Posted by: Ok February 22, 2006
Khagendra Sangraula: PART 2
Login in to Rate this Post:     0       ?        
(उहिले नै यो साझामा मैले सुरु गरेको प्रसिद्ध लेखक खगेन्द्र सँग्रौलाका लेखहरुको सँगालो भेट्नै सकिन। त्यसैलाई नियमितता दिन, फेरी लामो समयको अन्तरालपछि यो दोस्रो भाग सुरु गरेको छु, छिट्टैनै लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनाको कामना सहित। - ओके) http://www.kantipuronline.com/kolnepalinews.php?&nid=66202 न्यायमूर्तिको सद्बुद्धि र मोरिआर्टीको अर्ती : खगेन्द्र संग्रौला मजे बोल्छु, त्यो कानुन हो । म जे गर्छु, प्रजातन्त्र त्यै हो । जसले होइन भन्न आँट गर्छ उसको नियति दाङका उमेशचन्द्र थापाको जस्तै हुनेछ । राजा ज्ञानेन्द्रको कठोर शासनको क्रूर सन्देश यस्तो थियो । तर सर्वोच्च अदालतले भन्यो, महराज ! संविधानको चश्माले हेर्दा मौसुफबाट यसो भन्न नमिल्ने देखियो । कति राम्रो भनेको ! यो मेरा पुर्खाले दुःखले आज्र्याको मुलुक हो । यस मुलुकको राजकीय सत्ताको स्रोत मै हुँ । तसर्थ यहाँको सार्वभौमसत्ता पनि मेरै मुठीमा छ । राजशाहीको अर्को अनधिकृत सन्देश यस्तो थियो । तर सर्वोच्चले संविधानका केस्राकेस्रा केलाएर घोषणा गर्‍यो, सरकार ! संविधानको तुलोमा तौलेर हेर्दा यो सन्देशको तौल पनि नपुग्ने ठहर भो । त्यसैले सरकार ! मौसुफका मुखारविन्दबाट आइन्दा यसो भन्न पनि नमिल्ने बुझियो । यसरी राजतन्त्रपीडित यस मुलुकमा केही भयो । सर्वोच्चका पाँच पुरुषले न्यायको महलमा एउटा नौलो ढोका खोले । तिनले इतिहास बनाए । र तिनले नेपालीहरूलाई अपहेलित र अशक्त रैतीबाट सम्मानित र सशक्त नागरिकमा फेर्न अग्रगमनको ध्वजा उठाए । स्वतन्त्रताको यो ध्वजा गौरवमय छ । सर्वोच्चको केही समययताको निहुरमुन्टे ताल देखेर धेरैका मनमा अनिष्ट आशंकाहरू उब्जिँदै गएका थिए । के शाही शासनका न्यायाधीशहरूका अनुहार केवल हरिप्रसाद शर्मा, दिलीपकुमार पौडेल र पवनकुमार ओझाकाजस्ता मात्र हुने हुन् ? तर यसपाला अलि फरक कुरो भयो र यो आशंकाले हाललाई बिदा पायो । यो फैसला लाभको लोभ र हुकुमको भयबाट मुक्त पात्रहरूबाट सम्पन्न भयो । निजका शुभनाम हुन्, केदारप्रसाद गिरी, मीनबहादुर रायमाझी, रामनगिना सिंह, अनुपराज शर्मा र रामप्रसाद श्रेष्ठ । फैसला जब आयो, कतिपय रहस्यमय जीवले सहरमा एउटा हल्ला फिँजाए । तिनले भने, यो फैसला उदार राजाका कृपाको फल हो । यस भनाइमा अन्तर्निहित आशय थियो, सर्वोच्च अदालत राजाको अरौटे नोकर हो । राजा जे-जे अराउँछन् यो त्यही-त्यहीमात्र गर्छ । यी जीवहरूको यो कलुषित कथन सुनेर मलाई जङ चल्यो । र मेरो पालो यिनका भनाइको जबाफ भाँती पारेर दिएँ । भनेँ, दरबारमुखी बन्धु ! यसरी नाक