Posted by: nut February 15, 2006
American Embassy
Login in to Rate this Post:     0       ?        
Reply to Moriarty statement in Kantipur editorial. अमेरिकी अन्योल अमेरिकी राजदूत जेम्स एफ मोरियार्टीले राजा र दलहरूबीच मेलमिलाप हुनुपर्छ भन्ने आफ्नो पुरानो अडान दोहोर्‍याउने क्रममा माओवादीका सकारात्मक प्रस्तावप्रति पनि उस्तै शंका प्रकट गरेका छन् । दल र माओवादीबीच भएको बाह्रबुँदे समझदारीपछि माओवादी नेतृत्वबाट हालै दिइएका अन्तर्वार्तामा पनि उनीहरूको विध्वंसात्मक अन्तदर्ृष्टि प्रमुख रहेको उनको निष्कर्षले राजनीतिक ध्रुवीकरणप्रति उदासीनता देखाएको छ । राजा र दल मिल्नुपर्छ भन्ने परम्परागत नीतिप्रति प्रतिबद्ध रहँदारहँदै पनि माओवादीलाई राजनीतिक मूलधारमा प्रवेशको सम्भावना अस्वीकार गर्ने उनको अभिव्यक्तिले अन्ततः राजालाई नै शक्ति सुदृढ गर्न प्रेरित गरेको छ । शाही कदमको एक वर्षमा राजसंस्थाको शक्ति र प्रभाव कमजोर भएको र सबै फाइदा माओवादीले पाएको मोरियार्टीको अनुमान सही हो । राजाको अधिनायकवादी शासन असफल भएको र दलहरूको सक्रिय सहभागिताबेगरको राजाको एक्लो शासनबाट संकट समाधान अवरुद्ध भएको अमेरिकी दृष्टिकोण सत्यमा आधारित छ । शाही नेपाली सेना राजनीतिक दल र नागरिकहरूमाथि प्रयोग हुन सक्ने खतरा देखी अमेरिकासमेतले सैन्य सहयोग स्थगित गरेकै हो । माओवादीप्रति उनको समान दृष्टिकोणबाट प्रमुख राजनीतिक दलहरूले कायम गरेको समझदारी तथा राजनीतिक ध्रुवीकरणको दबाबप्रति नकारात्मक सोचका कारण अन्ततः उनैले भनेको अधिनायकवादलाई सहयोग पुर्‍याइरहेको छ । अमेरिकाले साहसपूर्वक नगर निर्वाचनलाई खोक्रो अभ्यास भन्ने टिप्पणी गरे पनि राजालाई आगामी आम निर्वाचन घोषणा गर्न र त्यसअघि दलहरूलाई सत्तामा सहभागी गराउन सन्देश दिएको छ । दलहरू विद्रोही माओवादीसँगको समझदारी तोडेर एक्लै सत्ताका लागि राजासँग हातेमालो गर्न जाने अवस्थामा छैनन् । जुन कारणवश ०५९ साल असोजमा निर्वाचन स्थगित गरिएको थियो त्यो परिस्थिति राजाको प्रत्यक्ष हस्तक्षेपका कारण झन् जटिल भएको छ र माओवादीले राष्ट्रव्यापी विस्तार गर्ने अवसर पाएका छन् । निर्वाचनअघि माओवादी विद्रोहलाई लोकतान्त्रिक राजनीतिक रूपान्तरण गर्नुपर्ने परिस्थिति आत्मसात गर्न अमेरिकाले चाहेको देखिन्न । लोकतन्त्र अपरिहार्य राजनीतिक प्रक्रिया भए पनि त्यसको बहालीका लागि रक्तपात रोक्न आवश्यक पर्ने मार्गचित्रप्रति अमेरिका निरपेक्ष बस्न खोज्नु स्वाभाविक छैन । त्यो निरपेक्ष व्यवहारले स्थायी शान्तिका सम्भावनालाई शिथिल तुल्याउन बल पुर्‍याएको छ । ँमाघ १९’ को घोषणालगत्तै राजदूत मोरियार्टीले राजाबाट सय दिन माग गरिएको सार्वजनिक जानकारी दिएका थिए । त्यसपछि पनि दलहरूलाई राजासँग मिल्न जानुपर्ने सन्देश दिन उनले छाडेनन् । कहिले दलहरूलाई राजासँग मिल्ने उपाय खोज, कहिले राजालाई दलहरूसँग हात बढाऊ भन्ने अभिव्यक्तिमार्फत उनले अन्योलपूर्ण कूटनीतिक पहल जारी राखिरहे । शाही कदमका असफलताको वस्तुगत चित्रण गर्न कञ्जुस्याईं नगरे पनि माओवादीले राजधानी कब्जा गर्लान् भन्ने चिन्तामार्फत माओवादीको राजनीतिक समाधानका सम्भावना बेवास्ता गर्नु उनको प्रमुख विशेषता देखिएको छ । माओवादीप्रति आम नागरिकमा शंका उपशंका बाँकी नै छ, तैपनि तिनले अघि सारेका राजनीतिक प्रस्ताव र राजनीतिक दलहरूले गर्न थालेको पहलबाट रक्तपात रोक्न सकिनेतर्फ उनको वितृष्णा स्वाभाविक छैन । अन्तर्राष्ट्रिय समुदायले ०५९ असोज १८ को घोषणापछि समयमै नेपालको बिग्रने छाँट पहिचान गर्न सकेन । माघ १९ को उत्कर्षमा पुग्नुअघिसम्म दलहरूलाई सरकारमा जान दबाब दिने अन्तर्राष्ट्रिय समुदायको मुख्य भूमिका देखियो । शासनको बागडोर आफैं लिने दरबारको महत्त्वाकांक्षाबारे लगभग अनभिज्ञझैं देखिएको कूटनीतिक समुदायले माओवादीलाई मूलधारमा ल्याउने वास्तविक संवादको संयन्त्रतर्फ ध्यान नदिनु यो संकटको निरन्तरताको एक कडी पनि हो ।
Read Full Discussion Thread for this article