Posted by: Dalli Resham January 10, 2006
Again 16 Nepalese in Iraq
Login in to Rate this Post:     0       ?        
काठमाडौं, पुस २६ - सरकारद्वारा रोजगारीमा प्रतिबन्धित इराकमा दुई सातादेखि १६ नेपाली अलपत्र छन् । नेपाली र भारतीय एजेन्टमार्फत् भारतको मुम्बईबाट जोर्डन हँुदै त्यहाँ पुगेका ती नेपाली बग्दादमा रोजगारदाता लिन नआएपछि अलपत्र परेका हुन् । अहिले उनीहरूलाई प्रहरीले विमानस्थलमै थुनेको छ । '१६ नेपालीलाई यहाँको विमानस्थलमा प्रहरीले थुनेको छ' दुबईको आपूर्ति कम्पनी केएफसीका तर्फबाट बग्दादस्थित अमेरिकी सैनिक क्याम्पमा कार्यरत सुभत अर्यालले भने । दुबईबाट आएका सामान लिन दैैनिकजसो विमानस्थल पुग्ने क्रममा आफूले उनीहरूको अवस्था थाहा पाएको अर्यालले फोनमार्फत कान्तिपुरलाई बताए । इराकमा त्यही पुगेपछि मात्र भिसा लाग्ने भएकाले विमानस्थलमै सम्बन्धित रोजगारदाता लिन आउनुपर्ने नियम छ । तर पीडित नेपालीलाई दलालले त्यहाँ पुगेर सम्पर्क गर्न भनिएको व्यक्तिको नाम-ठेगाना गलत पाइएको छ । अर्यालका अनुसार विमानस्थल प्रहरीको थुनामा रहेका नवलपरासीका छत्रबहादुर क्षेत्री र रूपन्देहीका पारस थापाले आफ्नो नाम पानी पुर्‍याउन गएका त्यही कार्यरत नेेपाली गार्डहरूलाई दिएका थिए । उनीहरूका अनुसार नवलपरासीको रामनगरका रोमनाथ र मुम्बईका नेपाली दलालहरू दिनेश कटुवाल, प्रेम कार्की र अमर बुढाथोकी तथा भारतीय दलाल इब्राहिमले उनीहरूलाई बग्दाद पुर्‍याएका हुन् । त्यहाँ पुग्न उनीहरू प्रत्येकले दलाललाई डेढ लाख रुपैयाँभन्दा बढी दिएका थिए । बग्दाद पुग्न उनीहरूले मुम्बईमा दुई महिनाभन्दा बढी कुर्नु परेको थियो । तिनै दलालहरूले इराकमै पठाउन थप ३० नेपालीलाई दुई महिनादेखि मुम्बई राखेको पीडित युवालाई उद्धृत गर्दै अर्यालले बताए । उनीहरू सबैलाई एउटै कम्पनीमा रोजगारी दिने भनिएको थियो । 'उनीहरूले अहिले आफूलाई नेपाल फर्काउन सहयोग गर्नुपर्‍यो भनिरहेका छन्' अर्यालले भने । उनीहरूलाई त्यहीँका केही नेपाली मिलेर खाना उपलब्ध गराउँदै आएको अर्यालले जनाए । ती नेपालीलाई जोर्डनबाट चार्टर्ड विमानमा त्यहाँ पुर्‍याइएका हुन् । बग्दाद विमानस्थलबाट व्यावसायिक उडान नभएकाले उनीहरूलाई सजिलै फर्काउन सकिने अवस्था छैन । बग्दादबाट दुबई र जोर्डनसम्म चार्टर्ड विमान मात्र उड्छन् । 'अलपत्र नेपालीको उद्धार र मुम्बईबाट आउने तयारीमा रहेकालाई रोक्न सरकारले तत्काल पहल गर्नुपर्छ' अर्यालले भने । .
Read Full Discussion Thread for this article