Posted by: Nepe February 2, 2006
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
१: प्रचलनमा आइसकेका बिचार, उखान-टुक्का प्रयोग गर्नु कतै लेखनमा आफ्नोपना नहुनु त हैन ? नयाँ र नितान्त आफ्नो बिचारलाई उखान-टुक्काको जस्तो रुप दिन सक्नु पो उपर्युक्त हो कि? नि:सन्देह । परन्तु उखान-टुक्काको प्रयोगमा सटिकता छ भने त्यसलाई अर्धमौलिकता मान्नु पर्छ । मैले माथि उखान-टुक्का र शेर एउटै साँचोमा ढालिने उत्पादन हुन् भनेर जो भने त्यसमा मैले कस्तो शेर उत्कृष्ट हुन्छ भन्ने प्रश्नको मेरो निजी उत्तर पनि दिएको हुँ । जब कुनै शेर उखान-टुक्का सदृश हुन्छन, तब ठान्नु बन्यो उत्कृष्ट शेर । जसरी हामी दैनिक वार्तालाप देखि औपचारिक वार्तालापसम्म उखान-टुक्काहरु प्रयोग गरेर वार्तालापलाई सरस र सटिक बनाउछौं, गजल-सम्पन्न भाषा (हिन्दी, उर्दु) का भाषीहरु उखान-टुक्का देखि लोकप्रिय शेरहरु उद्धरण गरेर त्यसो गर्छन् । नेपाली भाषाका वार्तालापमा पनि नेपाली शेरहरु उद्धरण हुने दिन आउनेछ भनेर सपना देख्छु म । लक्ष्मी प्रसाद देवकोटा, भूपि शेरचनहरुले गजल लेखिदिएको भए त्यो अवस्था आईसकेको हुन्थ्यो । हुन त भूपिका कतिपय कवितांश हरु शेरका भाँती उद्धरण नहुने होईनन् । तर लक्ष्मी प्रसादका कतिपय सन्देशसमृद्ध कविताहरु तिनमा संक्षिप्तताको अभावले गर्दा उद्धरण हुँदैनन्, केवल नाम मात्र लिईन्छ । २: ... गजल गायन योग्य हुनु पर्छ भन्ने कुरालाई ध्यानमा राख्ने हो भने जे मैले लेख्ने प्रयास गरेको छु, तिनीहरुले कतै गजलको उपहास त गरेको छैन? गजल गायन योग्य हुनुपर्छ भनेको के चाहिं होईन भने त्यो आनन्द कार्कीले नै गाउन सुहाउने र त्यसको चक्काले राम्रो व्यापार नै गर्नु पर्ने हुनु पर्ने । गेयात्मक भनेर मैले त्यसको विन्यासलाई भनेको हुँ, संगीतको बजारलाई होईन । गजल-सभा (मुसायरा) मा गाउन योग्य भनेको हुँ । र किनुवा उपभोक्ता होईन पारखी श्रोताको लागि भनेको हुँ, है ? ३: ...गजलको सान्धर्विकता [सान्दर्भिकता]... स्वभाविक रुपले कुनै शेरले समसामयिक, कुनै शेरले सर्वकालिन र कुनैले दुवै सान्दर्भिकता बोकेका हुन्छन् । मेरो विचारमा सबैको आ-आफ्नो मुल्य, महत्व छ र त्यसैले सबैले समान सम्मान पाउनु पर्छ भन्ने लाग्छ । सान्दर्भिकता भन्दा पनि महत्वको कुरा बरु वैचारिकता हो । ईमान्दार विचार कहिले पनि असान्दर्भिक हुँदैन । गैर-ईमान्दार विचार चाहि क्षणभंगुर हुन्छ, किनभने ढिलोचाँडो त्यसको पर्दाफास भईहाल्छ । सचेत रहनुपर्ने ठाम त्यो हो । ईमानदारीको कुरा गर्दा, गजलमात्र यस्तो विधा हो जसले कविलाई 'कन्फेशन' गरेर ईमान्दार रहने जुक्तिको लागि एउटा छुट्टै ठाउँ राखिदिएको छ । हजुर, 'मकता' । त्यस्तो ठाउँ अरु कुनै विधामा छ ? गजल जिन्दावाद !
Read Full Discussion Thread for this article