Posted by: Gautam B. December 19, 2005
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
हावामा डढेलो फैलेको बेला फूललाई जोगाउन साह्रै कठिन हुँदो रहेछ। आऊँदै गरेको नयाँ फूलको लागि मैले बुनेको, खुशीले फुकेको मेरो मुटुमा लुटपुटिएको, यो भावनाको रुमाल मेरो मनमा रहेको धेरै भइसकेको थियो। मेरो देशको समयमा लागेको डढेलो मेरो मनमा पनि सल्केर, मेरो श्वाशबाट बाहिर जान्छ हरेक पल। डढेलोबाट जोगाएँ मैले मेरो यो फूललाई पनि र यो सकूशल आफ्नै रुपमा अवतरण भएको छ मेरो सामु। "तिम्रो ढुकढुकी" प्रिय, तिम्रो ढुकढुकी सुन्दैछु म- घना पहाडी वनभित्र कतै लुकेर बग्ने खोलाको गीत हो यो, सृष्टिकर्ताले छोडेर गएको आदिम तर अनवरत सुन्दर संगीत हो यो; भारहीन भएको छु म अब- जिन्दगीको लडाईँमा केहि जितें भने खुशीको भारी ल्याएर बिसाउन तिम्रा हातहरु पाएको छु, जिन्दगीको लडाईँमा कतै हारें भने आँशुको भारी पोखेर बिसाउन तिम्रा पाउहरु पाएको छु; आजै बिलाएँ भने पनि म यो दुनियाँको आँखाबाट- तिम्रो अस्तित्वको कुनै छेउमा मेरो नाम पनि हुनेछ, तिम्रो मुटुको धडकनको कुनै भागमा मेरो धडकनको ध्वनि पनि हुनेछ; म बिगतको काँधमा चढेर आगतलाई नियालिरहेछु, प्रिय, तिम्रो धडकन सुन्दैछु म- म तिमीलाई पर्खिरहेछु।
Read Full Discussion Thread for this article