Posted by: Gautam B. November 29, 2005
Login in to Rate this Post:
0
?
यो तलको कविताचैँ दादाको कुनै धागोमा टाँसिएको थियो। माथिका कविताहरुभन्दा नया हो यो।
"परदेशी"
एक जुग पछि फर्केर हेरेँ
आफू आएको बाटो
लामो भइसकेछ
बिरानो भइसकेछ,
बास बसेका ती पाटीहरु
यात्राका अनगिन्ती मोडहरुमा
ओझेल परिसकेछन्;,
खण्डहरजस्तो घरको मझेरीमा
दु:खी आमालाई एक्लै छोडेर,
भिरालो पाखो बारीमा
बूढा बालाई एक्लै छोडेर,
एक जुग अघि हिँडेको म-
यी विराना सडकहरु नापिरहेछु निरन्तर
पोखिरहेछु विरानो माटोमा पसिना तरतर,
भोलि कहाँ खोज्ने मैले मेरो पसिनाको मोल?
किनकि मेपलहरुले मलाई अपनाऊँदैनन्
किनकि साकुराले मलाई आफ्नो ठान्दैन
न त मध्यरातको सूर्य मेरो हुनसक्छ
न म छ महिने हिऊँमा रमाउन सक्छु
न म खाडीमा अड्डा जमाउन सक्छु,
र नेपालसंग मागौँ भने
मेरो जवानीले मैले नेपाल सिंच्न पाईँन!
एक जुग पछि-
हिजो सपनीमा घर गएँ सुटुक्क
आगो लिन गएझैँ गएँ सुटुक्क,
तीन वर्षे भतिजीले सोधी
?तिम्लो घल काँ??
एक जुगअघि घर छोडेर हिँडेको म
घरमा पराइ भइसकेछु,
विदेशमा सधैँ विदेशी म
देशमा पनि विदेशी भइसकेछु,
सबै सबै ठाऊँमा
सधैँ सधैँको लागि
परदेशी भइसकेछु,
एक जुग अघि घर छोडेर हिँडेको म
सबै सबै ठाऊँमा
सधैँ सधैँको लागि
परदेशी भइसकेछु।
*?तिम्लो घल काँ?? - बच्चाहरुको तोते बोली ?तिम्रो घर कहाँ??