Every Nepali must know.
Login in to Rate this Post:     0       ?        
दरबारलाई 'भैपरी' भैपरी शीर्षकबाट सबैभन्दा बढी रकम राजदरबारमा गएको देखिन्छ। २०६० साल साउनमा अर्थ मन्त्रालयबाट एकै पटकमा रु.२ करोड राजदरबार गएको छ। यो रकम यति छिटो झ्िकिएको थियो कि १ साउनमा बजेट घोषणा भयो, ४ साउनमा रकमान्तर गरियो र ७ साउनमा दरबार पुग्यो। यति ठूलो रकम यति छिटो निकासा हुनुलाई अर्थ मन्त्रालयका कर्मचारी नै चानचुने कुरो होइन भन्छन्। त्यसपछि २२ पुस २०६० मा मन्त्रालयको पत्र सङ्ख्या ७२० बाट बाढी, पहिरो, आगलागी जस्ता दैवीप्रकोपका विभिन्न शीर्षकबाट रकमान्तर गरेर एकमुष्ट रूपमा रु.१३ करोड ५० लाख ५५ हजार दरबार पठाइयो। अन्यत्रबाट यो रकम ल्याएर मन्त्रालयको भाषामा '६.०२' अर्थात् 'सवारी साधन' शीर्षकमा हालिएको थियो। यो शीर्षकको रकमले देशभरिका सरकारी कार्यालयमा सवारी साधनको आपूर्ति गर्नुपर्थ्यो। तर त्यो कुल रकमबाट राजदरबारका लागि दुई वटा बुलेट प्रुफ 'जागुवार' कार खरीद गरियो। यसैगरी अधिराजकुमारी प्रेरणाको विवाह गर्न रु.१ करोड १३ लाख, नवयुवराजको अन्नप्राशनको लागि रु.७ लाख र राजदरबारको पर्खाल बनाउन रु.९ लाख ८३ हजार रकमान्तर गरेर दरबार पठाइएको छ। २०६० सालको ६ महिनाभित्र मात्रै दैवीविपत्ति शीर्षकको रु.२२ करोड दरबार गयो। तर जुन बेला यो रकम दरवार गयो, त्यतिखेर रु.५ करोड भए पुग्ने सहुलियत दरको ऋणका लागि राजधानीमा हारगुहार गरिरहेका तेह्रथुमका अग्निपीडितहरूलाई 'रकम छैन' भनेर रित्तोहात पठाइएको थियो। आर्थिक वर्ष २०६२/०६३ मा पनि दरबारका नाउँमा गएको रकमको अङ्क सानो छैन। २८ कात्तिकमा कर्मचारीको तलब शीर्षक १.०१ बाट रकमान्तर गरेर 'विशिष्ट व्यक्तिको भ्रमण खर्च'को नाममा एकमुष्ट रु.११ करोड झ्िकियो। हुँदाहुँदा श्री ५ महाराजाधिराजको शुभराज्याभिषेकका लागि हात्ती सजाउन भनेर समेत २०६१ मङ्सिरमा भैपरीबाट रु.६१ लाख झ्िकिएको छ। २०३१ सालपछि नेपालमा कुनै 'राज्याभिषेक' भएको छैन र रकम निकासा भएको एक वर्ष बितिसक्दा पनि त्यस्तो राज्याभिषेकका लागि भनेर यति महङ्गो मूल्यमा सजाइएको हात्ती नेपाल भित्रिएको सार्वजनिक जानकारीमा आएको छैन। १९ माघ २०६१ पछि शाही पार्श्ववर्ती भरतकेशर सिंहलाई मात्रै अर्थविविधबाट भैपरीमा रकमान्तर गराएर रु.५२ लाख दिइएको छ। उनलाई २०६२ वैशाखमा रु.१२ लाख र फागुनमा रु.४० लाख गरेर यो राशी दिइएको हो। राज्यको ढुकुटीमा भरतकेशर जस्ताको लुट कतिसम्म बढेको छ भने उनको माग एकमुष्ट रु.९० लाख थियो। यसबाहेक सिंहले गुठी र समाजकल्याण परिषदबाट समेत 'सहयोग' लिएको बुझ्िएको छ।आर्थिक सङ्कटका कारण आफैँ विघटन हुने अवस्थामा पुगेको र अनुदान शीर्षक नै नहुने गुठी संस्थानबाट सिंहलाई सहयोग दिलाउन संस्थानका प्रमुख प्रशासकले विशेष प्रस्ताव पारित गराएर यो रकम उपलब्ध गराएका हुन्। यसै बीचमा युवराज शमशेर नामक व्यक्तिलाई रु.१७ लाख 'उपचार खर्च' दिन 'स्वागत खर्च' शीर्षकको रकम 'भैपरी'मा तानिएको छ। पूर्ण विवरण प्राप्त हुन नसके पनि राजदरबार निकट परिवारका नौ जना सदस्यको उपचार गर्न यो रकम दिइएको अर्थ मन्त्रालय सूत्र बताउँछ। जसले जतिखेर जति रकम पनि झिके हुने, त्यसका लागि जुन शीर्षकबाट मन लाग्यो त्यसैबाट रकमान्तर गरेर भैपरीमा लैजाने आर्थिक विशृङ्खलताको एउटा सिलसिला नै शुरु भएको र त्यसको क्रम डरलाग्दो गरी बढ्दै गएको छ। कोष तथा लेखा नियन्त्रण कार्यालयका अधिकारीहरू यस्ता करतुतबाट आजित भएका छन्। एक अधिकारी भन्छन्, “यो त हदै भयो, यसै गरिरहने हो भने बजेट र सरकारी खर्च प्रणालीको अब कामै छैन। घर चलाउँदा पनि त छोराछोरीको फी तिर्ने पैसा निकालेर मासु खाइँदैन नि!” पूर्व महालेखा परीक्षक विष्णुबहादुर केसी भैपरी शीर्षकको यो प्रयोगले “बजेट व्यवस्थालाई नै व्यङ्ग्य गरिरहेको” बताउँछन्। दुरुपयोगका अन्य सम्भावना समेत औँल्याउँदै उनी भन्छन्, “भैपरी र अर्थविविध शीर्षक बाहेक अन्य शीर्षकबाट पनि कुल बजेटको १० प्रतिशत रकम झ्िक्ने विशेष अधिकार अर्थ मन्त्रालयलाई हुन्छ। यस परिवेशमा यो छुटको पनि दुरुपयोग भएको हुनसक्छ।”
Read Full Discussion Thread for this article