फेदैदेखि काटिमाग्न राजाले राजीखुसी तरबारलाई आपmनो नाक प्रदान गरे होलान् र ? जबाफ कडाकडै थियो । जबाफ जब सुने, शाहीपथका यी बटुवाहरूका बक् बन्द भए । अनि यी अँध्यारा दुलामा कुखुरा चोरी खाने स्यालका समीपमा कतै अलप भए । अहिले मेरा कानमा सर्वोच्चको फैसलाको स्वर गुन्जिरहेको छ । र मेरा आँखा अघिल्तिरको पवनमा भाट प्रकृतिका केही आदिम अनुहारहरू झरेका पातझैँ हल्लिरहेका छन् । पवनमा सबभन्दा अगाडि पवनकुमार ओझाको अनुहार छ । उनै पवनको अनुहार जो फैसलाको अन्तिम घडीसम्म अखण्ड चाकरीको भाषामा हिन्दु राजाको दुहाई दिनमा मग्न थिए । कर्कश स्वरमा कन्दै पवनजी भन्दैथिए, हिन्दु राजा संविधानभन्दा माथि विराजमान छन् । फैसलासँगै यिनको जंगली आस्थाको जनद्रोही महल गल्र्याम्गुर्लम् ढल्यो । तैपनि यी पवन निधारमा न्यायमूर्तिको बिल्ला टाँसेर तलब-भत्ता थाप्न सर्वोच्चतिर लुखुरलुखुर धाइरहेका म देख्छु । अर्को अनुहार हो राजाका मन मिलेका सल्लाहकार तुलसी गिरीको । यी उनै पत्रु तुलसी गिरी हुन् जो जनचेतनाको उर्लँदो आगोमा सल्किएर राजा महेन्द्रको परम्पि्रय तानाशाही पराजित हुँदै गएको दृश्य हेर्न नसकी भूमि, भाषा, नागरिकता र धर्म त्यागेर मुङ्लान भासिएका थिए । नागरिक स्वतन्त्रताविरुद्ध जब राजा ज्ञानेन्द्रको पाइलो उठ्यो, इसाई धर्म बेचबिखन गरी गोजेरो भर्न पिटर गिरी बनेका तुलसी गिरी उत्ताउलिएर फुर्किँदै र कानसम्म मुख च्यातेर हाँस्दै नेपाल फर्के । हिजोसम्म यी गिरी कुर्लिँदै थिए, वेदका ऋचाको ध्वनि सुनेर सिंहासनमा बसेपछि देवतातुल्य राजालाई कुनै पनि कानुनको बाह्र हातको टाँगोले छुँदैन । तर फैसलाले भन्यो, मिस्टर पिटर गिरी ! टाँगाले छुन्छ । कानुनी राजको युगमा राजाको मनपरी चल्दैन । यो फैसलासँगै तुलसी गिरीको स्वामीभक्तिले भरिएको वचन पनि परास्त भयो । तैपनि यी अगस्ती गिरी झन्डा हल्लाउँदै राज्यकोषको रकम ज्युनार गर्न र मौका परे फेरि पनि ब्यांकलाई ठग्न कटिबद्ध छन् । पवनमा अनुहारको लाममा प्रकाश कोइराला र आरके मैनालीका अनुहार हल्लिरहेका छन् । यिनलाई लागेको हुँदो हो, आकाशमा चन्द्र र सूर्य रहुन्जेल नेपाल अधिराज्यमा राजाको हुकुमी शासन अकन्टक रहनेछ । त्यसैले केवल खानका लागि बाँचेका यी मनुवा दलबाट भागेर ठूलो भाग खान दरबार पसेका थिए । फैसलाको झट्काले दरबारको रक्तरञ्जित भान्सामा आठ रेक्टर स्केलको भुइँचालो गइसक्यो । तैपनि यी खाइदेउ द्वय हातमा टपरी बोकेर गरिमाहीन मुद्रामा दरबारको फेरो मारिरहेका छन् । सर्वोच्चको 'तेरा कुरा इस्' भन्ने आशयको फैसला सुनेर मध्ययुगीन दरबारका यी सारा पुर्जाहरूलाई थोरैमात्र पनि लाज नलागेको देख्दा मलाई लाज लागेको छ । क्रमश:
Read Full Discussion Thread for this article