Posted by: Ignitor January 23, 2006
Baburam's Latest Article
Login in to Rate this Post:     0       ?        
वर्तमान नेपाली आन्दोलन सामान्य सरकार परिवर्तन वा सुधारका निम्ति मात्र नभएर सामन्ती निरङ्कुश राजतन्त्रको अन्त्य गरेर लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने एक हदसम्मको युगीन चरित्रको हुनाले यसले कुनै विन्दुमा पुगेर हिंसात्मक चरित्र ग्रहण गर्नु अनिवार्य हुन्छ । यदि त्यो कथम्कदाचित पूरै शान्तिपूर्ण रह्यो भने त्यसबाट कुनै संरचनात्मक परिवर्तन हुने छैन भन्ने ठोकुवा गरे हुन्छ । किनभने, त्यो इतिहासका अनुभवविपरीत र राज्यसत्तासम्बन्धी वैज्ञानिक मान्यताविपरीत हुनेछ । यो जतिसुकै अपि्रय भए पनि वैज्ञानिक सत्य हो । शाहीसत्ताले माघ ७ को शान्तिपूर्ण जनप्रदर्शनमाथि प्रतिबन्ध लगाएर र त्यसविरुद्ध सशस्त्र हस्तक्षेप गरेर यसको पूर्वाभास दिइसकेको छ । त्यसैले सहरकेन्दि्रत शान्तिपूर्ण जनआन्दोलनविरुद्ध शाहीसत्ताले बल प्रयोग गर्दा त्यसको प्रतिरोध कसरी गर्ने र आन्दोलनलाई निश्चित गन्तव्यसम्म कसरी पुर्‍याउने भन्नेबारे आन्दोलनकारी नेतृत्वपङ्क्तिले बेलैमा विचार पुर्‍याउनैपर्छ । माओवादी-संसद्वादी समझदारी र सहकार्यको दीर्घकालीन महत्त्व र आन्दोलनको वास्तविक गाँठो यहीँनेर छ । दोस्रो कुरा, नेपालमा राजतन्त्र र शाही सेनाको जन्मजात नाभी गाँसिएको विशिष्ठ ऐतिहासिक तथ्य र शाही सेनाको उपल्लो नेतृत्वको सामन्ती अभिजातवर्गीय चरित्रलाई ठीकसँग बुझ्न नसकेसम्म लोकतान्त्रिक आन्दोलनको सङ्घर्षको स्वरूपबारे सधैँ अस्पष्टता र भ्रम रहिरहनेछ । राजतन्त्र र सेनाको इतिहास र वर्गचरित्र फरकफरक रहेको स्थितिमा राजतन्त्रविरोधी आन्दोलनमा सेना तटस्थ बस्ने वा उसले लोकतान्त्रिक शक्तिहरूलाई साथ दिने अपेक्षा गर्न सकिन्छ । विश्वइतिहासमा त्यस्ता उदाहरणहरू पनि छन् । तर, नेपालको शाही सेनाको नेतृत्वमा सामन्ती अभिजातवर्गीय राणा, शाह र गोर्खाली भारदार परिवारको निरन्तर वर्चस्व रहेको मात्र होइन, त्यसको चरित्र पहिले राणातन्त्र र पछि शाहतन्त्रको निजी पारिवारिक सेनाको जस्तो रहेको कुरा ०४६ पछिको बहुदलीयकालमा समेत पुष्टि भइसकेको छ । निश्चित रूपमा पछिल्लो चरणमा शाही सेनामा लोकतान्त्रिक चेतना भएकाहरूको सङ्ख्या उल्लेखनीय मात्रामा छ । यदि तिनीहरूले बेलैमा निर्णय गरेर लोकतन्त्रवादीहरूलाई साथ दिएमा शान्तिपूर्ण परिवर्तनको झिनो सम्भावना रहनेछ । अन्यथा शाही सेनाको संरचना र चरित्र यही सामन्ती अभिजातवर्गीय रहिरहेसम्म वा एउटा तप्काले साथ नदिएसम्म शान्तिपूर्ण ढङ्गले लोकतान्त्रिक गणतन्त्रको अपेक्षा गर्नु मृगमरीचिका मात्र हुनेछ । अमेरिकी सिनेटर प्याटि्रक लेहीको केही समयपहिलेको यससम्बन्धी विश्लेषण यतिबेला विशेष स्मरणीय छ ।
Read Full Discussion Thread for this article