Posted by: gwajyo December 5, 2005
Not Poor but Fool
Login in to Rate this Post:     0       ?        
देशका कुनाकाप्चामा अनेक आर्थिक, सामाजिक र राजनीतिक विकृति छन् । यद्यपि ती सम्पूर्ण समस्याको समाधान पैसाको बलबाट मात्र हुँदैन । न सरकारी प्रयासबाट हुन्छ न त आमूल राजनीतिक परिवर्तन बाट नै सम्भव हुन्छ । तीे समस्या हामी आफैंले नै जन्माएका हौं । समस्या हाम्रै हो र समाधानको उपाय पनि हामीभित्र नै छ । समस्या समाधानको साँचो अधिकार होइन, चिन्तन हो, कर्तव्य हो । अधिकार खोज्नु नराम्रो होइन । तर कर्तव्य विनाको अधिकार परजीवीपन हो । अधिकार हाम्रो मर्म हो भने कर्तव्य हाम्रो कर्म हो । चन्दा दिएर, श्रमदान गरेरमात्र समाजसेवा गर्नुपर्छ भन्ने छैन । आफूले गर्नुपर्ने सानोे काममात्र गरिदिए पनि धेरै सुधार हुन्छ । कथंकदाचित् सुधार्न सकेन भने कमसेकम बिगार्ने काम त नगरौं । हाम्रो समाजमा एउटा हलुवाइले शुद्ध रोटीमात्र बेचिदियो भने, एउटा ट्याक्सी ड्राइभरले ग्राहकलाई मात्र नठगिदिए पनि वा एउटा तरकारी पसलेले फुटपाथ अतिक्रमण नगरी आफ्नै पसलभित्र मात्र तरकारी बेच्यो भने वा एउटा छिमेकीले अर्काे छिमेकीको मर्कामात्र बुझिदियो भने वा एउटी गृहिणीले घरको फोहोर फ्याँक्ने ठाउँमा मात्र फाल्दिइन् भने वा एउटा कुचीकारले आफ्नो समयमा सडकमात्रै राम्ररी सफा गरे वा एउटा पाइलटले समयमा प्लेन उडाइदिए धेरै समस्या सुल्झिन्छ । त्यस्तै एउटा विद्यार्थीले आफ्नो पाठमात्र पढिदिए पनि वा एउटा शिक्षकले शिक्षामात्र दिए वा एउटा चुनावमा उत्रेका उम्मेदवारले चुनावपश्चात् भित्तामा आफैंले टाँसेका पोस्टरमात्र निकालिदिए वा एउटा सरकारी कर्मचारीले आफ्नो फाइलमात्र टुङ्गयाइदिए वा एउटा पत्रकारले आफ्नो अन्तरआत्माले देखेको कुरालाई मात्र लेखिदियो भने वा एउटा कमिसन एजेन्टले सरकारी कर्मचारीलाई लोभमा मात्र नफँसाए वा एउटा मन्त्रीले आफ्नो कार्यालयमा राजनीतिक कार्यकर्तालाई नभेटी नियमपूर्वक गर्नुपर्ने निर्णयमात्र गरिदिए वा जसको जिम्मेवारी जे छ, त्यतिमात्र इमानदारीपूर्वक गरिदियो भने पनि नेपालका ९० प्रतिशत समस्या समाधान हुन्छन् । पैसा नभएर मानिस गरिब हुँदैन । विवेक नभएपछि मानिस गरिबमात्र होइन, मूर्ख नै हुन्छ । त्यसैले हामी गरिब होइनौं, हामी मूर्खमात्र हौं । Source: http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=59040
Read Full Discussion Thread for this article