Posted by: usofa December 22, 2005
Lau Aayo NepaLINUX
Login in to Rate this Post:     0       ?        
२०६२ पुस ७, बिहीबार दुई वर्षको मेहनतपछि लिनक्सको नेपाली संस्करण नेपालीनक्स सार्वजनिक त भयो, तर पाइरेटेड “झिल्के” सफ्टवेयर चलाउने बानी भएका हामीजस्ता मध्ये कतिले सोझो पाराको “लुक” देखिने यसको प्रयोग गर्लान् त ? आज आफ्नै कम्प्युटरमा नेपालीनक्स पहिलो पटक चलाएर हेर्दा यसप्रति रहेको उत्सुकता, जिज्ञासा एक घण्टामा नै धेरै हदसम्म हरायो र मेरो प्रारम्भिक निश्कर्ष रह्यो- नेपालीनक्स अहिलेको लागि मेरो लागि हैन। भविष्यमा सुधार भएपछि यसको प्रयोग गर्छु होला, तर अहिलेलाई बिल गेट्सले सरापे पनि पाइरेटेड माइक्रोसफ्ट विण्डोज नै म चलाउनेछु। आज लामो समयपछि राजनीतिका घिनलाग्दा कुरा छाडेर आफूलाई मनपर्ने विषयमा लेख्न पाएको छु। लिनक्सको नेपाली संस्करण, जसलाई नेपालीनक्स नाम दिइएको रहेछ, को लोकार्पण समारोह आज पाटनको अशोक हलमा हुने भन्दै इमेलमा निमन्त्रणापत्र प्राप्त भएको थियो। ब्लगरका हैसियतमा कुनै पनि कार्यक्रमको निमन्त्रणा पाएको पनि यही नै पहिलो हो। त्यसो त कम्प्युटरसम्बन्धी कुनै महत्त्वपूर्ण कार्यक्रम भयो भने बिना निमन्त्रणा पनि म पुग्ने गर्छु। अस्ति भर्खर अनलिमिटेडले माइक्रोसफ्ट विन्डोज एक्सपी र अफिसको नेपालीकरण सार्वजनिक गर्दा पनि म बीआईसीसीमा पुगेकै थिएँ। माइक्रोसफ्टको कार्यक्रम ज्यादै भडकिलो किसिमको थियो। मैले त्यो नेपालीकरणलाई अझै पनि आफ्नो कम्प्युटरमा चलाएर हेर्न पाएको छैन। अब आफ्नो पर्‍यो पाइरेटेड, त्यसलाई चाहिने सक्कली। २५० रुपैयामा बजारमा पाइने सीडी भने पाइरेटेड सफ्टवेयरमा पनि चल्छ रे भन्ने सुनेको थिएँ। तर मैले प्रयोग गरेको छैन। कुरा आयो लाइनक्स वा लिनक्सको। १ बजे थियो कार्यक्रम। १५ मिनेट ढिला पुग्दा पनि कार्यक्रम सुरु भइसकेको थियो। झण्डै तीन घण्टा चल्यो कार्यक्रम। पान लोकलाइजेसन प्रोजेक्टका क्षेत्रीय निर्देशक सार्माद हुसेनले लोकलाइजेसनको बारेमा अनि रिचर्ड इसिदाले वेबलाई अन्तर्राष्ट्रियकरण गर्ने बारेमा प्रवचन दिए। इसिदाको प्रस्तुति प्रभावकारी थियो। मदनमणी दीक्षितले सञ्जीव राजभण्डारीलाई हस्तान्तरण गरेर नेपालीनक्सको अ‍ौपचारिक लोकार्पण गरियो। त्यसपछि केदार शर्माले नेपालीनक्समा के-के छ भनी बताउन थाले। उनले पैसा तिरेर किन्नुपर्ने प्रोपाइटरी सफ्टवेयरलाई बोतलबन्द पेयपदार्थ कोक फ्यान्टा जस्तो र अ‍ोपन सोर्स कोड सफ्टवेयरलाई कागती पानीको संज्ञा दिए। उनले नेपालीनक्सको यो सीडी लाइभ सीडी अर्थात् जडान वा इनस्टल नगरीकनै सीधै सीडीबाट नै चलाउन सकिने भनेकोले मलाई अलि बढी यसमा रुचि जाग्यो। किनभने इन्स्टल गरेर फेरि हटाउने झण्झट मलाई बेहोर्न गार्‍हो लाग्छ। फेरि यसमा नेपाली चलाइरहेका बेला अँग्रेजीमा चलाउन पर्‍यो भने लगआउट