Posted by: Ok February 22, 2006
Khagendra Sangraula: PART 2
Login in to Rate this Post:     0       ?        
हो, सर्वोच्चको फैसलाले किटानीसाथ भन्यो, राजकीय सत्ताको शक्तिको स्रोत जनता हुन्, राजा होइनन् । यहाँ मलाई एउटा कुरा थप्न मन छ । त्यसो त सर्वोच्च अदालतको शक्तिको स्रोत पनि जनतै हुन् । दल र माओवादीको निरंकुशता विरोधी १२ बुँदे समझदारीले जनजनका मनमा उत्ताल उमङ्ग जगायो । न्यायमूर्तिहरूका दृष्टिलाई त्यो उमंगले खिच्यो होला । नगर चुनावमा राजाको कन्तजोकको हैसियत उजागर भयो । त्यो तथ्य पनि न्यायमूर्तिहरूका नजरमा पर्‍यो होला । चुनावकालमा लोकतन्त्रका यावत् शक्तिमाथि राजाको ज्यादतीले पराकाष्टा नाघ्यो । न्यायमूर्तिका मानसमा त्यो यथार्थले पनि स्पर्श गर्‍यो होला । राजाका जण्ड सेवक कमल थापा र तुलसी गिरीले शाही हुकुम नमान्नेलाई ताकीताकी गोली ठोक्ने आदेश जारी गरे । आदेशबमोजिम दाङमा गोली ठोकिँदाको जनमारा आवाजले पनि न्यायमूर्तिहरूलाई झट्का दियो होला । राजाको शासनमा सिङ्गो देश एक नारकीय कारागारमा पतीत भयो । न्यायमूर्तिलाई यो कुरूप सत्य पनि ज्ञात भयो होला । राजाको सर्वसत्ताविरुद्ध सिङ्गै देश जुर्मुराउँदै उठ्न थाल्यो र सिङ्गै विदेश चर्को न चर्को स्वरमा बोल्न थाल्यो । भित्रको र बाहिरको त्यो आवाज पनि न्यायमूर्तिहरूका कानमा गुन्जिन पुग्यो होला । यसरी सर्वोच्चका यी पाँच पुरुषलाई जनताको धड्कन, समयको पदचाप र इतिहासको दिशाको बोध भयो होला । र नै सांकेतिक रूपले निजहजुरहरूबाट गगनभेदी गुन्जनका साथ उद्घोष भयो, एक्काइसौँ शताब्दी जनताको युग हो । भासन गर्ने र शासन गर्ने राजाको जमाना सकियो । पवनमा अर्को अनुहार छ श्रीषशमशेर राणाको । यी राणा जब राजाका सञ्चार मन्त्री बनाइए, मलाई एउटा नयाँ कुरा थाहा भयो । सुन्दैमा अचम्म लाग्छ, यी पनि पत्रकार रहेछन् ! 'शमशेर' र 'राणा' त यी हुँदै हुन्, अझ त्यसमाथि दरबारसेवी पत्रकार हुनाले यिनले मन्त्री पद पाएका होलान् । लाग्छ, टीके मन्त्रीहरूको झुन्डमा सबैभन्दा प्रभावहीन पात्र यिनै हुन् । यिनको न विचारमा संकल्प छ, न बोलीमा ओज छ, न भाषामा प्रवाह छ, न मुहारमा आभा छ । बिजुली पर्दामा यिनलाई देख्दा मलाई जहिले पनि दरबारको पटाङ्गनिीको निष्प्राण बुख्याँचा देखेजस्तो लाग्छ । र यिनलाई देख्यैपिच्छे म हाँस्छु । जब बोल्न थाल्छन्, यी शमशेर आफैंलाई लोप्य्राउँछन् । लोप्पाको भाषामा घरिघरि यी भन्छन्, स्वतन्त्र सञ्चारलाई मैले दमन गर्न नसकेको आँट नभएर होइन, कानुन नभएर हो । सर्वोच्चको घोषणाले कुरो घुमाएर भनिसक्यो, हुकुमी अध्यादेशमा चलेको राजाको सिङ्गो शासन नै अवैध छ । तर श्री ३ टाइपका मन्त्री श्रीशशमशेर राणा हलचलकारी यो खबरबारे नै बेखबर छन् । अस्तिमात्र यिनले भने, स्वतन्त्र सञ्चारलाई दमन गर्न तीन-चार महिनामा कानुन आउँछ । राजाको शासन जगैदेखि डगिसक्यो, यिनको बक्बक् भने तैपनि डगेको छैन । अचम्म छ बा ! पवनमा हल्लिरहेको अन्तिम अनुहार हो महामहिम मोरिआर्टीको । दुब्लो र मायालाग्दो काया भएका यी मोरिआर्टीको मति मलाई नम्बर एक अवसरवादी कमल थापाको जस्तो लाग्छ । हिजोको आजै बोलेको बोली फेर्न यी दुई मानव माहिर छन् । जब सात दल र