Posted by: Gautam B. January 22, 2006
Login in to Rate this Post:
0
?
le chef du nuit, छोटो, मीठो, तीखो गएछ ल।
तरुण तपसीलाई कविताको देशमा स्वागत ।
बिर्खे जिम्माल र माष्टर्नी नानीको लगनलाई सलाम।
आज अचेल चल्दै गरको कविता राख्दैछु। अझै धेरै मिलाउन बाँकी छ जस्तो लाग्छ। हुनत लेखिसकेको कवितालाई पछि आएर सच्याउन त्यति मन लाग्दैन मलाई, तर यसलाई भने अलिक मिलाउनै पर्ला जस्तो लागेको छ। अहिलेलाई साथीहरुको प्रतिकृया र सुझावको आशा गर्दै राख्दैछु।
"इतिहासको यो कालो पाना"
एउटा ब्याधा-
मासु नखाने घोषणा गर्छ संसार सामु
र घरभित्र पसेर
त्यसै उपलक्षमा परेवा काट्छ,
एउटा जँड्याहा हाकिम-
कहिल्यै नपिउने प्रण गर्छ अड्डामा
र घर फर्किँदा
त्यसै उपलक्षमा भट्टी पस्छ,
एउटा लम्पट लोग्ने-
धोका नदिने कसम खान्छ दशौँ पटकको
र सोझी स्वास्नी मन्दिर गएको बेला
लुसुक्क बेश्यागमन गर्छ;
इतिहासको यो कालो पानामा-
ब्याधाको राज छाएको छ
जँड्याहाले काज पाएको छ
र लम्पटले पाठ पढाएको छ;
इतिहासको यो कालो पानामा-
'कटवाल' को मुख थुनेर
यन्त्रमानवहरु भजन ओकल्छन्
समाचारको नाममा,
बन्दूक बोकेका कातरहरु
बन्द शहरका सडकलाई बलात्कार गर्छन्
बहादुरीका नाममा,
र निधारबाटै देश मेटिसकेकाहरु
ढाका टोपी लगाऊँछन्
देशभक्तिको नाममा;
इतिहासको यो कालो पानामा-
एकै दिन एकै प्रहर
एक हातले सञ्चार सम्मेलनको रिबन
र अर्को हातले टेलिफोनको तार काटिन्छ,
एकै ठाऊँ एकै ठहर
मुखले रामराज्य घोषणा गरीरहदाँ
हातले स्वतन्त्रताकी सीताको हरण गरिन्छ;
र म पनि सोधिरहेछु
इतिहासको यो कालो पानासंग-
ब्याधाको राज अब कति छ?
जँड्याहा संग इतिहास हाँक्ने के हुती छ?
र लम्पटसंग कुन नैतिक सम्पत्ति छ?
चुनौती हो यो मेरो
इतिहासको यो कालो पानालाई-
अब तँसंग
पाप लेखिन बाँकी
हरफनै कति पो छ?!