गरे हुने रहेछ। उनले लिनक्स अपरेटिङ सिस्टममा भाइरस अहिलेसम्म नलागेको पनि जानकारी दिए। महेन्द्र मदन पुरस्कार पुस्तकालयको दुई वर्षको मेहनतको फल रहेछ यो नेपालीनक्स। नेपालीनक्सको सीडीको मूल्य १ सय ९० रुपैया रहेछ। आज भने १०० रुपैयाँमा दिइएको थियो। उत्सुकता भएकोले हतारमा किनिहालेँ तर पत्रकारहरुलाई निःशुल्क पनि दिइने रहेछ। एकछिन पत्रकार सम्मेलनमा पनि बसेँ। तर एउटा पनि गतिलो खालको प्रश्न र उत्तर सुन्न पाइएन। लिनक्स एउटा वैकल्पिक अपरेटिङ सिस्टम हो भनेर धेरै पहिले नै थाहा पाएको भए पनि अहिलेसम्म मैले कतै चलाएको देखेको थिइनँ। त्यसैले आफ्नै कम्प्युटरमा चलाएर हेर्ने उत्सुकता थियो। घर आएर त्यो सीडीको प्याक खोलेँ। त्यसमा म्यानुअल, पोस्टर, स्टिकर आदि पनि राखिएको रहेछ। सीडी राखेर बुट त गरेँ तर अहँ तीन चार पटक गर्दा पनि मनिटरले लिँदै लिएन। मनिटरले H.V FREQUENCY OVERRANGE भन्थ्यो अनि बन्द हुन्थ्यो। के रहेछ भनी एकछिन म्यानुअल पढेर हेरेपछि बल्ल थाहा भयो- बुट हुनुअघि नै अप्सनमा गएर रेजोल्युसनलाई 800*600 मा राख्नुपर्ने रहेछ। त्यो गरेपछि बल्ल मेरो कम्प्युटरमा पहिलो पटक लिनक्सको दर्शन गर्न पाएँ। पहिलो दर्शन नै त्यति प्रभावकारी भएन। डेस्कटप, पोस्टर, सीडी कभर जति झिल्के पाराको थियो, मेनु बार, टाइटल बार सार्‍है कमजोर डिजाइनको अप्रभावकारी थियो। हरेक प्रोग्राम एकदमै सादा- हामी झिल्के पाराको चलाउनेहरुलाई बानी नै नहुने। फेरि टाइटल बारमा अक्षर पनि पूरा नआउने रहेछ। किन हो मपुपुले यसमा ध्यान नदिएको ? हतार भएर पो हो कि ? उदाहरणका लागि तलको फोटोको टाइटल बारमा मिति र समय घुसाउनुहोस् हुनुपर्ने ठाउँमा मिति र समय घसाउनहोस भएको छ। तलतिरका सबै चिह्नहरु जस्तै ु ू हराएका छन्। फेरि युनिकोडमा पनि ट्राडिसनल कीबोर्डबाट टाइप गर्दा हाल चलनमा रहेको जसरी टाइप गर्दा ट छ जस्ता अक्षर नआउने रहेछन्। अनि फन्टहरु पनि त्यति राम्रो नदेखिने रहेछ। अडियो, भिडियो फाइल चलाएर हेरेँ। टोटेम प्रयोग गर्दा एमपीथ्री खुल्यो तर डब्लुएमभी भिडियो फाइल खुलेन। यसका लागि अर्कै कुरा थप्नु पर्ने रहेछ। अरु मैले त्यति चलाएर हेर्न पाएको छैन। नोटप्याड जस्तो पाठ सम्पादक एक पटक प्रयोग गरेर हेरेँ तर हिज्जे परीक्षण र पर्याय शब्द चाहिँ हेर्न पाइनँ। यसमा डकमा सेभ गरिएका फाइल विन्डोजमा पनि मजाले खुल्ने रहेछ। मलाई खुल्दैन कि भन्ने शंका थियो। फोटो एडिटर गिम्प खै के पो होमा गएर हेर्दा त झन् केही बुझिनँ। के-के हो के-के। सबैभन्दा दिक्कलाग्ने कुरा भने मेनुबार र टाइटलबारको नरमाइलो डिजाइन थियो। कहाँ मिडिया प्लेयरको झिल्के डिजाइन हेरिरहेको बानी, कहाँ मेकअप नगरिएकी केटीको अनुहार जस्तो टोटेम प्लेयर। बाकि उमेश को बल्‍ग (merosansar) मा हेरनु होला. .....
Read Full Discussion Thread for this article