माओवादीमाझ १२ बुँदे समझदारी हुँदै थियो, मोरिआर्टी कुदेर तल दिल्ली पुगेका थिए । दिल्ली पुगे र यिनी अप्रत्यक्षरूपले समझदारीको साक्षी बसे । तर आपmनो सनातन स्वभावअनुसार अहिले यिनको बोली पर्लक्कै पल्टेको छ । अस्तिमात्र यिनको एक डोज अर्ती सुन्न पाइयो । अर्तीमा यिनले सात दललाई भने, माओवादीलाई त्याग र राजासँग मिल । भाषामात्र फरक हो, मोरिआर्टीको आशय 'दलहरू गएर राजाका टाँगामुनि छिर' भन्ने हो । कुरो प्रस्ट छ, महामहिमको यो अर्ती निरंकुश राजतन्त्रवादी अर्ती हो । मानौँ बोल्ने मुख मोरिआर्टीको हो, बोलिएको विचार कमल थापाको । मेरो विचारमा १२ बुँदे समझदारी अशान्तिलाई न्यायपूर्ण शान्तिमा फेर्ने एक विचारशील र साहसिक फड्को हो । यो जनस्तरीय बृहत् मोर्चाको शिलान्यास हो । तर मोरिआर्टीको विचार सुन्दा लाग्छ, अमेरिकी सरकार नेपालमा हुकुमी शासनको छत्रछायाँमा युद्ध, युद्ध र युद्धमात्र देख्न चाहन्छ । इतिहास भन्छ, अमेरिकी सरकार प्रायशः नेपाली लोकतन्त्रको बाधक रहिआएको छ । यसले पहिले 'सकारात्मक सन्देश' को भ्रम छरेर आन्दोलनलाई एक राउन्ड बिथोल्यो । अहिले माओवादी हाउगुजी देखाएर आन्दोलनलाई अर्को राउन्ड बिथोल्न यो यत्नशील छ । महामहिम मोरिआर्टीमार्फत अमेरिकी सरकारछेउ मेरा केही प्रश्न छन् । अमेरिकाले दलहरूलाई कुन राजासँग मेलमिलाप गर्न अर्ती दिएको हो ? लोकतन्त्रका संवाहक दलहरू, स्वतन्त्र सञ्चार र स्वामिभानी नागरिक समाजलाई बुटले कुल्चेर हुकुमी शासन चलाउन हत्ते हाल्ने राजासँग ? राजनीतिक समस्या गोलीले र केवल गोलीले हल गर्न हठ गर्ने राजासँग ? आपmनो स्वेच्छाचारी हुकुम नमान्नेजतिलाई बोल्न र चल्न नदिने र तिनलाई थोकथोक सङ्ख्यामा खोरमा थुनेर रजाइँ गर्ने राजासँग ? दमन, कलह र युद्धमा मात्र आपmनो शासनको भविष्य देख्ने राजासँग ? भोका र नाङ्गा जनताका आँसु टुलुटुलु हेर्दै सालिन्दा दसौँ करोड रुपियाँका दरले आपmनो भत्ता बढाउने अनि आडम्बरी अभिनन्दन, विलासी भ्रमण र निरर्थक चुनावमा गरिब मुलुकको दुर्लभ पैसाको खोलो बगाउने राजासँग ? आपmनो मातहतको सेनालाई समाजविरुद्ध प्रयोग गरी दण्डहीनताको प्रत्याभूति दिने राजासँग ? भ्रष्टाचारलाई सदाचार, रक्तपातलाई शान्ति, राष्ट्रिय बदनामीलाई राष्ट्रिय इज्जत र लोक सम्मतिको अनादरलाई लोकसम्मतिको आदर ठान्ने राजासँग ? यतिखेर सिङ्गो नेपाल तीव्र द्वन्द्वबीच दुई मुखर मतमा विभाजित छ । राजालाई बोक्ने मत र राजालाई बिसाउने मत । नगर चुनावमा राजाले पाएको फर्जीसहितको मतसङ्ख्या भन्छ, नेपालीहरूको असी प्रतिशत मत राजालाई बिसाउन आतुर छ । तर मोरिआर्टीका मुखबाट अमेरिकी सरकार हामीलाई प्रतिगामी अर्ती दिँदैछ, तिमीहरू राजालाई बोक ! यो अर्तीमा अनुदार चरित्रको एकल विश्व साम्राज्यको दुर्दान्त दम्भको कडा गन्ध आउँछ । निरंकुश राजतन्त्रका पहरेदार कमल थापाको काम गर्न नेपालीभाषी कमल थापा एक्लै पर्याप्त छन् । मोरिआर्टीको भेषमा आङ्लभाषी कमल थापा किन चाहियो ? तसर्थ महामहिम, झिटीगुन्टा बोकेर झटपट यहाँ स्वदेश फर्किनुभए बेस होला । तुफानी गतिमा लोकतान्त्रिक गणतन्त्रतर्फ हिँडेको नेपालमा अमेरिकी कमल थापाको बक्बक् खपिनसक्नु भो।
Read Full Discussion Thread for this article