Posted by: Ignitor January 23, 2006
Baburam's Latest Article
Login in to Rate this Post:     0       ?        
हिंसा र अहिंसाको प्रश्न शाही फौजी सत्ताका विरुद्ध संसद्वादी शक्तिहरूले अपनाइरहेको शान्तिपूर्ण जनआन्दोलनको बाटो र माओवादीले अङ्गीकार गरिरहेको सशस्त्र जनयुद्धको बाटोबीचमा कुनै मिलनविन्दु हुन सक्दैन भन्ने पनि कतिपयले तर्क गरिरहेछन् । कथित माओवादी घूसपैठ र हिंसाको हौवा खडा गरेर माघ ७ गतेको काठमाडाँैको जनप्रदर्शनलाई बिथोल्न शाहीसत्ताले गरेका हर्कतहरूमा पनि त्यही हिंसा र अहिंसाबीच अभेद्य चिनियाँ पर्खाल खडा गर्ने चिन्तनले काम गरेको देखिन्छ । विडम्बनाको कुरा, स्वयम् सैनिक ब्यारेकभित्र बस्ने र कम्ब्याट ड्रेस लगाएर शाही सेनाको पहरासँगै मात्रै विचरण गर्ने राजा र उनका भक्तहरू पीतवस्त्रधारी आजीवन शान्तिवादी कृष्ण पहाडीहरूलाई जेलमा कोचेर अहिंसाको उपदेश दिइरहेछन् । सर्वप्रथम, यहाँ स्पष्ट हुनुपर्ने कुरा के हो भने सङ्घर्षको रूप सशस्त्र वा निःशस्त्र भन्ने कुरा कसैको इच्छा वा लडाइँमा निर्भर नभएर आन्दोलनको लक्ष्य र सत्ताधारीहरूको चरित्रमा भर गर्छ । यदि आन्दोलनको लक्ष्य कुनै युगीन वा संरचनात्मक परिवर्तन नभएर सामान्य सरकारको हेरफेर वा सुधारात्मक परिवर्तन मात्र हुन्छ भने र सत्ताधारीहरूको चरित्र निरङ्कुश र फासिस्ट नभएर लोकतान्त्रिक वा उदार हुन्छ भने त्यहाँ सङ्घर्षको स्वरूप पनि निःशस्त्र वा शान्तिपूर्ण हुनसक्छ । तर, आन्दोलनको लक्ष्य युगीन प्रकृतिको संरचनात्मक परिवर्तनकारी छ र सत्ताको चरित्र निरङ्कुश एवम् दमनकारी छ भने सङ्घर्षको स्वरूप पनि प्रतिरोधात्मक र सशस्त्र हुनु अनिवार्य हुन्छ । इतिहासका सबै युगान्तकारी आन्दोलनहरू यसका साक्षी छन् । फेरि हिंसात्मक र अहिंसात्मक वा फौजी र राजनीतिक सङ्घर्षबीच कुनै चिनियाँ पर्खाल हुँदैन र अक्सर ती एक अर्काका पूरक हुन्छन् । प्रसिद्ध प्रसियन युद्धशास्त्री कार्ल वन् क्लाजविट्जको शब्दमा भन्ने हो भने, "युद्ध भिन्न प्रकृतिको -अर्थात् हिंसात्मक) राजनीति हो ।" निश्चित रूपमा शान्ति सबैको अभीष्ट हो र सम्भव भएसम्म सबैले शान्तिपूर्ण बाटोलाई नै प्राथमिकता दिनुपर्छ । तर, शान्ति र शान्तिवाद एउटै कुरा होइनन् । शान्तिवादले साध्यलाई भन्दा साधनलाई प्रधानता दिन्छ र निरपेक्ष रूपले शान्तिपूर्ण बाटोको वकालत गर्छ । फौजी बलमा टिकेको र दमनकारी तथा निरङ्कुश चरित्रको सत्ताका अगाडि परिवर्तनकामी जनसमुदायलाई निरपेक्ष रूपले शान्तिको मन्त्र जप्न लगाउनु अन्ततः निरङ्कुश सत्ताधारीहरूको सेवा गर्नु नै हुन्छ ।
Read Full Discussion Thread for this article