Posted by: shirish November 20, 2005
GAgan Thapas article about his visit to US
Login in to Rate this Post:     0       ?        
अमेरिकामा मैले जे पाएँ अमेरिकास्थित नेपाली डायास्पोरामा लोकतान्त्रिक भावना राख्नेहरुकै वर्चस्व छ । गगन थापा अमेरिकी सरकारको 'आईभीपी' -इन्टरनेसनल भिजिटर प्रोग्राम) कार्यक्रमअन्तर्गत हालै मलाई एक महिना अमेरिका घुम्ने अवसर मिल्यो । त्यहाँ रहेको नेपाली समुदायसँग अन्तरक्रिया गर्ने सोचाइ मैले त्यसतर्फ जानुपूर्व नै बनाएको थिएँ । त्यहाँ धेरै जनासँग कुराकानी गर्न पनि पाएँ । 'माघ १९' लगत्तै नेपालमा जस्तो अन्योल थियो, त्यसबेला अमेरिकाका नेपाली पनि त्यस्तै मनोदशामा रहेछन् । हिजोको पञ्चायती सत्ता, दरबारिया परिवारनिकट र उच्चस्तरीय सैनिक अधिकारीका छोराछोरी 'माघ १९' को कदमले निकै हौसिएका रहेछन् । तर, विस्तारै जब राजाको नियत छर्लङ्ग हँुदै आयो, त्यहाँका प्रजातन्त्रवादीहरूको गतिशीलता पनि बढ्न थालेछ । अहिले आफूलाई राजावादी भन्नेहरूका गतिविधि ठप्पप्रायः छन् त्यहाँ । अमेरिकामा तीन किसिमका नेपालीहरू भेटिए । डीभी भीसा तथा अरू विभिन्न उपायले गई धनार्जनमा लागेको समूह, विद्यार्थीहरू र बौद्धिक जमात । मैले त्यहाँ पढ्दै गरेका विद्यार्थीहरू बढी क्रियाशील होलान् भन्ठानेको थिएँ । तर, विद्यार्थीको तुलनामा त्यहाँ ०४६ सालको जनआन्दोलनमा समाहित भएको पुस्ता, जो त्यहाँ आफ्नो योग्यताअनुसार भिन्नभिन्न काममा छन्, तिनीहरू बढी क्रियाशील रहेको पाएँ । यसरी आफूलाई प्रजातन्त्रवादी भन्ने यस समूहमा दुईखाले सोच भएकाहरू छन् । एकथरी, संवैधानिक शक्तिबीच एकता भई ०४६ सालको उपलब्धिको रक्षा गर्नुपर्छ भन्छन् । अर्कोथरी, नेपाल पूर्ण लोकतन्त्रतर्फ उन्मुख हुनुपर्छ भन्ने मान्यता राख्छन् । यीमध्ये पनि लोकतान्त्रिक गणतन्त्रमा जानुपर्छ भन्ने 'सेन्टिमेन्ट' हावी भएको रहेछ । ०४६ सालको आन्दोलनमा सहभागी भएको पुस्ता होस् या त्यसपछिको प्रजातान्त्रिक व्यवस्था उपभोग गरेको जमात, दुवैमा यसखाले भावना धेरै छ । नेपाली समुदायसँग मेरो अन्तरक्रियाको प्रारम्भ वासिङ्टन डीसीबाट भयो । त्यहाँ बूढानीलकण्ठका पूर्वविद्यार्थीहरूले एउटा अन्तरक्रिया आयोजना गरे । आफ्ना भनाइ राख्ने क्रमसँगै लामो छलफलसमेत भयो, 'माघ १९' पछिको राजनीतिक अवस्था, माओवादीका सवल र दुर्वल पक्ष, राजाका व्यवहार, हाम्रो पुस्ता राजतन्त्ररहित शासन व्यवस्थाको मतमा किन छ र त्यसको औचित्य के ? भन्ने मेरो प्रस्तुतिको सार थियो । छलफलमा प्रजातान्त्रिक आन्दोलनले पूर्णता पाओस् भन्ने भित्री आकाङ्क्ष्ाा पनि उनीहरूले प्रकट गरे । तर, राजनीतिक दलसँग चाहिँ एकप्रकारको असन्तुष्टि अझै रहेछ । ०४६ सालपछि पार्टीहरूको प्रस्तुति जस्तो रह्यो, त्यसले उनीहरूमा ठूलो वितृष्णा सिर्जना गरेको छ । त्यसो त उनीहरू पूर्ण लोकतान्त्रिक आन्दोलनको नेतृत्व यिनै पार्टीहरूले गरून् भन्ने चाहन्छन् तर एकखाले अझै आशङ्का गर्दा रहेछन् । पार्टीहरूले आन्दोलनलाई सम्झौतामा टुङ्ग्याउने हुन् कि भनेर सशङ्कित देखिन्छन् उनीहरू ।
Read Full Discussion Thread for this article