Posted by: Kedar_Sharma February 25, 2006
What makes a person hindu?
Login in to Rate this Post:     0       ?        
साथीहरू, हुन त तपाईँहरू अङ्ग्रेजी भाषामा छलफल गरिरहनु भएको छ र मेरा यी विचार "को हिन्दू हो" वा "हिन्दूमा हुनुपर्ने गुणहरू" भन्ने प्रश्नसित सिधै सम्बन्धित छैनन्। तर पनि यहाँ राखेको छु। सम्बन्धित ठान्नुभयो भयो भने छलफलमा ल्याउनुभए हुन्छ। नत्र बेवास्ता गरिदिनु होला। यो himalkhabar.com को स्तम्भ "आप्नै अक्षर" मा प्रकाशित छ। छालाको पहिचान अर्थात् नेपालमा रङ्गभेद Friday, 10 February 2006 - केदार शर्मा नेपालमा जातपातको भेद त छँदैछ, मान्छेको छालाको रङ हेरेर भेदभाव गरिने ठाउँहरू छन्। तपाईँले त्यसको अनुभव गर्नु भएको छ? त्यस्ता ठाउँहरू हुन् पशुपतिनाथको मन्दिर लगायतका "प्रवेश, हिन्दूहरुका लागि मात्र" लेखिएका मन्दिरहरू। झट्ट हेर्दा त त्यहाँ रङ्गभेद देखिँदैन, धर्मभेद मात्र देखिन्छ। अनि "हिन्दूहरूको आस्थाको केन्द्रमा प्रवेश गर्नमा यस धर्मप्रति आस्था नभएका व्यक्तिहरूलाई रोक्नु स्वाभाविक हो" भनेर तर्क गर्न सकिन्छ, जुन अहिलेसम्म गरिएको पनि छ। तर समस्या यहीँबाट सुरु हुन्छ। हामी नेपालीहरू नै पनि हिन्दू मात्र छैनौँ। धेरैजना त जन्मजात रूपमा नै गैर हिन्दू छौँ र कतिले पछि आफ्ना धार्मिक आस्था फेरेका छौँ। आफैँलाई उदाहरण बनाएर थालूँ। म हिन्दूधर्मावलम्बी पहाडे बाहुनका कुलमा जन्मेको हुँ। तर मैले संसारमा रहेका कुनै पनि धर्म अङ्गीकार गर्नसक्ने सम्भावना सदैव विद्यमान छ। म सम्पूर्णरूपमा नास्तिक पनि हुनसक्छु। नास्तिक हुनु भनेको पनि हिन्दू रहनु होइन। तर म र मेरो जस्तै अनुहार भएका व्यक्तिहरूलाई पशुपतिमा प्रवेश गर्नबाट कसैले रोक्न सक्दैन। "प्रवेश हिन्दूहरुका लागि मात्र" भन्ने बोर्डमा ठाडै धोती लाग्छ। हामी धेरैले त्यसो गरेका छौँ। म र मेरी श्रीमतीले हाम्री पाकिस्तानी मित्र मरजानलाई पशुपतिनाथमा राम्ररी घुमाएका छौँ। कम्बोडियाली क्रिस्तान साथी होर रचना पनि पशुपति घुमेका छन्। मलाई गैर हिन्दूहरूलाई पशुपति घुमाउन एकदमै रमाइलो लाग्छ र म मौका पर्नासाथ त्यो काम गरिहाल्छु। केही महिना अघि बाङ्लादेशी टीभी पत्रकार एस्एम् आकाशलाई पशुपति पुर्‍याउन भ्याएइन र उसलाई भन्दा बेमोज हामीलाई लाग्यो। पशुपतिनाथमा जस्तै हिन्दूहरुलाई मात्र प्रवेश गर्न दिने जस्तो सङ्कीर्ण नियमका सूचनापाटीहरू ठाउँ ठाउँमा छन्। तर त्यहाँ रहेको हिन्दू र गैरहिन्दू छुट्याउने एउटा मात्र तरिका हो छालाको रङ। त्यहाँको ढोके प्रशासनका