Posted by: Gautam B. March 4, 2006
Login in to Rate this Post:
0
?
नेपेजीको किताबले सबैका 'बिर्सन नसकेका सम्झनाहरु'लाई ताजा बनायो। किताब हात पर्ने प्रतीक्षामा छु म पनि।
एउटा उस्तै प्रसंग मेरो पनि राखिहालौँ।
म बच्चामा अति लजालु थिएँ। धेरै चोटि, घरमा पाहुनाआएको बेला काका, ठूला बा आदिका घरमा गएर सुतेको याद छ मलाई । पछि स्कूल जान थालेपछि पनि यो बानी रहिरह्यो, विशेषगरी केटीहरुसंग ब्यबहार गर्दा। केटीसंग बोल्दा अनुहार-कान राता राता हुन्थे, राम्रोसंग बोल्न पनि सक्दिन थिएँ। आई.एस्सी. पढ्न थाले पछि बिस्तारै यो बानी छुट्यो।
म एक देखि दशसम्म एउटै स्कूलमा पढेको। चार कक्षामा दुईटी नया केटी थपिए। दुइटै हामीजस्ता गाऊँले केटा भन्दा धेरैनै "forward " थिए (नराम्रो अर्थमा हैन है!), अतिरिक्त कृयाकलापहरुमा धेरै अगाडि। ती मध्येकी एउटी .....र्मिला मसंग निकै नजिक हुन खोज्थी। दिदी (ठूलो बाकी छोरी) पनि एउटै कक्षामा, त्यो केटी दिदीकी पनि मिल्ने साथी थिई।
स्कूलका बनभोजहरुमा पनि जहिले पनि एउटै समूहमा पर्ने। आफ्नो अनुहार-कान राता हुन छाडेका हैनन्! ऊ जति नजिक आएर कुरा गर्न थाले पनि म चाहिँ केहि न केहि बहाना बनाएर भाग्नुपर्ने! अहिले सम्झिँदा पनि अनौठो लाग्छ।
६ कक्षाको दशैँको लगत्तै अघिको कुरा हो। दशैँ बिदा हुनु अघि शुभकामना लेखेर पोष्टकार्डहरु दिने चलन थियो।हाफ ट्याम अघिको कुनै खाली पिरियडमा एउटा खाम मेरो हातमा आईपुग्यो। भित्र एकदम रातो गुलाबको फूलको तस्बीर बोकेको कार्ड थियो। साथमा लामो चिठ्ठी पनि थियो, भनौँ न प्रेम प्रस्ताव पत्र। धेरै कुरा याद छैन अहिले तर शुरु भएको थियो "मेरो प्यारो....., मेरो मन मन्दिरको राजा....." इत्यादिबाट र अन्तमा थियो "उहि अभागी ..
..र्मिला"। बीचमा किशोर मनका धेरै भावनाहरु थिए। चिठ्ठी पूरा पनि पढिनसक्दै लाजले रातो भएर मैले भूईँमा फालेँ। अलि आँटिलो भएर मैलेनै शुरु गर्नुपर्ने कुरा उसैले गर्दा पनि मेरो ब्यबहार त्यस्तो भयो। हामी परम्परागत "नेपाली शैली" को भन्दा ठीक बिपरीत भूमिकामा थियौँ!
फाल्न त फालियो के रे तर बारुलाको गोलोझैँ अरु केटाहरु झुम्मिए त्यो चिठ्ठी वरिपरि। साईँध्वाहरु सप्पैले पूरै पढे! अनि मलाई र उस्लाई जिस्काउन थाले। केहि केटाहरु अलिक पछिसम्म पनि मलाई देखेपछि "ऊ अभागीको भाग्यमानी आयो!" भनेर जिस्काऊँदै थिए।
लगत्तै दशैँ विदा भएकोले कुरो कक्षाबाहिर भने त्यति फैलिएन। तर यो घटनापछि ...र्मिला भने मसंग साह्रै रिसाएर होला, बोल्न त के मतिर हेर्न पनि छाडी। दिदीसंग पनि पहिला जस्तो नजिक भईन। पछि नौ कक्षामा भर्ना भएताका ...र्मिला पोइल गई रे भन्ने हल्ला सुनियो। हो रहेछ, स्कूलकै हामीभन्दा दुई वर्ष माथिका दाईसंग अन्तरजातीय विवाह गरिछे उस्ले। पढाई छाडेर गृहिणी बनी र डेढ दुई वर्षमै आमा बनी।
पछि बाटामा एक दुई पटक भेट हुँदा पनि बोलचाल भएन। मैले आई.एस्सी. सके ताका बजारबाट गाऊँ फर्कने क्रममा मिनिबसमा भीडमा खाँदिएर एकै ठाऊँमा उभिन पुगिएछ। त्यतिखेर भने कुराकानी भयो बसबाट नझरुञ्जेल।
त्यसपछि भेटेको छैन। अहिले १४-१५ वर्ष भएछ। तर अरु साथीहरुसंग भेट्दा भने नसोधौँ भने पनि उस्को बारेमा सोध्न पुगिहाल्छु।