Posted by: kick March 3, 2006
Durga Pokhrel
Login in to Rate this Post:     0       ?        
अस्तिको कान्तिपूरबाट---- -------------------------- दिदी राज्यमन्त्री बनेपछि... गिरीश पोखरेल म केही दिनका लागि नेपाल फर्केको थिएँ । मेरो नजिककी एउटी दिदी राज्यमन्त्री मनोनीत भएको समाचार आयो । झसङ्ग भएँ किनभने उहाँकै कारण म अमेरिकाको बासिन्दा भएको छु । उहाँ अरू कोही नभएर हाभार्ड विश्वविद्यालय, बोस्टनबाट पीएचडी गर्ने दुर्गा पोखरेल हुनुहुन्छ । उहाँ १७ वर्ष अमेरिका बसेर नेपाल र्फकनुभएको हो । उहाँ जतिखेर अमेरिका आउनुहुन्छ हामी साथै हुन्छौं । म आफूलाई उहाँको नजिकको माइती नै ठान्छु । र उहाँ पनि म र मेरो परिवारप्रति त्यतिकै माया गर्नुहुन्छ । हाम्रो राजनीतिक धारणा भने राजा वीरेन्द्रको बंशनाश भएदेखि भिन्न हुँदै गयो । बेला-बेला उहाँ अमेरिका आउँदै गर्नुहुन्थ्यो र हामीबीच नेपालको राजनीतिक स्थायित्वबारे निकै बहस हुन्थ्यो । पछिल्लोपल्ट उहाँ अमेरिका आउँदा मैले उहाँलाई 'तपाईं नेपाली कांग्रेसको राजनीतिक प्रतिष्ठा बनाइसकेको व्यक्ति, यत्रो प्रजातान्त्रिक मुलुकबाट पीएचडी गर्नुभएको तपाईंले राजाको प्रतिगमनलाई जय गरेर हिँडेको पटक्कै सुहाएन' भनेर बारम्बार भनेँ । उहाँले 'हुन्छ, म देशका लागि केही गर्छु' भन्नुभएको थियो । म अमेरिकाबाट नेपाल पुगेको केही दिनपछि उहाँले सायद आफू एकल अध्यक्ष भएको एक नेपाली कांग्रेस -राष्ट्रवादी) नाम झुन्ड्याएर पार्टी खोल्नुभएछ । कांग्रेसका मार्सलजुलुम शाक्य, ढुण्डीराज शास्त्री खै केके नामका व्यक्तिको नाम राख्नुभएको रहेछ, पछि उनीहरूले त्यो पार्टीसँग केही सम्बन्ध छैन भनेर वक्तव्य निकालेपछि थाहा भयो क-कसको नाममा उहाँले सौदाबाजी गर्नुभएछ । त्यो पार्टी खोलेको केही दिनमै उहाँलाई राजाले राज्यमन्त्रीको टीका लगाइदिए । म विराटनगरबाट रोल्पा जान भनेर काठमाडौं आएकै साँझ नेपाल टेलिभिजनबाट उहाँ राज्यमन्त्रीमा नियुक्ति हुनुभएको नाम सुन्नासाथ नरमाइलो लाग्यो । मलाई चिन्ने जान्नेहरूले भने 'क्याहो दिदी त मन्त्री हुनुभएछ नि, ल बधाइ छ' भने । मलाई के-को बधाइ लिनुदिनु थियो र ? म परदेशमा बसेर पनि प्रतिगमनविरुद्ध निरन्तर आवाज उठाउँदै आएको मान्छे । आखिर पदकै लागि उहाँले प्रतिगमनको जय गरेको भन्ने मलाई लागेको थियो, त्यस्तै भयो पनि । उहाँको भित्री इच्छा छ 'महिला प्रधानमन्त्री' हुने, आखिर त्यो हुन नसके पनि राज्यमन्त्री नै भए पनि किन नहुने ? खुट्किला त कम्तीमा चढियो भन्ने ठानेर होला उहाँले पदलोभ देखाइहाल्नुभयो । उहाँ यसरी राज्यमन्त्री हुनुपछाडि अर्को कारण पनि छ । उहाँ सूचना तथा सञ्चार राज्यमन्त्री श्रीषशमशेर राणासँग लाग्छ, २०३२ सालदेखि नै अत्यन्त नजिक हुनुहुन्थ्यो । उहाँहरूले विगतमा सँगै पत्रिका समेत निकाल्नुभएको थियो । पछि दिदी नेपाली कांग्रेसको सक्रिय कार्यकर्ता हुनुभएको भए पनि श्रीष शमशेरसँग सायद त्यति टाढा हुनुभएन जस्तो लाग्छ । त्यही नाताले सायद राजालाई पनि 'मैले कांग्रेसको मान्छे मन्त्रीमा ल्याएँ' भन्ने पार्न राप्रपाकी नेतृ दुर्गा श्रेष्ठलाई महिलालाई हटाएर दुर्गा पोखरेललाई लगियो । तै पनि माओवादी अति प्रभावित मध्यपश्चिमको पहाडी क्षेत्र घुमेर फर्केपछि मैले दिदीलाई फोन गरेँ । उहाँले भनिहाल्नुभयो- 'गिरीश, तिमी मलाई गाली नगर है !' मैले उहाँलाई किन गाली गर्नु ? भीरबाट लड्नेलाई म कसरी रोक्न सक्थेँ ? प्रतिगमनमा नजानुहोस्, बरु कांग्रेसका नेताहरूसँग वैमनश्य छ भने नागरिक आन्दोलनको अग्रपंक्तिमा उभिनोस्, त्यहाँ महिलाहरूको कमी पनि छ भनेको थिएँ । तर उहाँले 'अब म दुःख गर्न, जेल जान तयार छैन, जति जानु पहिले नै गएँ, जति संघर्ष गर्नु पहिल्यै गरें' भनेकाले उहाँ त्यता जान सक्ने कुरै भएन । मैले उहाँलाई 'यो बेला प्रतिगमनविरुद्द लाग्नुभएन भने हिजो तपाईंले गरेको योगदानको पनि कुनै अर्थ रहने छैन र भावी पुस्ताले पनि निरंकुशताबाट मुक्ति पाउन लडिरहनुपर्नेछ' भनेको थिएँ । त्यसो त उहाँले केही वर्षअघि मलाई भन्नुभएको थियो- 'मलाई त्यही महिला आयोगको अध्यक्ष चाहिएको छ । म त्यहींँ बसेर नेपाली महिलाका लागि धेरै काम गर्छु ।' मैले भने 'तपाईंले कुनै काम गर्नुहुन्न, पहिले मुलुकमा लोकतान्त्रिक व्यवस्था हुनुपर्छ, त्यसपछिमात्र तपाईं जनताका आवाज सही ढंगले बुझ्न सक्नुहुन्छ' भनेको थिएँ । आयोगको अध्यक्ष भएपछि उहाँमा पदमोह बढ्दै गएको देखियो । उहाँलाई नपुग्दो केही छैन । मिहनेती बेलायती श्रीमान्, हुर्किसकेका अमेरिकी तीन-तीन भाइ छोरा र आफू शुद्ध नेपाली आमा भएर राजधानीमा सभा सेमिनार र बैठक गरेर हिंड्न पुगिरहेकै थियो । मैले सोही दिनको फोनमा भनेँ- 'दिदी, नजानु थियो जानुभयो, अब राम्रो काम गरेर केही देखाउन सक्नुहुन्न, समाजमा भएको तपाईंको प्रतिष्ठा पनि गुमाउनुभयो, अब यति हो धेरै नराम्रो काम नगर्नु, अरू के भनौं ?' मलाई थाहा छ, २०३६ सालको बहुदल र निर्दलको आमचुनावमा उहाँ बहुदलको प्रचारमा कांग्रेसतर्फबाट धनकुटा खटिनुभएको थियो । मसँगको सम्बन्ध त्यही बेलादेखिकै हो । उहाँलाई त्यतिखरे हाम्रा दाजुभाइ कसैले पनि सहयोग गरेनन् । गाउँमा दाजुभाइ सबैजसो पञ्च थिए । म ११ वर्षको थिएँ, मलाई खै किन हो त्यतिखेरै पनि पञ्चायती शासकहरूप्रति घृणा लाग्थ्यो र धनकुटामा हुने पञ्चायत विरोधी जुलुश र सभामा बाल वक्ताका रूपमा मञ्चबाट भाषण गर्न थालेको थिएँ । मलाई राजनीतिमा त्यति थाहा थियो पहेंलो रंग पञ्चको हो, त्यो रंगलाई हराएरै छाड्नुपर्छ । नभन्दै दुर्गा दिदी काठमाडौंबाट आएपछि म उहाँसँग बहुदलको पक्षमा जनमत बटुल्न खोकु छिन्ताङदेखि धनकुटाका विभिन्न गाउँ पुगेको हिजोजस्तो लाग्छ । सूर्यबहादुर थापाले छिन्ताङ काण्ड मच्चाएर रक्तरंजित पारेको केही समयमै दिदी र म सहिद परिवारहरूको घर-आँगन पुगेर शासकीय बर्बरताको चरम रूप अध्ययन गरेका थियौं । - वासिङटन डीसी, संयुक्त राज्य अमेरिका ।
Read Full Discussion Thread for this article