लागि धेरै गोरा, धेरै काला, धेरै चिम्से (युरोपेली, अफ्रिकी र चिनियाँ-मङ्गोल) हरू बाहेक संसारको जुनसुकै पनि व्यक्ति पनि हिन्दू हुनसक्छ। तर अनुहार अनुसार रोकिएकाहरुले भने जीवन नै हिन्दूधर्ममा समर्पण गरे पनि पशुपतिनाथको मन्दिर भित्र पस्न पाउँदैनन्। सानो उहाहरणः इस्कोनको मन्दिरमा गएर हिन्दूधर्ममा इस्कोनको भूमिकाका बारेमा भाषण गर्न कोही पछि पर्दैनन् तर त्यहाँका गोरा हरेकृष्णपन्थीहरू पशुपतिनाथको मन्दिरमा छिर्न पाउँदैनन्। तर त्यही आश्रममा बसेर त्यही भजन जप्ने भारतीय, नेपाली, पाकिस्तानी, श्रीलङ्काली मूलको व्यक्तिलाई भने पशुपतिमा निर्वाध प्रवेश छ। हिन्दूधर्मको यो अवधारणा अवैज्ञानिक, अतार्किक र असहिष्णु मात्र होइन जातिवादी र रङ्गभेदवादी पनि हो। हामी एक्काइसौँ शताब्दीका तार्किक, उदार, सहिष्णु र समावेशी मान्छेका रूपमा बाँच्न चाहन्छौँ भने यस्ता कुरामा पनि प्रश्न उठाउन थाल्नै पर्छ। के हुनसक्छ प्रवेशको आधार? हामी अरूका लागि मात्र होइन आफ्नैलागि पनि उदार हुनुपर्छ। पशुपतिमा प्रवेश पाउँ भनेर हामीकहाँ निवेदन दिन कोही आउँदैन। हाम्रो पाखण्डको अन्त्य हामीले आफैँ गर्नुपर्छ। पशुपतिनाथको मन्दिर विश्व सम्पदासूचिमा परेको छ भनेर गर्व गरिरहने हो भने पनि यसमा विश्व नागरिकहरूलाई प्रवेश गर्ने बाटो पनि खोल्दै जानुपर्छ। "प्रवेश हिन्दूहरूका लागि मात्र" लेखेको बोर्ड अचानक हटाउँदा हिन्दूधर्मका ठेकेदारहरूको चित्त नराम्ररी दुख्‍न सक्छ र त्यो बोर्डसँगै त्यो हटाउने व्यक्तिहरूले पनि हट्नु पर्छ। त्यसैले एउटा सजिलो आधार किन नलिने? पहिलो चरणमा त्यही बोर्डलाई "प्रवेश हिन्दूधर्ममा आस्था राख्‍ने व्यक्तिहरूका लागि मात्र" बनाएर सामान्य संशोधन गरे हुन्छ। दोस्रो चरणमा त्यसलाई "प्रवेश यस मन्दिरको धार्मिक र सांस्कृतिक महत्वमा आस्था राख्‍ने व्यक्तिहरूका लागि मात्र" बनाउँदै बिस्तारै हटाउन नै सकिन्छ। पशुपतिनाथको मन्दिरमा विदेशीहरूलाई पस्न नदिने ढोके प्रशासनले मन्दिरका पछाडि गएर नेपालीहरूको दाह संस्कारका प्रकृयाहरूलाई रमाइलो मानेर हेर्ने छुट भने दिएको छ। सबैका ईश्वर हेर्न भने प्रतिवन्ध लगाउने र व्यक्ति र परिवारका नीजि दुःखका क्षणलाई भने रमिता बन्न दिने असंवेदनशीलताको जन्मथलो एउटै हो। ईश्वरलाई आफ्नै मात्र ठान्ने र आफन्तहरूको मृत्युको शोक नै थाहा नभएकाहरूले मात्र यस्तो नियम बनाउन र कायम राख्‍न सक्छन्। श्री पशुपतिनाथले हामी सबैलाई लचिलो र उदार बनाएर दीर्घ जीवन दिउन्।
Read Full Discussion Thread for this article